कीवर्डहरू -

कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि उपयोगी डिजिटल लर्निङ प्लेटफर्म ‘मेरो शिक्षा’

कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि उपयोगी डिजिटल लर्निङ प्लेटफर्म ‘मेरो शिक्षा’

पछिल्लो समय विद्यार्थीहरु किताब पढ्नभन्दा पनि भिडियो हेरेर बुझ्न रुचाउँछन् । या भनौं डिजिटलाइज भएका छन् ।

समयको परिवर्तनसँगै अहिले हरेक क्षेत्र डिजिटल हुँदैछन् र सबैको हात हातमा डिजिटल डिभाइस पुग्दै छ । विस्तारै शिक्षा क्षेत्र पनि डिजिटल हुँदैछ ।

कोरोनाको सयमा धेरै विद्यार्थीहरु विद्यालय जान पाएनन् । त्यस बेला विद्यार्थीका लागि पढ्ने एक मात्र विकल्प भनेको डिजिटल शिक्षा थियो ।

कोरोना समयमा डिजिटल शिक्षाका लागि काम गर्ने धेरै स्टार्टअपहरूको जन्म भयो । त्यस मध्येक एक थियो, मेरो शिक्षा

कसरी सुरु भयो  मेरो शिक्षा ?

करिब ४ वर्ष अगाडि कोरोना महामारी सुरु भयो । कोरोना संक्रमणको डरले कलेज तथा  विद्यालयका पढाइ ठप्प भए र डिजिटल शिक्षा बढ्दै गयो । त्यही समयमा दिपिन विश्वकर्माको ९ जनाको समूहले विद्यार्थीलाई सहज हुने ढंगले मेरो शिक्षा नामक लर्निङ एप सञ्चालन गर्ने सोच बनायो ।

मेरो शिक्षा बुढानिलकण्ठ विद्यालयमा पढेका केही साथीहरुले मिलेर सञ्चालन गरेको हो । सुरुवाती दिनमा धेरै गाह्रो भएको थियो । मेरो शिक्षाका सुरूवती समयमा धेरै चुनौतीहरू भोग्नु परेको मेरो शिक्षाका सिईओ दिपिन विश्वकर्माले बताए ।

‘सुरूवाती दिनमा धेरै गार्‍होभएको थियो । सुरुमा विद्यार्थीलाई निःशुल्क चलाउन पनि दिएका थियौं,’ उनले भन, ‘त्यसपछि विस्तारै विद्यालयहरूलाई बिक्री गर्न थालेको हौं ।’
मेरो शिक्षा सुरू गर्नुभन्दा अगाडि बुढानिलकण्ठका पूर्व विद्यार्थीहरु मिलेर नै बुढानिलकण्ड एजुकेसन सर्भिस ट्युसन प्लेटफर्म चलाइरहेका थिए । तर त्यही समूहले शिक्षा क्षेत्रमा केही नवीन गर्नु पर्छ भन्ने उद्देश्यसहित मेरो शिक्षा सुरू गरेको हो ।

मेरो शिक्षाको टिमले काम गर्दै गर्दा कोरोना पनि सुरु भयो, जब कोरोना सुरु भयो के गर्ने भन्ने अन्यौलमा पर्न थाले  । अन्ततः मेरो शिक्षा सञ्चालन गर्नुपर्छ भन्ने सबै टिमको जोडले सुरू भएको हो ।

विश्वकर्मा आँफै पनि विदेशमा पढेका हुन् । नेपालमै केही गरौं न भन्ने सोचका साथ स्वदेश फर्किएका विश्वकर्मा बताउँछन् । ‘आफ्नै देशमा केही गरौं भन्ने उद्देश्यले नेपाल फर्किए ।  विदेशमा पढ्दै गर्दा उत्तै पनि काम गर्न सक्थे होला,’ उनले आइसिटी समाचारसँग भने, ‘विदेशमा पढेको कुरा नेपालमा लागु नगर्ने हो भने पढेको के काम ? त्यसैले साथीसँग मिलेर मेरो शिक्षा सुरू गर्‍यौं ।’

विद्यार्थीले के पढिरहेको छ भन्दा पनि के सिकिरहेको छ भन्ने पक्ष महत्वपूर्ण हुने उनको भनाइ छ । मेरो शिक्षाले  विद्यार्थीलाई बुझाउन नै कोशिस गरिरहेको छ । उनी भन्छन्, ‘मेरो शिक्षा विद्यार्थी र शिक्षकको असिष्टेन जस्तै भएको छ ।’

मेरो शिक्षा के हो ?

