कीवर्डहरू -

विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

विद्युत प्राधिकरणले  देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । एशियाली विकास बैंकको ३७ करोड ७९ लाख सहुलियत ऋण सहयोगमा तयार भएका ५१ वटा चार्जिङ स्टेशन बुधबारदेखि सञ्चालनमा आएका हुन् ।

काठमाडौं उपत्यकामा सात वटा, धादिङको मलेखुमा दुईवटा तथा वीपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । यस्तै हेटौंडा र भरतपुरमा दुई दुई वटा, मुग्लिन/कुरिनटारमा ४ वटा, बनेपामा एउटा, वीरगंज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिवास, सप्‍तरीको राजविराज, धनुषाको ढल्केबर र जनकपुरधाममा एक एक वटा चार्जिङ स्टेसन बनाइएको छ ।

यसका साथै नवलपुर, दमौली र स्याङ्जामा एक एक वटा तथा पोखरामा तीन वटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । पश्‍चिम नवलपरासी, नेपालगञ्ज र सुर्खेतमा एक एक वटा, दाङमा दुईवटा तथा बुटवलमा तीन वटा,झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा चार्जिङ स्टेसन निर्माण गरिएको छ ।

५१ वटा चार्जिङ स्टेसनको नियन्त्रण काठमाडौंबाट हुनेछ । सवारीसाधन चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड स्क्यान गरेर र मोबाइल एपबाट पैसा भुक्तानी गर्न सक्नेछन् ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको प्राधिकरणको भनाइ छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन् ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड जियाङ्सुले कर बाहेक ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का पाएको थियो । अब ५ वर्षसम्म चार्जिङ स्टेशनको मर्मतसम्भार ठेक्का पाउने कम्पनीले नै गर्नेछ ।