कीवर्डहरू -

प्रविधि र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’

प्रविधि र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’

माध्यमिक शिक्षा अर्थात प्लस टु गरिसकेपछि विद्यार्थी तथा अभिभावक  उच्च शैक्षिक संस्थाको खोजीमा लाग्छन् । कतिपय विद्यार्थी विदेश जाने तयारीमा जुट्छन् भने विदेश जान नसक्नेहरू स्वदेशमै केही राम्रो पढाइ हुने र सँगै करियर लक्षित कलेजको खोजी गरिरहेका हुन्छ । तैपनि विद्यार्थी तथा अभिभावकसमेत अब उच्च शिक्षामा आफूले पढ्ने विषय कस्तो होला ?

यो विषय पढेपछि उच्च शिक्षामा आफूले रोजेको विषय पढ्न पाइएला कि नपाइएला वा आफूले रोजेको शैक्षिक संस्थाले स्तरीय र सिपमूलक शिक्षा दिन्छ कि दिँदैन भन्ने दुविधामा हुन्छन् । त्योभन्दा ठुलो दुविधा विद्यार्थीलाई अहिले परीक्षामा आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए)ले पनि चुनौती दिइरहेको हुन्छ ।

राम्रो ग्रेड ल्याउनेले पढ्ने विषय राम्रो हुने तर तल्लो ग्रेड ल्याउनेले पढ्ने विषय नराम्रो हुने भन्ने आम बुझाइले यसलाई थप मलजल गरेको हुन्छ ।

यो भ्रमबाट मुक्त भएर विद्यार्थीले पढाइसँगै रोजगारीको अवसरहरूलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा बीआईएम अध्ययन गरेमा उपर्युक्त हुन सक्छ ।

बीआइएम कस्तो कोर्ष हो ?

ब्याचलर्स अफ इन्फरमेसन टेक्नोलोजी अर्थात बीआइएम कोर्ष म्यानेजमेन्ट र कम्प्युटर शिक्षा मिलाएर पढाई हुने विषय हो । यो कोर्ष पोखराका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेज हरुमा पढाइ हुने गर्दछ ।

यो विषयमा ४० प्रतिशत मेनेजमेन्ट र ६० प्रतिशत कम्प्युटर सफ्टवेयर पढाइ हुन्छ । मेनेजमेन्टसँगै कम्प्युटर साइन्स पढ्न चाहनेहरूका लागि यो कोर्ष निकै उपयोगी हुने आइटी विज्ञहरू बताउँछन् ।

पहिले इन्फरमेसन टेक्नोलाजी र म्यानेजमेन्ट जान्ने विद्यार्थीहरु मात्र भएको तर अहिले दुवै विषय जानेको मान्छे खोजी भएकाले त्यसको ब्लान्डेड बीआईएमले दिने माया ग्लोबल एजुकेसन (एमआईएस) का आईटी निर्देशक दिपराज कायस्थ बताउँछन् ।

उनी भन्छन्, ‘विद्यार्थीले इन्फरमेसन टेक्नोलोजी मात्र जानेर भएन । म्यानेजमेन्ट पनि जान्नुपर्यो। त्यो कुराको  बीआईएममा ६० प्रतिशत कम्प्युटर साइन्सको बारेमा छ भने ४० प्रतिशत मेनेजमेन्टको बारेमा छ ।’

उनका अनुसार सूचना प्रविधि र व्यवस्थापकीय सीपहरुलाई समायोजन गरेर बनाइएको शैक्षिक कार्यक्रम भएका कारण विद्यार्थीको रोजाइमा पर्न गएको कोर्ष हो बीआईएम कोर्ष ।

‘यो कोर्ष ४ वर्षेसम्म पढाइ हुन्छ । यसलाई ६ महिनाको ८ सेमेस्टरमा बाँडेर पढाइन्छ, उनी भन्छन्, ‘यसले विद्यार्थीलाई विजनेश इन्फर्मेशन सिस्टम, त्यसको विष्लेषण, डाटा प्रोसेसिङ, नेटवर्क विस्तार, सफ्टवेयर निर्माणलगायतका ज्ञान दिन्छ।’

