कीवर्डहरू -

१९ वर्षे युवाले १८ वर्षअघि एउटा कोठाबाट शुरू गरेको ‘फेसबुक’, जसले बदलिदियो कुराकानीको माध्यम

१९ वर्षे युवाले १८ वर्षअघि एउटा कोठाबाट शुरू गरेको ‘फेसबुक’, जसले बदलिदियो कुराकानीको माध्यम

विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक आजभन्दा १८ वर्षभन्दा अगाडि स्थापना भएको थियो । सन् २००४ फेब्रुअरी ४ मा स्थापना भएको फेसबुक विश्वको धेरै प्रयोग गरिने सामाजिक सञ्जाल हो ।

एउटा कोठाबाट शुरू भएको फेसबुकका अहिले दैनिक करोडौं प्रयोगकर्ता छन् । त्यही एउटा कोठाबाट शुरू भएको फेसबुकले आज मार्क जुकरबर्ग खर्बपतिको शीर्ष स्थानमा छन् । हाल जुकरबर्गको नेटवर्थ ११४.४ बिलियन अमेरिकी डलर रहेको छ ।

फेसबुक शुरू गर्ने जुकरबर्गलाई कोडिङ मन पर्थ्यो तर पनि उनले हार्भडमा साइकोलोजी अध्ययन गरिरहेका थिए । साइकोलोजी अध्ययन गरेकाले जुकर्बगलाई फेसबुक डिजाइन गर्न सजिलो भयो ।

आज विश्वका अधिकांश देशमा फेसबुक प्रयोग हुन्छ । फेसबुकले कुराकानीको परम्परागत तरिकालाई नै परिवर्तन गरेको छ ।

१८ वर्षअघि एउटा कोठाबाट शुरू भएको फेसबुक आज कसरी विश्वको लोकप्रिय सामाजिक सञ्जाल भयो ? फेसबुकको १८ औं वार्षिकोत्सवको अवसरमा आज हामी जानकारी दिदैछौं ।

कसरी शुरू भयो फेसबुक ?

सन् २००४ फेब्रुअरी ४ मा मार्क जुकरबर्गले आफ्ना कलेजका साथी एडुआर्डो सेभरिन, डस्टिन मोस्कोभिट्ज र क्रिस ह्युजेससहित हार्भर्डको छात्रावासबाट फेसबुकको शुरू गरेका थिए, जसको नाम थियो ‘दि फेसबुक’ ।

फेसबुक शुरू गर्दा मार्क जुकरवर्ग १९ वर्षका थिए । तर मार्क जुकरवर्गले बनाएको फेसबुक पहिलो सोसल साइट होइन् । त्यो भन्दा अगाडि उनले अन्य साइटहरू बनाएका थिए, जस मध्ये एक हो, फेसम्यास ।

\"\"

फेसबुक सुरू गर्दा मार्क जुकरबर्ग हार्भड विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका थिए । तर उनले कम्प्युटर विज्ञानका पनि धेरै कक्षाहरू लिएका थिए । दि फेसबुक नाम हार्भडका नयाँ प्रोफाइलिङ विद्यार्थी र कर्मचारीलाई वितरण गरिएको सिटबाट लिइएको थियो ।

दि फेसबुक साइट शुरू भएको २४ घण्टामै हार्भडका १२०० बढी विद्यार्थीहरूले साइनअप गरेका थिए । फेसबुकको लोकप्रियता यति बढ्यो की सन् २००४ जुनमा  २ लाख ५० हजारभन्दा बढी विद्यार्थीले अकाउन्ट बनाए । सन् २००४ को अन्त्यसम्ममा दि फेसबुकमा १० लाख सक्रिय प्रयोगकर्ता थिए ।

सन् २००४ मा नेप्स्टर तथा एन्जेल लगानीकर्ता सीन पार्कर कम्पनीको अध्यक्ष बने र सन् २००५ मा दि फेसबुकबाट फेसबुकमा यसको नामाकरण भयो ।

फेसबुक डटकम डोमेन २ लाख अमेरिकी डलरमा किनिएको थियो । त्यसपछि फेसबुक एप्पल, माइक्रोसफ्टका कर्मचारीसँगै उच्च माध्यामिक तहका विद्यार्थीलाई खुल्ला गरियो ।

अक्टोबर २००५ मा फेसबुकले आफ्नो साइटमा फोटोज सुविधा थप्यो र अमेरिका र क्यानडामा विस्तार भयो । सन् २००५ को अन्त्यसम्मा फेसबुकका ६० लाख प्रयोगकर्ता पुगेका थिए ।

