कीवर्डहरू -

१९ वर्षिय भण्डारीले पत्ता लगाए फेसबुकको बग, पाए ५९ हजार पुरस्कार

१९ वर्षिय भण्डारीले पत्ता लगाए फेसबुकको बग, पाए ५९ हजार पुरस्कार

१९ वर्षिय सरोज भण्डारीले फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएका छन् । मुग घरभएका हाल ललितपुर बस्दै आएका भण्डारीले फेसबुकको बग पत्ता लगाएर ५०० अमेरिकी डलर अर्थात ५९ हजार नेपाली रूपैयाँ पुरस्कार पाएका हुन् ।

लक नभएको फेसबुक आईडिको फोन नम्बर राख्ने युआरएललाई कपी गरी लक भएको फेसबुक आईडीको युआरएलसँग रिप्लेस गरेर नयाँ फोन नम्बर राख्ने सकिने कमजोरी पत्ता लगाएको उनले बताए ।

‘यो बगको फाइदा उठाएर कुनै पनि व्यक्तिले कसैको लक भएको फेसबुक अकाउन्ट नियन्त्रणमा लिन सक्ने भयो,’ भण्डारीले आइसिटी समाचारसँग भने, ‘यो प्राइभेसीसँग सम्बन्धित बग भयो । त्यसपछि मैले फेसबुकलाई रिपोर्ट गरे ।’

उनले यो बगको रिपोर्ट एक महिना अगाडि गरेका थिए । त्यसपछि फेसबुकले उक्त बगलाई रिभ्यु गर्दै रिवार्ड दिएको हो । अहिले फेसबुकले उक्त बगलाई समाधान गरिसकेको छ ।

\"\"

उनले रिपोर्ट गरेको यो पहिलो बग हो । पहिलो बगमा नै उनले सफलता हासिल गरेका हुन् । त्यसपछि पनि उनले ९ वटा बग रिपोर्ट गरे तर ती बग इनभ्यालिड भए । यी बगलाई सफ्टवेयर ग्लिच भन्दै फेसबुकले मार्क गरेको उनले जानकारी दिए ।

बग भ्यालिड भएसँगै उनी फेसबुकको ह्वाइच ह्याट थ्यांसको सूचीमा १६२ नम्बरमा रहेका छन् । भन्डारीले बग बाउन्टीको बारेमा लकडाउनमा बुझेका थिए ।

उनले भने ‘मैले बग बाउन्टीको बारेमा अवधारणा बुझेको २ दिनमै बगको रिपोर्ट गरेको थिए । त्यति खेर खासै ज्ञान थिएन् । मैले भोगिरहेको समस्यालाई चाहिँ रिपोर्ट गरे र रिपोर्ट गर्दा बगले मान्यता पायो ।’

उनले इन्टरनेटबाटै बगको बारेमा ज्ञान लिएका हुन् । बग भ्यालिड भएपछि उनले बग हन्टर आकाश जंग बस्नेतसँग भेट्ने मौका पाएका थिए । बस्नेतबाट बगको बारेमा ज्ञान लिइरहेको र यसको बारे अध्ययन पनि गरिरहेको उनी बताउँछन् ।

उनले होटेल म्यानेजमेन्ट प्लस टुबाट सकाएका छन् । उनलाई लुम्बिनी कलेजबाट बीसीएमा फुल स्कलरसीपको अफर आएको छ तर उनको योजना बीएससी सीएसआईटी अध्ययन गर्ने रहेको छ ।