काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो कृत्रिम बुद्धिमत्ता मोडेल क्लाउडलगायतबाट सिर्जना हुने टेक्स्ट र फाइलमा वाटरमार्क राख्ने प्रविधि प्रयोग गर्ने जनाएको छ ।
कम्पनीका अनुसार युरोपेली संघ (ईयू) को कृत्रिम बुद्धिमत्ता ऐन अन्तर्गतको पारदर्शिता संहिताअनुसार एआईबाट सिर्जना वा सम्पादन गरिएको सामाग्रीलाई अन्य प्रणालीले पहिचान गर्न सक्ने गरी चिह्नित गर्नुपर्ने व्यवस्था छ । उक्त नियम अगस्ट २ देखि लागू भएको हो ।
एन्थ्रोपिकले अगस्ट २ पछि सार्वजनिक गरिएका आफ्ना सबै नयाँ मोडेलमा कम्प्युटरबाट सिर्जना गरिएका टेक्स्ट र फाइलमा वाटरमार्क राख्ने प्रविधि स्वत: समावेश हुने जनाएको छ ।
फाइलका लागि कम्पनीले C2PA (Coalition for Content Provenance and Authenticity) को खुला मापदण्ड प्रयोग गर्नेछ । यसले डिजिटल सामाग्री कहाँ र कसरी सिर्जना वा सम्पादन गरिएको हो भन्नेबारे जानकारी पहिचान गर्न सहयोग गर्नेछ ।
कम्पनीले यो सुविधा आफ्ना पुराना मोडेलमा समेत विस्तार गर्ने योजना बनाएको छ । एन्थ्रोपिकका अनुसार टेक्स्ट कपी-पेस्ट गर्दा पनि वाटरमार्क कायम रहनेछ र सामान्य सम्पादन गरेपछि समेत केही अवस्थामा यो पहिचानयोग्य रहन सक्नेछ ।
वाटरमार्किङ प्रविधि मोडेलमै समावेश हुने भएकाले क्लाउडका विभिन्न उत्पादन तथा सेवाबाट सिर्जना हुने टेक्स्टमा समेत यो लागू हुने कम्पनीले जनाएको छ ।
एन्थ्रोपिकका अनुसार यो प्रविधि Claude Platform API, Claude, Claude Code, Claude Cowork र Claude Tag लगायतका सेवामा लागू हुनेछ । यद्यपि, वाटरमार्क पूर्ण रूपमा हटाउन कति स्तरको सम्पादन आवश्यक पर्छ भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन ।
एआईबाट सिर्जना भएको सामाग्री र मानवबाट सिर्जना भएको सामाग्री छुट्याउन तथा डिजिटल सामाग्रीको स्रोत पहिचान गर्न पछिल्लो समय प्रविधि कम्पनीहरूले विभिन्न प्रकारका वाटरमार्किङ र सामाग्री प्रमाणीकरण प्रविधि विकास गर्दै आएका छन् ।
एन्थ्रोपिकबाहेक अन्य प्रविधि कम्पनीहरूले पनि ईयूको एआई सामाग्री पारदर्शिता संहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । एआईबाट सिर्जना हुने सामाग्रीको प्रयोग बढ्दै गएसँगै त्यसको पहिचान, पारदर्शिता र स्रोत प्रमाणीकरणसम्बन्धी प्रविधिको महत्त्व पनि बढ्दै गएको छ ।
आईसीटी समाचार