कीवर्डहरू -

किन पढ्ने आईटी ? के के छन् रोजगारीका अवसर ? 

किन पढ्ने आईटी ? के के छन् रोजगारीका अवसर ? 

कक्षा १२ उतीर्ण भएपछि विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने ढोका खोल्छ । बजारमा उच्च शिक्षा अध्ययनका लागि व्यवस्थापन, सूचना प्रविधि, आर्ट्स, होटल व्यवस्थापन, स्वास्थ्य लगायतका विविध विषयहरू पढाइ हुन्छन् ।

तर धेरै विद्यार्थीहरू कक्षा १२ पास गरिसकेको पछि उच्च शिक्षा अर्थात स्नातकमा कुन विषय रोज्ने भन्ने अन्यौलमा हुन्छन् । पछिल्लो समय सूचना प्रविधि विस्तारित हुँदा आईटी पढ्नेको संख्या समेत बढ्न थालेको छ ।

आईटी पढ्न कतिपय विद्यार्थी आफ्नै रूचीले आउँछन् भने कतिपय विद्यार्थी अरूको लहलहैमा आउँछन् । अरूको लहलहमै आएर अध्ययन गर्न थालेका विद्यार्थीले बिचमै पढाइ छाडेको उदाहरण समेत देख्न सकिन्छ ।

किन पढ्ने सूचना प्रविधि ?

अहिले सञ्चार तथा सूचना प्रविधिको जमाना छ । प्रविधिले नै हामी माथी नेतृत्व गर्ने अवस्था सिर्जना भइसकेको छ । एउटा कुनामा बसेर हामी विश्व नियाली रहेका हुन्छौं । अहिले हरेक संस्थामा प्रविधि नभइ काम नै हुँदैन ।

नेपालमै बसेर विदेशमा आइटी सेवा निर्यात गरेर लाखौं आम्दानी गर्न सकिन्छ । नेपालले एक वर्षमा विदेशमा आईटी सेवा निर्यात गरेर ६७ अर्ब बढी आम्दानी गरेको तथ्यांक छ । आईटीमा धेरै अवसरहरू छन् । आईटीमा विद्यार्थीले धेरै अवसर पाउने भएकाले आइटी पढ्नु पर्ने आईटी विज्ञ रोहित पाण्डे बताउँछन् ।

‘आईटी क्षेत्रमा करियर राम्रो छ । यहाँ रोजगारीका अवसर प्रशस्तै छन्,’ उनले भने, ‘बजारमा आईटीका जनशक्ति अत्याधिक माग भएकाले हरेक सानादेखि ठुला व्यवसायमा आईटी आवश्यक हुन थालिसकेको छ ।’

\"\"

पछिल्लो समय सूचना प्रविधि क्षेत्र व्यापक हुँदै गएको छ । यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दै छन् । सगरमाथा कलेज साइन्स अफ टेक्नोलोजीकी सहप्रध्यापक गंगा सुब्बा पनि विद्यार्थीले आइटी पढ्दा धेरै अवसरहरु पाउने बताउँछिन् । ‘सूचना प्रविधिले विद्यार्थीलाई संसारमा अवसरको ढोका खोल्न मद्दत गर्छ,’ उनी भन्छिन्, ‘यो कोर्ष पढेर विद्यार्थीले व्यवहारिक कुराहरु धेरै सिक्न सक्छन् ।’

यस्तै ह्वाइट हाउस इन्टरनेशनल कलेजका आइटी हेड विमल शर्मा पनि सूचना प्रविधि अहिलेको अपरिहार्य भएको बताए । ‘अबको भविष्य नै सूचना प्रविधि भएकाले धेरै विद्यार्थीको रोजाइमा आईटी पर्न थालेको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘सूचना प्रविधि विना केही काम नै नहुने र अवसरहरु धेरै हुने भएकाले विद्यार्थीको यसमा आकर्षण बढ्दो छ ।’

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेग भण्डारीले कुनै पनि विषयमा आफूलाई विकास गर्नको लागि सूचना प्रविधि पढ्नुपर्नेमा उनको जोड छ । सरकारी काम काममा होस् वा अन्य कुनै काममा सूचना प्रविधि अपरिहार्य भएकाले सूचना प्रविधि पढ्पर्ने उनी बताउँछन्  ।

कसले पढ्ने सूचना प्रविधि ?

