कीवर्डहरू -

हामीले छिट्टै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउँदै छौं – डिल्ली अधिकारी

हामीले छिट्टै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउँदै छौं – डिल्ली अधिकारी

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइल डेटा महंगो भयो भनेर गुुनासो आइरहेको बेला वाईफाई खोज्दै हिड्ने अवस्थालाई अन्त्य गर्ने बताएका छन् । उनले नेपाल टेलिकमले सस्तो प्याकेजमा डेटा ल्याउने योजना बनाएको भन्दै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउने बताएका हुन् ।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले अहिलेको अवस्थामा विभिन्न कारणले मोबाइल डेटा महंगो भएको बताए । उनले सरकारलाई तिर्नुपर्ने राजश्व, शुल्कलगायतका विषयले इन्टरनेटको तुलनामा मोबाइल डेटा महंगो भएको बताए ।

मोबाइल सेवा प्रदायकले सरकारलाई  पाँच वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिुर्नपर्ने र इमेल÷इन्टरनेट सेवा प्रदायकले त्यही अवधिमा २ लाख ७० हजार रुपैयाँमात्र तिर्नुपर्छ । यही कारणले पनि मोबाइल डेटाको मूल्य घटाउन नसकिएको उनको भनाइ छ।

अहिलेको अवस्थामा मोबाइल डेटाको मूल्य सिधै घटाउन नसकिने भए पनि विशेष प्याकेज ल्याएर वाईफाई खोज्दै हिड्न नपर्नेगरी काम गरिरहेको उनको भनाइ थियो । ‘हामीले छिट्टै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउँदै छौं,’ उनले कार्यक्रममा भने ।

फाइभजी परीक्षणको लागि तयारी भइरहेको र नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुुमति पाएपछि परीक्षण सुरु गर्ने बताए । प्राधिकरणलाई परीक्षणको खाका दिएको र सरकारबाट फाइभजी फ्रिक्वेन्सी निर्धारण गरेर आवश्यक उपकरण ल्याएपछि यसको परीक्षण सुरु हुने जानकारी गराए ।

नेपाल टेलिकमले चालु आर्थिक वर्षमा फोरजी परियोजना र मध्यपहाडी लोकमार्ग योजना अधिकांश सम्पन्न गर्ने योजना बनाएको छ । साथै, फाइभजी सेवाको परीक्षण, स्थानीय टेलिफोन तथा एडीएसएललाई फाइबरमा रुपान्तरण गर्ने, मोबाइल फाइनान्स सेवा संचालनमा ल्याउने जस्ता योजना चालु आवमा सम्पन्न गर्ने योजना टेलिकमले राखेको छ।

टेलिकमले सबै स्थानीय निकायहरुमा डिजिटल एजुकेसन, टेलीमेडिसिन, इ–गभर्नेन्सलाई सहयोग हुनेगरी आवश्यक पूर्वाधार निर्माण गर्ने, दूरसञ्चार पूर्वाधार सहप्रयोग नीति बनाई कार्यान्वयन गर्ने, मोबाइल फाइनान्स सेवा देशव्यापी रुपमा संचालन गर्ने, पेपरलेस अटोमेसन लागु गर्ने, विद्युतीय टपअपलाई प्राथमिकता दिनेलगायतका योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

विगत झन्डै दुई वर्षदेखि कोरोना संक्रमण रहेकोले टेलिकम क्षेत्रलाई पनि ठूलो प्रभाव पारेको भन्दै यसले नेपाल टेलिकमको समग्र सेवा प्रवाहमा नकारात्मक असर गरेको प्रवक्ता राजेश जोशीले बताए ।

कोरोना संक्रमणका कारण आयोजनाहरु कार्यान्वयनमा ढिलाई, कर्मचारी व्यवस्थापन, राजश्व वृद्धि र खर्च कटौतिमा कठिनाई भएका, रिचार्जको बिक्री व्यवस्थापनमा चुनौति थपिएको जानकारी गराइयो ।


कार्यक्रममा टेलिकमका प्रवक्ता राजेश जोशीले नेपाल टेलिकमको वर्तमान अवस्थाका बारेमा प्रस्तुति दिएका थिए । उनले नेपाल टेलिकमले हाँसिल गरेको प्रगति, चालु योजना र भावी योजनका बारेमा जानकारी गराएका थिए ।