कीवर्डहरू -

अनि १५ वर्षीय दिक्षान्तले बनाए एआई ‘गफजीपीटी’

अनि १५ वर्षीय दिक्षान्तले बनाए एआई ‘गफजीपीटी’

काठमाडौंका दिक्षान्त पाण्डे एसईई दिएर बसिरहेका थिए । एसईईको परीक्षा दिएपछि नतिजा आउन ३ महिना लाग्छ। खाली समयको सदुपयोग गर्न केही नयाँ सीप सिक्ने योजना बनाए र ब्रोडवे इन्फोसिसमा एआई सम्बन्धि तालिम पनि लिन थाले। तालिम सँगसँगै एआई सम्बन्धि रिसर्च पनि गर्दै थिए।

त्यतिबेला बजारमा भर्खर भर्खर च्याटजीपीटीको चर्चा हुन सुरू भएको थियो। उनको दिमागमा पनि च्याटजीपीटी जस्तै आफ्नै एआई च्याटबट बनाउने आईडिया फुर्‍यो। अर्को कुरा उनले तालिम लिदै गरेको ठाउँमा पनि एआईको एउटा प्रोजेक्ट तयार पार्नु पर्ने थियो। त्यसपछि तयार भयो गफजीपीटी।

गफजीपीटी च्याटजीपीटी जस्तै एआई च्याटबट भएको पाण्डेले बताए। ‘एसईई दिएर बसेको थियो। एसईई दिएपछि ३ महिना खाली समय हुन्छ । मैले त्यो खाली समयमा एआई सिक्ने निधो गरे,’ उनले आइसिटी समाचारसँग भने, ‘एआई सिक्दै गर्दा बजारमा च्याटजीपीटी एआईको चर्चा हुन थालेको थियो। त्यसपछि मैले गफजीपीटी तयार गर्न थालेको थिए।’

गफ जीपीटी सार्वजनिक भएको १ हप्ता भएको छ । तर परीक्षण भने विगत १ महिनादेखि चलिरहेको थियो। गफ जीपीटीमा च्याटजीपीटीको एपीआई प्रयोग गरिएको छैन ।

गफजीपीटीमा माइक्रोसफ्ट एजुरेमा भएको डेटासँग लिंक गरिएको उनी बताउँछन्। अहिले गफ जीपीटीमा तपाईले कुनै प्रश्न सोध्नु भयो भने अद्यावधिक डेटा देखाउँदैन। त्यसको समाधानका लागि पनि उनले काम गरिरहेका छन्।

पाण्डे भन्छन्, ‘माइक्रोसफ्टले पुरानै डेटा प्रदान गरेकाले त्यो समस्या देखिएको हो। माइक्रोसफ्टलाई अनुरोध गरेपछि नयाँ डेटा अपडेट गरिदिन्छ। त्यसमा अगाडि बढेको छु।’

\"\"

माइक्रोसफ्ट एजुरको डेटा आफ्नो साइटमा राख्न पैसा तिर्नुपर्छ। अहिले माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब अन्तर्गत त्यो डेटा निःशुल्क रूपमा प्रयोग गर्न पाइरहेका छन्। तर भविष्यमा त्यो एजुरेमा भएको डेटा राख्न पनि शुल्क तिर्नुपर्नेछ।

माइक्रोसफ्टले प्रदान गरेको डेटा मात्र होइन अब आफैले पनि डेटा राख्ने योजना बनाएका छन्। हाल नेपालको संविधानलाई ट्रेनिङ मोडुअलमा राख्दै छन्। यस बाहेक निर्वाचनको नतिजा, नेपालको जनसंख्या तथ्याङ्क राख्ने तयारीमा छन्।

अहिले गफ जीपीटीमा पूर्ण रूपमा नेपालीमा च्याट गर्न मिल्दैन। केही समयपछि गफजीपीटीमा नेपालीमै च्याट गर्न मिल्ने पाण्डेको दाबी छ। ‘अहिले देवनागिरी लिपि सिक्दै छु । त्यसलाई ट्रेनिङ मोडलमा राखेपछि पूर्ण रूपमा नेपालीमै जवाफ दिन सक्छ,’ उनी ढुक्कका साथ भन्छन्, 'विस्तारै तपाईले नेपाली सोधेको प्रश्नको जवाफ नेपालीमै पाउनु हुन्छ ।’

