कीवर्डहरू -

‘पढ्दै कमाउँदै’ गर्न सकिने कोर्ष बीटेक एड इन आईटी 

‘पढ्दै कमाउँदै’ गर्न सकिने कोर्ष बीटेक एड इन आईटी 

कक्षा १२ पास गरिसकेपछि सबै विद्यार्थीहरु के पढ्ने भन्ने दुविधामा हुन्छन् । कोही उच्च अध्ययन गर्न विदेशतिर लाग्छन् त कोही नेपालमै भएका र राम्रा कलेजतिर भर्ना हुन्छन् । आइटी पढ्ने विद्यार्थीहरु त झनै अलमलमा हुन्छन् । किनकी आईटीमा थुप्रै कोर्षहरु छन् ।

तर यदी पढ्दै कमाउँदै गर्न चाहने विद्यार्थीका लागि बीटेक एड इन आईटी कोर्ष उपयोगी हुन सक्छ । शिक्षा र सूचना प्रविधिको समिश्रण कोर्ष बीटेक एड इन आईटी काठमाडौं विश्वविद्यालयले सञ्चालन गर्दै आएको छ ।

बी टेक एड ईन आईटी कस्तो कोर्ष हो ?

बी टेक एड  इन आइटी अर्थात् ब्याचलर्स अफ टेक्निकल एजुकेसन इन इन्फरमेसन टेक्नोलोजी काठमाडौ विश्वविद्यालय (केयू) अन्तर्गतको स्कुल अफ एजुकेसनको स्टिम एजुकेसन विभाग अन्तर्गत राखिएको कोर्ष हो ।

४ वर्षे कोर्षमा १३६ क्रेडिट आवरको ८ सेमेस्टर हुन्छ । यो कोर्ष २०७८ (२०२२) सालबाट पढाउन सुरु गरिएको हो । पहिलो पटक यो कोर्ष सिन्धुली सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट (एससीटीआई) बाट पढाउन सुरु गरिएको हो ।

यो कोर्ष शिक्षा र आईटी कोर्षको मिश्रण भएको एससीटीआई सिन्धुलीका प्राचार्य अम्बरदिप देवकोटा बताउँछन् । यस कोर्ष सञ्चालन गर्न विभागले स्कुल अफ इन्जिनियरिङको कम्प्युटर साइन्स एन्ड कम्प्युटर इन्जिनियरिङ विभागसँग पनि सहकार्य गरेको स्कुल अफ एजुकेसन काठमाडौं युनिभर्सीटिका प्रोग्राम कोडिनेटर नेत्र कुमार मानन्धर बताए ।

कस्ता विद्यार्थी पढ्न पाउँछन् ?

यस कोर्षमा १२ कक्षा अथवा सीटीईभीटीबाट डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीले भर्ना हुन पाउँछन् । यससँगै उक्त कोर्षमा प्लस टूमा जुनसुकै कोर्ष पढेका विद्यार्थीले पनि भर्ना हुन पाउँछन् ।

कक्षा १२ मा सबै विषयमा ‘डी प्लस’, १.८ जीपीए अथवा ‘सेकेन्ड डिभिजन’ ल्याएको हुनु पर्छ । अर्थात ४१ प्रतिशतभन्दा बढी नम्बर ल्याएको हुनुपर्छ । यद्यपि यो कोर्ष अध्ययन गर्ने विद्यार्थीले पढ्दै काम गर्न समेत सक्नेछन् । देवकोटा भन्छन, ‘यो कोर्ष पढेपछि विद्यार्थीहरु पढ्दै काम गर्दै काम समेत गर्न सक्छन् । तेस्रो सेमेस्टर सकेपछि विद्यार्थीहरु सफ्टवेयर डेभलपर जस्ता काम गरेर पैसा समेत कमाउन सक्छन् ।’

कस्तो छ पाठ्यक्रम ?

यो कोर्ष शिक्षा र सूचना प्रविधिको समिश्रण हो । यसमा शिक्षा र आइटीका दुबै विषय पढ्नुपर्छ । कोर्षमा आईटी बाहेक शिक्षा तथा शिक्षण सम्बन्धी पनि पाठ्यक्रम राखिएको देवकोटाको भनाइ छ ।

त्यस्तै आईटीमा सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, प्रोग्रामिङ ल्याङ्ग्वेज, डिजिटल लजिक, ई-लर्निङ म्यानेजमेन्ट सिस्टम लगायत अन्य विषय पढ्नुपर्छ । त्यस्तै यस कोर्षमा विद्यार्थीले शिक्षण र व्यवहारिक काम गरी दुई ओटा इन्टर्नशिप गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयले यस विषयमा कोर कोर्ष १८ क्रेडिट आवर, भोकेसनल पेडागोजिकल कोर्ष २० क्रेडिट, स्पेसलाइजेसन इन आईटी ८० क्रेडिट आवर  र इन्टर्नशिप तथा रिसर्च १८ क्रेडिट आवर बराबर तोकेको छ ।

विद्यार्थीको मूल्यांकन कसरी हुन्छ ?

