एआई एउटा यस्तो प्रविधि हो, जसले आफै निणर्य लिन सक्छ । पछिल्लो समय प्रविधि उद्योगमा एआई सबैभन्दा ग्रो भइरहेको प्रविधि हो । एआईले डाटा सुरक्षा, छिटो डिसिजन गर्न, शुद्घता सुधारमा विशेष भुमिका खेल्छ ।
यसै विषयमा अमेरिकाको सिलिकन भ्यालीमा काम गर्दै आएका एक नेपाली हुन्, विवेक पौडेल ।
विवेक पौडेल स्ट्यानफोर्ड विश्वसविद्यालयमा पोस्ट डक्टरल स्कलर हुन् ।उनै पौडेलसँग हाम्रो पात्रोको हाम्रो पोडकास्टमा सिवानी न्यौपानेले एआई र प्रविधि क्षेत्रमा केन्द्रित रहेर कुराकानी गरेकी छन् ।
एआई र मेशिन लर्निङ तथा बायो मेडिकल डेटा साइन्स पर्सनलाइजेसन एल्गोरिदम एण्ड बिग डेटा साइन्समा पौडेलको विशेषज्ञता छ ।
आज हामीले उनै पौडेलसँग हाम्रो पोडकास्टमा गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौँ ।
पोस्ट डक्टरल रिसर्च बारे केहि बताइदिनुहोस् न ?
यो पीएचडी सकिएपछि वैज्ञानिकको जागिर सरहनै हो । तर यो पढाईको डिग्री भने होइन् । शैक्षिक क्षेत्र तथा नेतृत्व विकासका लागि पोस्ट डक्टरलले ठूला वैज्ञानिकहरुसँग सरसल्लाह लिएर आफ्नो अनुसन्धानलाई थप परिमार्जित गर्नलाई सहयोग पाइन्छ ।
पोस्ट डक्टरल आफूलाई जति समय लाग्यो त्यति समयसम्म गर्न सकिन्छ । म अहिले सिलिकन भ्यालीमा रहेर विशेषगरी एआईलाई ध्यानमा राखेर काम गरिरहेको छु ।
तपाई कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ ?
म विशेषगरी एआईको तीन ओटा क्षेत्रमा काम गर्ने गर्दछु । एउटा हामीले नेटफ्लिक्स, युट्युब चलाउँदा यो शो मनपर्ने सक्छ भनेर जुन सुझाव आउने गर्दछ, त्यसको एल्गोरिदम विकास गर्ने तिर म कार्यरत रहेको छु । त्यस्तै बायो मेडिकल डेटा साइन्स तर्फ पनि मेरो काम हुने गर्दछ ।
हाम्रो शरीरमा लाखौँ कोशाणुहरु हुने गर्दछन्, जसमा हाम्रो शरीरमा लाग्न सक्ने रोग वा आउन सक्ने परिवर्तन चार पाँच वर्ष पहिलेनै आईसकेको हुन्छ । त्यस्तो कोशाणुको डेटा विश्लेषण गरेर शरीरमा भविष्यमा के हुन सक्छ त भनेर पत्ता लगाउने तर्फ पनि म र मेरो टिम लागेको छ ।
यसले गर्दा प्रारम्भिक चरणबाटै औषधी उपचार गर्न सकिन्छ । यो लगायत मैले अटोनोमस गाडीको विकास गर्ने क्षेत्र, नयाँ औषधिहरु बनाउने र मौसम सम्बन्धी समस्याहरुमा पनि मेरा झुकावट रहेको छ ।
स्ट्यानफोर्ड पुग्नु अघि तपाई कहाँ कहाँ संलग्न हुनुहुन्थ्यो ?
मैले आफ्नो पिएचडी स्वीजरल्याण्डबाट सम्पन्न गरेको हुँ । त्यस्तै आफ्नो स्नातकोत्तर तहको अध्ययन मैले जर्मनीको म्याक्स प्लयांक इन्स्टिच्युटबाट गरेको थिएँ ।
स्नातक तहको अध्ययन मैले भारतबाट गरेको हुँ र सम्पूर्ण स्कुल लेभलको पढाई मैले चितवनबाट सम्पन्न गरेको थिए । अहिले पोस्ट डक्टरल क्यालिफोर्निया, अमेरिकाबाट गरिरहेको छु ।
कम्प्युटरमा तपाईको रुची कसरी बढ्दै गयो ?