आजभोलि धेरै विद्यार्थीको रोजाइ सूचना प्रविधि विषय हुन थालेको छ । विद्यालय तहदेखि नै विद्यार्थीहरू कम्प्युटर पढ्न र कोडिङ गर्न थालिसकेका छन् । कक्षा १२ मा गणित, विज्ञान वा व्यवस्थापन जुनसुकै विषय लिएकाले पनि आईटी पढ्न पाउँछन् । तर विद्यार्थीमा आईटी पढ्ने इच्छाशक्ति हुनुपर्छ ।

इच्छा छैन् तर अरूको लहलहमै आईटी पढ्न आउँदा त्यसले भविष्यमा गम्भीर असर निम्त्याउन सक्छ । आईटी अध्ययनका लागि विज्ञान तथा गणित नै पढेको हुनुपर्छ भन्ने नभएको सुब्बाको भनाइ छ । ‘प्लस टुमा विज्ञान, गणित, व्यस्थापन जुन विषय लिएर पढेका विद्यार्थीले स्नातकमा आईटीका कोर्ष पढ्न पाउँछन्,’ उनले भनिन, ‘तर विद्यार्थीमा आईटी पढ्न इच्छाशक्ति चाँहि हुनुपर्छ ।’

\"\"

पछिल्लो समय आईटी पढ्ने विद्यार्थीहरु विदेशमा गएर पनि पढ्छन् तर, विदेशमा गएर पढ्ने विद्यार्थीहरु धेरैजसो अरुको लहैलहैमा जाने र पछि गएर पढाई छाड्ने भण्डारीको भनाइ छ । ‘नेपालमा चाहिँ प्रायजसो विद्यार्थीहरु अरुको देखेर आउँदैनन् । तर, आईटी पढ्न जो विद्यार्थीहरु विदेश जान्छन् उनीहरु धेरैजसो साथीको देखेर नै गएका हुन्छन् । त्यस्ता विद्यार्थीले पछि गएर राम्रो गर्न सक्दैनन्,’ उनी भन्छन् ।

आईटी पढ्न अरुको देखेर आउनुभन्दा पनि बुझेर मात्र आउँदा यसमा भविष्य राम्रो हुने भण्डारीको दावी छ । पछिल्लो समय हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग हुन थालेको छ । सरकारले नै डिजिटल नेपाल अभियानलाई अगाडि बढाएको छ । सरकारी वा निजी दुबै क्षेत्रमा आइटी पढ्ने माग छ ।

सूचना प्रविधि बिना काम नै नहुने अवस्था सिर्जना भएकाले विद्यार्थीहरू आईटी पढ्नुपर्नेमा शर्माको जोड छ । प्रविधि अध्ययनमै आफ्नो भविष्य खोज्ने हो भने विद्यार्थीहरूले त्यसबारे धेरै/थोरै जान्नु आवश्यक छ । नयाँ पुस्तामाझ अहिले सानैदेखि प्रविधिसँग परिचित हुन थालिसकेका छन् । प्रविधिमा विद्यार्थीहरूको रुचि बढोस्, प्रयोग गर्न जानुन् भनेर सरकारले विद्यालय तहको पाठ्यक्रममै कम्प्युटर विज्ञान समावेश गरेको छ ।

कस्ता कस्ता छन् आईटीका कोर्ष ?

