चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा आज नारायणगढमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न भएको छ ।
उद्याेग वाणिज्य सभा हलमा आयोजना भएको कार्यक्रममा २७ स्टलमा स्थानीयस्तरमा विकास भएका सफ्टवेयर, एप्लिकेशन, र प्रोजेक्ट्सहरुको प्रदर्शनी गरिएको थियो ।
प्रदेश सांसद विजय सुवेदीले उद्घाटन गरेकाे मेलामा उद्याेग वाणिज्य संघ चितवनका सभापति सहनलाल प्रधान, अक्सफाेर्ड कलेजका प्रिन्सिपल प्राध्यापक हरि भण्डारीलगायत अतिथिकाे रूपमा रहेका थिए ।
मेलाकै दाैरान आयोजना गरिएको स्टार्टअप, उद्यमशीलता र पछिल्ला प्रविधि र ट्रेन्ड विषयमा कन्फ्रेन्स समेत गरिएकाे थियाे । १५० बढीकाे सहभागिता रहेकाे कन्प्रेन्समा सहभागीलाई काठमाडौंबाट आएका ८ जना विषयविज्ञले सहजिकरण गरेका थिए ।
मेलालाई एक हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए ।
आइसिटी अवार्ड २०१९ को प्रि-इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर र बुटवलपछि नारायणगढमा यस प्रकारको कार्यक्रम आयोजना भएकाे हाे ।
स्थानीयस्तरमा आइटीमा केही गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इन्नोभेसन र उद्यमशीलतालाई अगाडि बढाउने उद्धेश्यले प्रदेशस्तरीय मेला आयोजना गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए ।