ब्रोडवे इन्फोसिस नेपालको आइटी ट्रेनिङ क्षेत्रको एउटा स्थापित नाम हो । सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिसले आज हजारौं आईटीका जनशक्ति बजारमा पठाएको छ ।
ब्रोडवेले व्यक्तिगत रूपमा मात्र नभएर संस्थागत रूपमा पनि आईटीका ट्रेनिङहरू प्रदान गर्दै आएको छ । त्यो बेला ब्रोडवे सुरू गर्न सजिलो थिएन् तर पनि विभिन्न आरोह अवरोह छिचोल्दै आज एउटा सफल आईटी ट्रेनिङ संस्थाका रूपमा उभिएको छ ।
एक दशक अघि आफ्नै केही गर्ने हुटहुटीले ब्रोडवे स्थापना भएको ब्रोडवे इन्फोसिसका संस्थापक राजु अधिकारी बताउँछन् ।
अधिकारीको त्यो हुटहुटीले आज ब्रोडवे इन्फोसिस एउटा बलियो ब्राण्डसँगसँगै दक्ष सीप प्रदान गर्ने संस्था बनेको छ । यसले एकेडेमीया र इन्डष्ट्रीबीचको खाँडललाई कम गर्ने पुलको रूपमा काम गरिरहेको छ । यसले नेपालमा मात्र होइन्, अमेरिकामा समेत सेवा विस्तार गरेको छ ।
यसरी सुरू भयो ब्रोडवे
नुवाकोटमा जन्मिएका राजु अधिकारीलाई सानैदेखि आईटी (सूचना प्रविधि) मा रूची थियो । मध्यम किसान परिवारमा जन्मिएका उनी ८ कक्षा पढ्न काठमाडौं प्रवेश गरे । काठमाडौंमा पढ्न आएपछि बिहान र दिउँसो उनी पढ्थे भने साँझ अरूलाई पढाएर पैसा कमाउथे ।
उनले कक्षा ११-१२ पढ्दा पढ्दै आईटीका ट्रेनिङहरू लिन थालेका थिए । भातरमा गएर पनि उनले केही आइटी ट्रेनिङ लिए । आईटीका ट्रेनिङ दिने क्रममा पार्टनरकै रूपमा एउटा ट्रेनिङ इन्स्टिच्युटमा जोडिए ।

आईटी ट्रेनिङकै क्षेत्रमा केही गर्न सकिन्छ भनेर ब्रोडवे सुरू भएको अधिकारीले बताए । ‘आईटीमा सानैदेखि रूची थियो,’ उनले लिभिङ विथ आइसिटीसँग भने, ‘त्यही रूचीको परिणाम नै ब्रोडवे हो ।’
ब्रोडवे सुरू गर्दा उनी २३ वर्षका थिए । भनिन्छ ‘समस्या र समाधानको बीचमा बिजनेस हुन्छ ।’ राजुले पनि नेपालमा आईटी ट्रेनिङको समस्या देखे र सो समस्यालाई समाधान गर्न ब्रोडवे सुरू गरे ।
हुनत ब्रोडवे सुरू हुनुभन्दा अगाडि राजु अर्को ट्रेनिङ इन्स्टिच्युटमा आवद्ध थिए । तर त्यो विविध कारणले सफल हुन सकेन् ।
अधिकारीले व्यवस्थापन र सूचना प्रविधि दुवैमा स्नातक तहको अध्ययन गरेका छन् । सिकाइलाई कहिले पनि रोक्न नहुने उनको मान्यता छ ।
‘सिक्ने प्रक्रियालाई कहिले पनि रोक्नु हुँदैन् । म अहिले पनि हरेक दिन नयाँ कुरा सिकिरहेको हुन्छु । आफुलाई अपडेटेड गराइरहेको हुन्छु,’ अधिकारी भन्छन् ।
अधिकारीका अनुसार व्यक्तिको सफलतामा साथी संगतको ठूलो अर्थ हुन्छ । साथीहरू पनि आईटीमै आवद्ध भएकाले आइटीप्रति झनै रूची बढेको उनको भनाइ छ ।
विश्वास र प्यासनले बनेको ‘ब्राण्ड’
ब्रोडवेले १४ वर्षसम्म आईपुग्न थुप्रै चुनौती पार गरेको छ । सुरूमा राजुले मात्रै ब्रोडेवे सुरू गरेका हुन् तर पछि उनको परिवार नै ब्रोडवेमा जोडियो । ब्रोडवे सफल हुनुमा परिवारको पनि ठूलो योगदान छ ।
राजुसँगै उनका भाइहरू हरि अधिकारी, उत्तम अधिकारी र गोविन्द अधिकारी ब्रोडवेको सफलताका लागि दिनरात खटिरहेका छन् । ब्रोडवे इन्फोसिसलाई स्थापित ब्राण्ड बनाउनमा परिवारको टिमवर्क पनि महत्वपूर्ण रहेको राजु बताउँछन् ।