सन् २००५ मा फेसबुकमा पेपालका सह संस्थापक पिटर थियलले ५ लाख डलर लगानी गरेका थिए । त्यसपछि फेसबुकले एक्सेलबाट १२.७ मिलियन डलर र जिम ब्रेयरबाट १ मिलियन लगानी उठाएको थियो ।

सन् २००५ को नोभेम्बरमा जुकरबर्गले प्रोग्रामरको सट्टा सीईओको रूपमा पूर्ण रूपमा कम्पनीमा ध्यान दिन आफ्नो अध्ययन छोडेका थिए ।

फेसबुकले सन् २००६ मा मोबाइल अप्टिमाइज्ड साइट m.facebook.com शुरू गर्‍यो । सेप्टेम्बर २००६ पछि फेसबुकमा ठूलो परिवर्तन आयो । त्यसपछि १३ वर्षभन्दा माथिका कसैले पनि इमेल प्रयोग गरेर फेसबुक चलाउन सक्ने भए ।

योसँगै फेसबुक उच्च विद्यालय, कलेज, विश्वविद्यालय वा व्यवसायहरूको सिमितताबाट बाहिर आयो । सन् २००६ को अन्त्यसम्ममा फेसबुकका प्रयोगकर्तालाई १ करोड २० लाख पुगेका थिए । सन् २००६ को सप्टेम्बरमै फेसबुक ‘न्युज फिड’ नामक नयाँ फिचर पनि फेसबुक थप गरेको थियो ।

फेसबुक बिक्री गर्न १ अर्बको प्रस्ताव

जब फेसबुकको लोकप्रियता चुलिदै गयो, त्यसबेला फेसबुक विक्री गर्न एउटा प्रस्ताव आयो । उक्त प्रस्ताव गरेको थियो याहुले ।

सन् २००६ जुलाईमा याहुले फुसबुकलाई १ अर्ब अमेरिकी डलरमा किन्न एप्रोच गरेको थियो । त्यसबेला फेसबुकका ८०-९० लाख प्रयोगकर्ता थिए, जसबाट ३० करोड डलर आम्दानी भइरहेको थियो ।

\"\" फेसबुकका संस्थापक जुकरबर्ग


खरिदको प्रस्ताव आएपछि फेसबुकका ३ बोर्ड सदस्य मार्क जुकरबर्ग, पिटर थिएल, जिम बेयरको बैठक बस्यो । उक्त बैठकमा जुकरबर्गले यो बैठक औपचारिक मात्रै भएको र फेसबुक नबेच्ने बताए ।

उक्त बैठकमै पिटरले भनेका थिए, ‘हामी सायद यसबारे कुरा गर्नुपर्छ । १ अर्ब डलर धेरै रकम हो । तपाई २५ प्रतिशतको मालिक हुनुहुन्छ । तपाईले पैसासँग गर्ने धेरै कुराहरू छन् ।’

तर जुकरबर्गले फेसबुक बिक्री गरेनन् । याहुलाई फेसबुक नबेच्ने र सबैका लागि खुल्ला भएकाले यसमा धेरै प्रयोगकर्ताहरू आए । सन् २००७ को अन्त्यसम्म फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता ५ करोड ८० लाख पुगेका थिए ।

सन् २००७ मै फेसबुकले पाराकीलाई खरिद गर्‍यो । पाराकी फायरफक्सका सह-सिर्जनाकर्ताहरूले स्थापना गरेका थिए । त्यो एक वेबमा आधारित अपरेटिङ सिस्टम विकास गर्दै थियो,  जसलाई पछि फेसबुकले मोबाइल साइट क्रियट गर्न र पावर गर्न प्रयोग गरेको थियो । सन् २००७ मै फेसबुकले प्रडक्ट किन्न र खरिद गर्न मार्केटप्लेस शुरू गरेको थियो ।

फेसबुकले जुलाई २००८ मा आईफोन एपका लागि स्टयाण्डअलोन फेसबुक पनि शुरू गर्‍यो । उक्त वर्ष फेसबुक च्याट फिचर पनि शुरू भएको थियो । तर सन् २००९ मा पेसबुकले यसलाई ‘लाईक’ बटनमा परिवर्तन गर्‍यो, जसले सामाजिक सञ्जाल प्रयोगको तरिकालाई बदलिदियो ।  फेसबुकले सन् २०११ मा फेसबुक टाइमलाइन शुरू गरेको थियो ।