नेपालमा आईटी कोर्ष विभिन्न छन् । स्वदेशी तथा विदेशी विश्वविद्यालयका कोर्ष नेपालमा पढाइ हुने गरेका छन् ।  अहिले नेपालमा स्वदेशी तथा विदेशी विश्वविद्यालको सम्बन्ध प्राप्त कलेजहरुमा यो कोर्ष पढाई हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, बेलायतको कोभेन्ट्री विश्वविद्यालय, एशिया ई विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालबाट सम्बन्धनन लिएर आईटीका कोर्ष सञ्चालन हुँदै आएका छन् ।

नेपालमा स्नातकमा बीएससी सीएसआईटी, बीआईटी, बीसीए, कम्प्युटर इन्जिनियरिङ, बीसीआईएस, एआई, साइबर सेक्युरिटी, सफ्टवेयर इन्जिनियरिङ, डेटा साइन्स, क्लाउड इन्जिनियरिङ लगायतका कोर्सहरू पढाइ हुँदै आएका छन् । सरकारी कलेजमा शुल्क सस्तो भएपनि निजी संस्थामा भने सेवा सुविधा अनुसार शुल्कको निर्धारण गरिएको हुन्छ ।

\"\"

नेपालमा आईटीका विभिन्न कोर्षहरु पढाइ हुने र विद्यार्थीले आफ्नो चाहना अनुसार पढ्न सक्ने सुब्बाको धारणा छ । आईटीमा पनि धेरै कोर्षहरू छन् । विद्यार्थीहरू आफुले मन पर्ने क्षेत्र अनुसारको विषय पढ्न सक्छन् । शर्माका अनुसार आईटी क्षेत्रमा धेरै कोर्षहरु छन् तर विद्यार्थीले आफूलाई मन पर्ने कोर्ष छानेर, बुझेर पढ्नुपर्छ ।

रोजगारीका अवसर कस्ता हुन्छन् ?

आईटी पढेपछि स्वदेश तथा विदेशमा रोजगारीका अवसरै अवसर छन् । आईटी भनेको सीपमा आधारित शिक्षा हो । तपाईसँग सीप भयो भने जहाँ पनि रोजगारी पाइन्छ । नेपालमा समेत आईटीको स्कोप बढ्दो छ ।

नेपालका हरेक क्षेत्र डिजिटलाइज हुँदै छन् । त्यसकारण नेपालमा समेत सूचना प्रविधि दक्ष जनशक्तिको माग हरेक क्षेत्रमा बढ्दै गएको छ । स्वदेश तथा विदेशमा आईटी क्षेत्रमा पर्याप्त अवसर रहेको जानकारहरू बताउँछन् ।

आईटीमा वेब डिजाइनिङ, युआई/युएक्स डिजाइनर, डेटा साइन्टिष्ट, डेटा एनालिष्ट, सिस्टम एनालिस्ट, सिस्टम एड्मिनिस्ट्रेटर, सिस्टम म्यानेजर, प्रोजेक्ट म्यानेजर, सफ्टवेर प्रोग्रामर, डेटाबेस डिजाइनर, डेटाबेस एड्मिनिस्ट्रेटरमा काम गर्न सकिन्छ ।

यस बाहेक डिजिटल मार्केटर, नेटवर्क एड्मिनिस्ट्रेटर, ग्राफिक्स डिजाइनर, वेब डेभलपर, आईटी अफिसर, सफ्टवेयर, इन्जिनियर, इन्फरमेसन सेक्युरिटी एनालिस्ट, इन्फरमेशन सिस्टम अडिटर, क्रिप्टोग्राफर, क्लाउड इन्जिनियर, एप्लिकेशन डेभलपर, टेलिकम्युनिकेशन इन्जिनियर, सफ्टवेर क्यालिटी अस्युरेन्स इन्जिनियर, टेक्निकल कन्टेन्ट राइटर, आईटी कन्सल्टेन्टको रुपमा काम गर्न सकिन्छ ।