म स्कुल पढ्दै गर्दा याहु, गूगल एप्पल जस्ता कम्पनीहरुका समाचार भर्खर भर्खरै समाचारहरुमा आउन थालेका थिए । अनि सुन्दा पनि रमाइलो र अचम्मको अनुभूति हुने गर्दथ्यो ।
मेरो स्कुल औसतस्तरको निजी विद्यालय थियो । त्यहाँ मैले माध्यामिक तहमा कम्प्यूटर देख्न र चलाउन पाएको थिए । कम्प्युटर चलाउन थालेपछि यसले केके गर्न सक्छ होला भनेरएकदम धेरै कौतुहलताहुन्थ्यो ।
त्यसपछि बुझ्दै जाँदा कम्प्युटरमा त बाहिर देखिने हार्डवेयर मात्रै नभएर भित्र प्रोग्रामिङका लागि सफ्टवेयर पनि हुने गर्दछ भन्ने कुरा थाहाहुँदै गयो । यो कुराको बारेमा जानकारी पाएपछि आफूलाई पनि सफ्टवेयरमा नै केहि गरौँ भन्ने रूची आयो ।
नेपालमा प्रतिफल राम्रो ल्याउने, राम्रो धनआर्जज गर्ने र प्रतिष्ठा कमाउन सक्ने व्यक्तिलाईनै सफल व्यक्तित्वको रुपमा लिइन्छ, जसका कारण विद्यार्थीको क्षमतालाई मलजल गर्ने वातावरण रहँदैन् ।
त्यस कारण मैले पनि नेपालमा हुँदा लुकेरइन्टरनेट चलाउनुपर्ने अवस्था थियो । राति सबैजना सुतेपछि मात्रै मैले प्रोग्रामिङ गर्ने गर्दथे । घरमा त्रासको वातावरण भएपनि सहिबाटो समाएको भनेर मलाई मेरो स्कुलको लाइब्ररी म्याम र कम्पयुटर सरले प्रोत्साहन दिनुहुन्थ्यो ।
ब्रेकको समयमा मलाई उहाँले कम्प्यूटर चलाउन पनि दिनु हुन्थ्यो । त्यसले चाहिँ मेरो कम्प्यटर तर्फको रुचीलाई सुदृढ पार्न धेरै सहयोग गरेको जस्तो लाग्छ ।
तपाई प्रविधिको क्षेत्रमा धेरै अनुभव राख्नुभएको विज्ञ हुनुहुन्छ । हामीले धेरै जसो एउटा कुरा चर्चा भईरहेको पाउँछौँ । प्रविधिमा धेरै उन्नति हुँदै गईरहेको छ तर त्यसले अन्तत मान्छेकै विनास गर्नेछ । तपाईलाई के लाग्छ आउँदो भविष्यमा मेशिनले मानवको अस्तित्वनै बाँकी नराखिकनै संसारलाई ओगट्ने छ त?
यो एकदमै गाह्रो प्रश्न हो किनभने मैले भविष्यको कुरा गर्नुपर्ने हुन्छ । प्रविधि यति द्रुत रफतारमा विकास भईरहेको छ की दुई वर्ष पछि के हुन्छ भनेर भन्न पनि नसकिने अवस्था छ । यो कुरा वैज्ञानिकहरुको हातमा मात्रै नभए र हाम्रो समाजको विभिन्न सरोकारवाला तहहरुको पनि यस विषयमा भूमिका हुनसक्छ ।
सरोकारवालाहरुले के निणर्य लिन्छन् भन्ने विषयले पनि विज्ञान कता मोडिन्छ भन्ने कुरामा फरक पर्ने गर्दछ । अहिले हामी यस्तो केन्द्रमा उभिएका छौँ, जहाँ मेशिनहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर मान्छे जस्तो बनाइँदै छ ।
तर लगत्तै यो विगतको दुई चार वर्षमा देखिएको ट्रेन्डले के देखाएको छ भने विभिन्न बायोलोजीको विकास, न्यानो टेक्नोलोजी, रोबोटिक्स र अन्य विभिन्न क्षेत्रमा विकासले मान्छे पनि मेशिन जस्तो बनिरहेको देखिएको छ । मेशिन र मानव बिचको सिमाना चाहिँ धमिलो हुँदै गईरहेको मेरो बुझाइ छ ।
हामीले लगाउने घडी देखि बोक्ने मोबाइल सम्मले के देखाएको छ भने अहिलेसम्म मानिसहरुको दुनियाँमा मेशिनले प्रवेश गरिरहेको थियो तर अब भने शरीरमै पनि प्रवेश गर्ने थालेका छन्, जसको उदाहरण न्यानो बोट हो । त्यस्तै हामीले औषधी खाने गर्दछौँ ।
विस्तारै मान्छे र मेशिनको अन्तरनै छुट्याउन गाह्रो हुने समय नजिकिदै छ । यसको कसरी प्रयोग गरिन्छ भन्ने विषयले राम्रो वा नराम्रो परिणाम ल्याउने हो । त्यस कारण भविष्यमा एकदम उत्साही र खुशीलाग्दो दिनहरु पनि आउन सक्छन र भयानक डरलाग्दो दिनहरु पनि आउन सक्नेछन् ।
तपाईको जस्तै क्षेत्रमा काम गर्न चाहने मानिसलाई केही भन्न चाहनुहुन्छ?
यही क्षेत्रहरुमा काम गर्न चाहने मान्छेहरुलाई म के भन्न चाहन्छु भने तपाई भित्र केही गर्छ भन्ने दृढ विश्वास छ भने कसले के सोच्छ भन्ने कुराको पर्वाह नगरेर काम गर्नुहोस् ।
त्यो साहस र क्षमताको विकास तपाई आफूलेनै गर्नुपर्छ । तपाईले गर्न चाहेको काममा सङ्घर्ष छ भने त्यसले तपाई अल्झाउने त गर्छ । तर तपाईलाई परिस्थितिहरुसँग लड्नलाई शक्तिशाली पनि बनाउनेछ ।
गाह्रो समय पार गर्न सकियो भने त्यसमा आफू अझै बलियो भइन्छ । यसले आफैलाई सहयोग पनि गर्छ ।
(स्रोत - हाम्रो पात्रो/पोड्कास्ट)