म्यासेन्जर एपको शुरू

आज दैनिक दैनिक करोडौंले प्रयोग गर्ने म्यासेन्जर एप फेसबुकले सन् २०११ मा सार्वजनिक गरेको थियो । आईओएस र एन्ड्रोइडका लागि सार्वजनिक भएको म्यासेन्जर एक मात्र प्रमुख उत्पाउन थियो । उक्त इन्स्ट्यान्ट म्यासेजिङ एपमा इन्टरनेटको प्रयोग गरी म्यासेज, फोटो र भिडियो पठाउन सकिने सुविधा थियो ।

सन् २०१२ मा फेसबुकले फोटो शेयरिङ एप इन्स्टाग्रामलाई १ बिलियन डलरमा खरिद गर्‍यो । जुन फेसबुकको सबैभन्दा ठूलो खरिद थियो । इन्स्टाग्रामले नगद र स्टकको रूपमा १ बिलियन प्राप्त गरेको थियो ।

फेसबुकको आईपीओ

फेसबुकले सन् २०१२ मेमा आईपीओ जारी गरेको थियो । इन्टाग्रामलाई खरिद गरेको १ महिनापछि आईपीओ निष्कासन गरेको थियो ।

माग धेरै आएपछि आईपीओ आउनुभन्दा २ दिन अगाडि फेसबुकले योजनाभन्दा २५ प्रतिशत शेयर बढी बिक्री गर्ने घोषणा गर्‍यो । फेसबुकले आईपीओबाट १६ बिलियन डलर रकम उठाएको थियो ।

यो आईपीओले सबैभन्दा ठूलो आईपीओ मध्येको एकका रूपमा लिइन्छ । त्यो बेला फेसबुकको प्रति शेयरको मूल्य ३८ डलर रहेको थियो । आज फेसबुक प्रति शेयर मूल्य २७३ डलर रहेको छ ।

आईपीओ जारी गरेको १ महिनापछि फेसबुकका मासिक प्रयोगकर्ता १ अर्ब पुगेका थिए । यसको मतलब पृथ्वीका ७ जना मानिसमध्ये १ जनाले फेसबुक प्रयोग गरिरहेका थिए । त्यसपछि फेसबुकले ट्रेन्डिङ, ग्रुप, नियरबाई फ्रेण्ड फिचर थप गरेको थियो ।

\"\"

सन् २०१४ फेब्रुअरीमा फेसबुकले १६ बिलियन डलरमा ह्वाट्सएपलाई खरिद गर्ने घोषणा गर्‍यो । जुन पछि यसलाई बढाएर १९ बिलियन डलर पुर्‍याइयो ।

तर वास्तवमा २२ बिलियन डलरमा फेसबुकले ह्वाट्सएप खरिद गरेको थियो । किनकी भुक्तानको एक अंश फेसबुकको शेयर समेत थियो । सम्झौता बन्द हुँदा सम्म शेयरको मूल्यको ६८ डलरबाट बढेर ७७ डलरसम्म पुगेको थियो ।

इन्स्टाग्राम, पाराकी, ह्वाट्एपसँगै फसबुकले ओकलस, चेनस्पेश लगायतका कम्पनी समेत खरिद गरेको थियो ।

फेसबुकको नाम परिवर्तन

सन् २०२१ मा फेसबुकले फेसबुक इंकको नाम परिवर्तन गरेर मेटा राखेको थियो । मेटाभर्स परियोजना आफुलाई केन्द्रित गर्ने गरी फेसबुकले नाम परिवर्तन गरेको थियो । नाम परिवर्तनसँगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत हाल मेटा अन्तर्गत सञ्चालित छन् ।

घटे प्रयोगकर्ता

फेसबुकको इतिहासमै पहिलो पटक फेसबुकका प्रयोगकर्ता घटेका छन् । फेसबुकको प्यारेन्ट कम्पनी मेटाले सार्वजनिक गरेको सन् २०२१ को चौथो त्रैमासिकको प्रतिवेदन अनुसार ३ महिनामा १० लाख प्रयोगकर्ता घटेका छन् ।

सन् २०२१ को तेस्रो त्रैमासिकमा १ अर्ब ९३ करोड दैनिक सक्रिय प्रयोगकर्ता रहेकोमा चौथो त्रैमासिकसम्म आईपुग्दा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता १ अर्ब ९२ करोड ९० लाखमा झरेका छन् ।

प्रयोगकर्ता घटेको रिपोर्ट आएसँगै फेसबुकले एक दिनमै २३० बिलियन डलर गुमाएको छ । जसमा जुकरबर्गले मात्रै ३० बिलियन डलरभन्दा बढी गुमाएका छन् ।