तिनकुनेमा सुरू गर्दा धेरैले राजुलाई ब्रोडवे चल्दैन् भनेर भन्थे । तर तिनकुनेको ब्रोडवेलाई सफल बनाएरै छाड्ने राजुको दृढ विश्वास थियो ।
‘बेलुन कहिले पनि कलरले उड्दैन् त्यसभित्र भएको हावाले उड्छ,’ उनी भन्छन्, ‘बजार आफैले बनाउनु पर्छ बजार रेडिमेड हुँदैन् । बजार बनाउँदै ब्रोडवे आज एक सफल ट्रेनिङ इन्स्टिच्युटको रूपमा दरिएको छ ।’
बजारको प्रतिस्पर्धालाई उनले कहिले पनि चुनौतीको रूपमा लिएनन् । अरू कम्पनीहरू आएपछि बजार ठूलो हुँदै जाने अधिकारीको बुझाइ छ ।
ब्रोडवेलाई हार्ड वर्क र विश्वासले बलियो बनाएको उनी बताउँछन् । उनी भन्छन्, ‘तपाई जुन काम सुरू गर्नुहुन्छ, त्यस कामप्रति तपाईको विश्वास हुन जरूरी छ ।’
त्यही विश्वासले ब्रोडवे अमेरिकासम्म विस्तार भएको छ । सन् २०१५ देखि ब्रोडवेले अमेरिकाबाट ट्रेनिङ सेवा दिइरहेको छ । प्रविधिले गर्दा नेपाल र अमेरिका बाट दिने ट्रेनिङमा खासै भिन्नता नभएको उनको धारणा छ ।
अमेरिकाका विद्यार्थीलाई पढाउने अधिकांश जनशक्ति नेपालका छन् । अमेरिकामा नेपालको जस्तो कानुनी झन्झट नभएको उनले बताए । ‘अमेरिकामा काम गर्न ठूलो चुनौती छैन्,’ उनी भन्छन, ‘ब्रोडेवे नेपालबाट आएको कम्पनी भनेर चिनाउन चाहन्छौं ।’
हजारौलाई ट्रेनिङ, सयौंलाई जब
ब्रोडवेलाई सुरूमा मान्छेले विश्वास नै गर्दैन्थे । सन् २००८ मा ब्रोडवे एउटा फ्ल्याटबाट सुरू भएको थियो । त्यसमा ३-४ वटा कोठा थिए, ३-४ जनाको टिम थियो ।
सुरूवाती दिनमा मान्छेको विश्वास जित्न धेरै चुनौती भएको राजुको अनुभव छ । तर आज जसलाई सुरूका दिनमा धेरैले विश्वास गर्दैन्थे, त्यही आज धेरैको भरोसाको केन्द्रविन्दु बनेको छ ।
‘ब्रोडवेले आज हजारौंलाई आईटी ट्रेनिङ दिएको छ,’ अधिकारीले भने, ‘स्वदेश तथा विदेशका उत्कृष्ट कम्पनीहरूमा ब्रोडवेका विद्यार्थीहरूले काम गरिरहेका छन् । सयौंलाई जबका लागि सहयोग गरेका छौं ।’
ब्रोडेवेले सुरूमा पीएचपी माईएसक्युएल, ग्राफिक्स, मल्टिमिडिया लगायतका ट्रेनिङ दिदै आफ्नो सेवा सुरू गरेको थियो । पछि प्रविधिको गतिशीलतालाई आत्मसात गर्दै गयो र अहिले मेसिन लर्निङ, एआई, डेटा साइन्स लगायतका नयाँ नयाँ प्रविधिको बारेमा समेत ट्रेनिङ दिइरहेको छ ।
जुनसुकै नयाँ प्रविधि आएपनि त्यसलाई पछ्याउन सक्ने क्षमता ब्रोडवेमा रहेको उनको भनाइ छ । ब्रोडवेले हाल १०० भन्दा बढी विषयमा आईटीका ट्रेनिङ दिइरहेको छ ।
‘जुनसुकै नयाँ प्रविधि आएपनि त्यसलाई पढाउनको लागि आवश्यक पर्ने टिम, विशेषज्ञता हामीसँग छ,’ विश्वस्त हुँदै अधिकारीले भने ।
ब्रोडवेमा उद्योगमा काम गरिरहेका दक्ष प्रशिक्षकबाट पढाइ हुन्छ । पाठ्यक्रममा भन्दा पनि प्रोजेक्टमा आधारित भएर पढाइ हुन्छ ।
उनले अगाडि भने, ‘हामी हार्ड स्किलसँगै सफ्ट स्किल पनि दिन्छौं । विद्यार्थीलाई जब प्लेसमेन्टमा सहयोग गर्छौं ।’ अहिले ब्रोडवेमा मात्रै ७० भन्दा बढीले रोजगारी पाएका छन् । साथै ब्रोडवेबाट ट्रेनिङ लिएर नेपाल तथा विदेशका विभिन्न कम्पनीमा सयौंले काम गरिरहेका छन् ।