यस कोर्षमा सैद्धान्तिक विषयमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्याङ्कन हुने गरेको मानन्धरले जानकारी दिए । त्यस्तै प्रयोगात्मक विषयमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत बाह्य मूल्याङ्कन गरिन्छ ।

दोस्रो/तेस्रो सेमेस्टर पछि विद्यार्थीहरूले पढाइसँगै शिक्षण, प्रशिक्षण आदि क्षेत्रमा काम गर्न सक्ने उनी बताउँछन् ।

रोजगारीको अवसर कस्तो छ ?

यो कोर्ष सञ्चालन गर्नुको उद्देश्य नै प्राविधिक तथा व्यावसायिक क्षेत्रका जनशक्ति उत्पादन गर्नु हो । कोर्षमा आईटीका विभिन्न विषय पनि पढ्नुपर्ने भएकाले विद्यार्थीले यस क्षेत्रमा समेत करियर बनाउन सक्छन् । अध्ययनपछि विद्यार्थीले टीभेट सञ्चालन गर्ने, त्यहाँ तालिम प्रदान गर्ने जनशक्तिका रुपमा काम गर्न सक्ने छन् ।

देवकोटाका अनुसार कोर्ष अध्ययनपछि विद्यार्थीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एनभीक्यू ६) बराबर योग्यता पाउँछन् । उनीहरुले आईटी प्रोफेसनल, इन्स्ट्रक्टर,टीभेट एजुकेटर र टीभेट करिकुलम डेभलपर जस्ता काम गर्न सक्नेछन् ।

अध्ययनपछि विद्यार्थीले स्नातकोत्तर तहमा विभिन्न आईटी प्रोग्राम, टीभेट, शिक्षा, सामाजिक विज्ञान आदि विषयको अध्ययन गर्न सक्छन् । यसका साथै उनीहरु लोकसेवा आयोगमा समेत परिक्षा दिन सक्ने देवकोटा बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा पढाइ हुने ठाउँमा ट्रेन्ड टिचर नै छैनन् । यो कोर्ष पढेर विद्यार्थीहरुको भविष्य राम्रो छ । पढे भने विद्यार्थीको स्कोप एकदम राम्रो छ । ट्रेन्ड टिचरको मेनपावर नै छैन । लोकसेवामा जान सक्छन् । बाहिर पनि जान सकिन्छ । थर्ड सेमेस्टर पछाडि सफ्टवेयर बनाएर बेचेर पनि कमाइ गर्न सक्छन् । काठमाडौं विश्वविद्यालयको अन्तर्गतको कोर्ष भएर मार्केटमा राम्रो रहेको छ ।’

कहाँ कहाँ हुन्छ पढाइ ?

२०२२ बाट सर्वप्रथम यो कोर्ष पढाउन  सिन्धुली कम्युनिटी टेक्निकल इन्स्टिच्युट (एससीटीआई) सिन्धुलीमा सुरु गरिएको हो । त्यसपछि अहिले विराटनगरको अस्पायर कलेजमा पनि पढाइदै आएको छ ।  यस वर्षदेखि भने स्कुल अफ एजुकेसन काठमाडौं विश्वविद्यलायमा पनि यो कोर्ष पढाइ हुने मानन्धरले बताए । यसका लागि फर्म समेत खुला भइसकेको छ । सेप्टेमबरको अन्तिमबाट पढाइ सुरू हुनेछ ।

कति लाग्छ शुल्क ?

यो कोर्ष पूरा गर्नको लागि ४ वर्षको लागि ५ लाख ७० हजार रुपैयाँ शुल्क तोकिएको छ  । यसका साथै कलेजको सेवा सुविधा अनुसार शुल्क पनि फरक फरक लाग्ने गरेको मानन्धर बताउँछन् ।

काठमाडौं विश्वविद्यालयमा पढ्नको लागि १ लाख ७० हजार रुपैयाँ छ भने २ लाख १० हजार छात्रवृतिको व्यवस्था हुन्छ । विद्यार्थीले ३ लाख ६० हजारमा ४ वर्षे कोर्ष पढिसक्छन् ।
त्यस्तै,  ८ वटा सेमिस्टरमा १६ किस्तामा यो शुल्क तिर्नुपर्छ। एक किस्तामा २२ हजार ५०० रुपैयाँ तिर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ ।

अध्ययनपछि कति कमाउन सकिन्छ ?

यो कोर्ष पढेका विद्यार्थीहरु भविष्यमा ४० हजार रुपैयाँदेखि ढेड लाख रुपैयाँसम्म कमाउन सक्ने मानन्धरको भनाइ छ । कमाउँदै पढ्दै गर्ने कार्यक्रम भएकाले कम्तिमा ४० हजारदेखि ६० हजारसम्म कमाउन सक्ने मानन्धरले बताए ।