त्रिभुवन विश्वविद्यालयको बीआइएमको सम्बन्धन लिने सुदूरपश्चिमाञ्चल क्याम्पस प्रदेश ७ को पहिलो क्याम्पस भएको र हाल यो कार्यक्रम पढाउने कलेजको संख्या २६ पुगेको उनको भनाइ छ ।

बीआईएम कोर्षमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापन तथा अन्य विषय समावेश गरिएको छ । चार वर्ष अर्थात् आठ सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालित यस कोर्षमा बिजनेश एडमिनिस्ट्रेशन, इकोनोमिक्स, कम्प्युटर साइन्स लगायतका विषय पढ्नुपर्छ । कम्प्युटर साइन्स अन्तर्गत इन्फर्मेशन सिस्टमसँग सम्बन्धित थेउरीहरू, आइडिया, मेथोड, मोडल लगायतका विषयहरु यसमा समावेश छन् ।

कस्ता र कुन ग्रेड ल्याएका विद्यार्थीले पढ्न पाउँछन् ?

बीआईएम कोर्षमा भर्ना हुनको लागि उच्च तहमा साइन्स र मेनेजमेन्ट गरेका विद्यार्थीहरूले यो कोर्ष सजिलैसँग पढ्न पाउने भए पनि  धेरैजसो विद्यार्थी मेनेजमेन्ट संकायबाट नै आएको निर्देशक दिपराज कायस्थ बताउँछन् ।

उनी भन्छन्, ‘प्लस टु मा मेनेजमेन्ट गरेको र इन्फरमेसन टेक्नोलोजीतिर जान खोज्ने विद्यार्थीहरु यस कोर्षमा भर्ना हुन सक्छन् । नेपालमा आइटी कित बिएससीआइटी गर्नुपर्यो तर, त्यो साइन्स पढेकोले मात्र गर्न पाउँछ । तर, यसमा मेनेजमेन्ट पढेर आएको विद्यार्थीले कोर्ष पढ्न सक्छ ।’

यो कोर्षमा विद्यार्थी पढ्नको लागि सी ग्रेड ल्याएको अथवा आइटीमा चासो भएको विद्यार्थीले पनि सजिलैसँग भर्ना हुन पाउने उनको भनाइ छ ।‘ विद्यार्थी आफ्नो ग्रेड हेरेर अध्ययन निर्धारण गर्छन्। तर यो कोर्ष पढ्न अब  ग्रेड नर्मल भए मात्र पनि बीआइएम पढ्न पाउँछन्। आइटीमा भने चासो हुनुपर्छ।’

बीआईएममा त्रिविले छात्रवृत्ति दिन्छ, जसमा प्रत्येक बीआईएम पढाइ हुने कलेजमा ६ वटा पूर्ण छात्रवृत्तिको कोटा तोकिएको छ ।

पाठ्यक्रममा के के पढाइ हुन्छ ?

बीआईएम कोर्ष आठ सेमेस्टरमा पढाइ हुन्छ । यो कोर्षमा जम्मा ४२ वटा विषय पढ्नुपर्ने किष्ट कलेजका बीआईएम संयोजक सूर्य बस्नेतले बताए । २६ वटा विषय आएटी एण्ड कम्प्युटिङ, ४ वटा विषय वेशिक फाउण्डेसन र बाँकी रहेका १२ वटा विषय मेनेजमेन्टको कोर्ष पढ्नुपर्ने उनको भनाइ छ ।

यसमा विजनेश म्यानेजमेन्ट, प्रोग्रामिङ, प्रणाली प्रशासन, अपरेटिङ सिस्टम, इलेक्ट्रोनिक रिपोर्टिङ र अडिटिङ एण्ड म्याथम्याटिक्स एण्ड लिबेरल आर्टसजस्ता विषयहरु अध्ययन गर्नुपर्ने हुन्छ ।

तर,यो कोर्षको पाठ्यक्रम फेरिएर आउने तयारीमा रहेको दिपराजको भनाइ छ । उनका अनुसार विद्यार्थीका आवश्यकताहरुलाई ध्यानमा राखेर नयाँ पाठ्यक्रम ल्याउने तयारी छ । विद्यार्थीहरुलाई छात्रावृतिको व्यवस्था समेत गरिएको हुन्छ ।