सुरूमा मानिसहरू कार्यालयमै आएर ट्रेनिङ लिन्थे । पैसा पनि क्यासमै दिन्थे । अनलाइन ट्रेनिङको त्यति विश्वास पनि गर्दैन्थे । तर पछिल्लो समय ब्रोडवेमा अनलाइन र अफलाइनमा पढने विद्यार्थी बराबर छन् । अनलाइनबाट हुने पेमेन्ट पनि बढी छ ।
नेपालमा प्रविधिको विकासमा कोरोना महामारी कोसेढुंगा सावित भएको अधिकारीले बताए । उनले भने, ‘केही वर्ष लाग्ने प्रविधिको विकास महामारीका कारण छोटो समयमा भएको छ । डिजिटल साक्षरता बढेको छ ।’ एक दशक अगाडिको प्रविधि र अहिलेको प्रविधिमा फरक आएको उनको भनाइ छ ।
अधिकारीका अनुसार कुनै पनि मान्छेले आफुलाई समय अनुसार परिवर्तन नगराएमा बजारबाटै आउट हुन्छ । ‘यदी बजारमा टिकिरहने हो भने परिवर्तनलाई अगाल्नु पर्छ,’ उनी भन्छन् ।
गाउँ गाउँमा सेवा
ब्रोडवे इन्फोसिसले अब गाउँ गाउँमा समेत आईटी ट्रेनिङ दिने योजना बनाएको छ । सस्तो शुल्कमा गाउँमा पनि आईटी ट्रेनिङ दिने योजना अधिकारीले सुनाए । ‘पैसा नभएर कोही पनि ट्रेनिङबाट बञ्चित नहोस् भन्ने उद्देश्यसहित काम गरिरहेका छौं,’ उत्साहित हुँदै उनले भने ।
त्यस्तै कम्पनीले आफ्नो सेवा नेपाल र अमेरिकामा मात्र नभएर अन्य देशमा पनि विस्तार गर्ने योजना बनाएको छ । अझै गुणस्तरीय सेवा दिने योजना कम्पनीको छ । साथै नेपाललाई ट्रेनिङ टुरिजमको रूपमा विकास गर्ने उनको लक्ष्य छ । ‘यो मेरो सुरू देखिकै उद्देश्य हो,’ उनले भने ।
एकेडेमीया र इन्डष्ट्रीको ग्यापलाई जोड्दै
ब्रोडवेले एकेडेमीया र इन्डष्ट्री बीचको ग्यापलाई कम गर्न काम गरिरहेको छ । एकेडेमीयामा बढी सैद्धान्तिक पढाइ हुन्छ अभ्यास त्यति हुँदैन् । त्यो ग्यापलाई कम गर्न ब्रोडवे तल्लिन छ ।
‘एकेडेमीया र इन्डष्ट्री बीच अझै पनि ठूलो खाडल छ,’ राजु भन्छन्, ‘त्यसलाई पुरा गर्न हामी सधै लागिरहन्छौं । त्यसका लागि कहिले पनि बिचलित हुँदैनौं ।

अधिकारीका अनुसार इन्डस्ट्रीमा जसरी काम हुन्छ त्यसरी पढाइ भएमा एकेडेमीया र इन्डष्ट्रीको ग्याप कम हुन्छ । ट्यागलाइनको लागि मात्रै भएपनि शैक्षिक संस्थाको पढाई चाहिने उनको तर्क छ ।
‘शैक्षिक संस्थाको पढाइ स्किलमध्येको हार्ड स्किल हो । त्यो स्किललाई बजारमा बिक्री गर्नका लागि ब्रोडवे जन्मेको हो,’ उनले भने ।
सम्भावना र अवसर जोड्दै
पछिल्लो समय नेपालका दक्ष जनशक्तिहरू विदेश पलायन भइरहेका छन् । विदेशमा राम्रो अवसर र सेवा सुविधा हुने भएकाले पनि जनशक्तिहरू विदेश पलायन भइरहेका छन् । प्राय विदेश पलायन हुनेले नेपालमा सम्भावना नै देख्दैनन् । तर राजु भने नेपालमा सम्भावना भएको बताउँछन् ।
‘नेपालमा सम्भावना छ । नेपालमै काम गर्न सकिन्छ भन्ने मानसिकता विकास गर्नु आवश्यक छ,’ उनले लिभिङ विथ आइसिटीसँगको कुराकानीमा भने, ‘जबसम्म यस्तो मानसिकता हामी विकास गर्न सक्दैनौं, तबसम्म नेपालको क्षमता विदेश जान्छ ।’
कमल केसी