च्याटजीपीटी बनाउन कोडिङ सबैले पाण्डले नै गरेका हुन्। डोमेन र होस्टिङका लागि पैसा खर्च गर्नुपरेको थिए। डोमेन र होस्टिङ खरिदका लागि उनको बुबाले पैसा दिएका थिए। प्रयोगकर्ता बढ्दै गएपछि च्याटजीपीटीमा एड र स्पोन्सरसीप पनि राख्ने उनी सुनाउँछन्। त्यसले कम्तिमा पनि होस्टिङ र एजुरेको खर्च धान्ने उनको योजना छ।

सुरूवाती चरणमा गफजीपीटीको युआई सामान्य छ। तर अब गफजीपीटीको युआईलाई आकर्षक गराउन उनी लागि परेका छन्। अहिले गफजीपीटीमा लगइनको सुविधा छैन्। अब लगइनको सुविधा पनि ल्याउने र च्याट हिस्ट्री समेत देखाउने गरी नयाँ अपडेट ल्याउने पाण्डेले जानकारी दिए।

पाण्डेले पाइथन भ्वाइस असिस्टेन्ट समेत बनएका छन् । पाइथन भ्वाइस असिस्टेन्ट भनेको 'स्पिच रिकग्निसन' मोड्युल प्रयोग गरेर तयार पारिएको एउटा टुल हो।

यसले प्रयोगकर्ताको आवाजलाई रेकर्ड गरेर टेक्स्टमा कनभर्ट गर्छ। त्यसपछि असिस्टेन्टलाई ट्रेन गरेर प्रयोगकर्तालाई चाहिएको सूचना प्रदान गर्छ।

पाइथन भ्वाइस असिस्टेन्टबाट इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर खोल्ने, बन्द गर्ने, मौसम जाँच गर्ने जस्ता लगायतका काम गर्न सकिने दिक्षान्त बताउँछन्।

पाइथन भ्वाइस असिस्टेन्ट आइसिटी अवार्डको राइजिङ स्टार २०२२ अन्तर्गत उत्कृष्ट १२ मा पर्न सफल भएको थियो। पाण्डेले गफजीपीटी र पाइथन भ्वाइस असिस्टेन्टलाई मर्ज गर्ने समेत योजना बनाएका छन्। मर्ज गरेर एउटै ठाउँबाट टेक्स्ट र भ्वाइसको सुविधा दिने उनी बताउँछन्।

कोरोना महामारीमा हुँदा उनले कोडिङ सिक्ने सुरू गरेका थिए। त्यो बेला उनी कक्षा ८ मा पढिरहेका थिए। एचटीएमएल र सीएसएसबाट कोडिङमा हात हालेका उनले पाइथन, एचटीएमएल सिकेका थिए।

\"\"
जुरी मेन्सन आइसिटी अवार्ड प्राप्त गरेपछि पाण्डे

सानैदेखि सूचना प्रविधिमा रूची राख्ने दिक्षान्त पाण्डे १५ वर्षका मात्रै भए। तर सूचना प्रविधिको क्षेत्रमा भने उनी खारिएका छन्। भनिन्छ नि, सिक्नलाई उमेरले छेक्दैन। दिक्षान्त पाण्डेको हकमा पनि त्यस्तै भएको छ।

१५ वर्षको कलिलो उमेरमै उनले प्रविधिको धेरै ज्ञान लिइसकेका छन्। यो सबको कडा मिहिनेतबाट सम्भव भएको हो। अहिलेको डिजिटल युगमा सिक्नलाई कजेल जानु पर्दै युट्युब, गूगलबाट पनि सिक्न सकिन्छ भन्ने बलियो उदाहरणसमेत पाण्डे भएका छन्।

पाण्डेले गत वर्ष जुरी मेन्सन आइसिटी अवार्ड २०२२ समेत जितेका थिए। एसईई दिएर बसेका उनले कक्षा ११ र १२ विज्ञान विषय लिएर पढ्ने योजना बनाएका छन्। दृढ संकल्पका साथ पाण्डे भन्छन, ‘भविष्यमा सूचना प्रविधिमै केही गर्ने मन छ र यसमै करियर बनाउछु।’