इन्टर्नसीपको व्यवस्था

यो कोर्ष पढिसकेपछि विद्यार्थीहरुले अनिवार्य रुपमा इन्टर्नशीप गर्नुपर्छ । आठौं सेमेस्टरमा इन्ट्रनसिपको व्यवस्था र छैठौं सेमेस्टरमा मिनी इन्ट्रनसिप व्यवस्था गरिएको बस्नेलते जानकारी दिए ।

उनी अगाडि भन्छन्, ‘विद्यार्थीले आइटी कम्पनीमा नै इन्टर्सीप गर्नुपर्छ भन्ने छैन  । उनीहरु विभिन्न कम्पनीमा आइटीसँग सम्बन्धि काम गर्न सक्छन् ।’

विद्यार्थीको अन्तिम सेमेस्टरमा विद्यार्थीहरुलाई जम्मा गरी २ महिनाको अवधिको लागि काम गर्नुपर्ने हुन्छ । प्रत्येक विद्यार्थीले आफूलाई तोकिएको सम्बन्धित संस्थामा गरेको कामको आधारमा तोकिएको ढाँचामा व्यक्तिगत परियोजना प्रतिवेदन तयार गर्नुपर्छ। इन्टर्नशिपको मूल्याङ्कन संस्थाको गोप्य प्रतिवेदन, परियोजना प्रतिवेदन र प्रतिवेदनको प्रस्तुतिमा आधारित हुनेछ ।

आठौं सेमेस्टरको अन्त्यसम्ममा प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ र विद्यार्थीहरूको  इन्टर्नशिपमा  ‘सी’ को न्यूनतम ग्रेड सुरक्षित हुन जान्छ ।

कस्ता छन् रोजगारीका अवसरहरु ?

यो कोर्ष पढेका विद्यार्थीहरु आइटी कम्पनी, बैंकमा काम गर्न सक्छन् । उनी भन्छन्, ‘ विद्यार्थीले यो कोर्ष पढिसकेपछि मेनेजमेन्ट तिर जाँदा पनि भयो अर्थात कुनै बैंक जाँदा पनि भयो र यहाँ पनि भएन भने आइटी कम्पनीमा जाँदा पनि हुन्छ ।’

उनका अनुसार २ वटाको बीचमा बसेर बैंकिङको करियरमा जाँदा पनि भयो । वा आफै आइटी कम्पनी खोल्न सके झनै राम्रो हुन्छ । हाम्रा धेरैजसो विद्यार्थीहरुले आईटी कम्पनी खोलेका छन् भने केही विद्यार्थीहरु बैंकमा पन छन् ।’

बीआइएम पढेसकेर रोजगारी गरेर न्युनतम २० हजारदेखि ५० हजारसम्म कमाउँन सकिन्छ । यसका साथै विद्यार्थीले आफै आइटी कम्पनी खोलेर समेत काम गर्न सक्छन् ।

कुन कुन कलेजमा हुन्छ पढाइ ?

नेपालमा प्राइम कलेज, किष्ट कलेज, कान्तिपुर कलेज अफ म्यानेज्मेन्ट एण्ड इन्फरमेशन टेक्नोलोजी, इन्सिच्युट अफ मेनेजमेन्ट स्टडिज, सेन्ट जेभियर कलेज माइतिघर, नेशनल केलज अफ कम्प्युटर स्टडिज, जनप्रिय मल्टिपल क्याम्पस, शंकरदेव क्याम्पस लगायतमा उक्त कोर्ष पढाइ हुँदै आएको छ ।

कति लाग्छ शुल्क ?

यो कोर्ष पढ्नका लागि कलेज अनुसार फरक फरक शुल्क लाग्ने गर्छ । सरकारी विद्यालयमा फरक हुन्छ भने नीजि विद्यालयमा फरक हुन्छ । यसको शुल्क न्यूनतम प्रतिसेमेस्टर ५५ हजारदेखि ६५ हजारसम्म लाग्ने गरेको दिपराजको भनाइ छ ।