करिब ४  वर्ष अघि स्थापना भएको मेरो शिक्षा एक डिजिटल लर्निंङ प्लेटफर्म हो । विद्यार्थीहरूलाई नयाँ र अन्तरक्रियात्मक अध्ययन र अभ्यास सामग्री, भिडियो लाइब्रेरी र अन्य डिजिटल सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

वेबसाइट र मोबाइल एप दुबै माध्यमबाट मेरो शिक्षा प्रयोग गर्न सकिन्छ । मेरो शिक्षामा नेपाली र अंग्रेजी दुवै तरिकाको पाठ्य सामाग्री उपलब्ध छन् । कक्षा ५ देखि कक्षा १२ सम्मका पाठ्य सामाग्रीहरु रहेको मेरो शिक्षाका सिनियर आउटरिच हेमराज एैडेको भनाइ छ ।

‘मेरो शिक्षामा विद्यार्थीहरु प्रवेश गरिसकेपछि नेपाली, अंग्रजी, विज्ञान वा कुनै पनि (५ देखि १२ सम्मका विषय) आफुलाई मन परेको विषयवस्तु पढ्न र हेर्न सक्छन्,’ उनी सुनाउँछन्,  ‘पढिसकेपछि विद्यार्थीहरू आफै पनि कति जाने भनेर सो मूल्यांकन पनि गर्न सक्छन् ।’

मेरो शिक्षामा गइन गरेपछि मन परेको विषय पढ्न सक्छन् भने प्रश्न उत्तर गर्न सक्छन् । प्रश्न उत्तर गर्दा इजिक्विजबाट सुरु हुन्छ । विस्तारै सजिलो बाट मध्यम हुँदै अप्ठ्यारा प्रश्नतर्फ लाग्छन् । उत्तर लेखिसकेपछि विद्यार्थी आफ्नो उत्तर मिल्यो-मिलेन भनि हेर्न समेत सक्छन् ।

यसका साथै विद्यार्थीहरुले त्यहाँ विभिन्न प्रश्नहरु पनि सोध्न सक्छन्, जसको उत्तर आधा घण्टापछि मेरो शिक्षा टिमले दिने गर्दछ । लेख्नलाई गाह्रो मान्ने विद्यार्थीले भने फोटो खिचेर प्रश्न सोध्न मिल्ने खालको फिचर समेत एपमा राखिएको एैडे बताउँछन् ।

मेरो शिक्षा नै किन ?

बजारमा पछिल्लो समय धेरै अनलाइन लर्निङ प्लेटफर्म उपलब्ध छन् । मेरो शिक्षा जस्ता अरु पनि थुप्रै लर्निङ एपहरु छन् । अरु भन्दा मेरो शिक्षा किन फरक छ ? भन्ने हाम्रो प्रश्नमा ऐडे भन्छन्, ‘कोर्ष, शैली, फिचर र शुल्कको आधारमा अन्य डिजिटल लर्निङ प्लेफर्मम भन्दा फरक छौं ।’

लोकसेवाको कोर्ष थप्ने तयारी

कुनै पनि स्टार्टअप सुरू गर्दा अनेकौ चुनौतीसँग जुध्नु पर्छ । मेरो शिक्षा सञ्चालन गर्दा समस्या नआएका होइनन् । अनकौ ठक्कर खाँदै मेरो शिक्षा अहिलेको स्थितिसम्म आइपुगेको हो ।

काम गर्दा सुरुवाती दिनमा धेरै कठिन परिस्थिती आएको सिइओ विश्वकर्माले बताए । अहिले मेरो शिक्षाले विभिन्न विद्यालय र काठमाडौं महानगरसँग पनि सहकार्य गरेको छ । सहकार्य गरेर अगाडि बढेको अगाडि बढेको सरकारी शिक्षक तथा विद्यार्थीको प्रतिक्रियाबाट मेरो शिक्षा हौसिएको छ ।

त्यसैअनुसार अब मेरो शिक्षामा लोकसेवा तयारी कक्षा राख्ने समेत योजना छ । लोकसेवाको तयारी गर्न सक्ने फिचर समेत थप्ने योजना रहेको एैडे बताउँछन् । ‘हाम्रो योजना भनेको गाउँ गाउँ पुग्ने हो । अहिले देशका अधिकांश ठाउँमा इन्टरनेट पुगेको छ,’ उनी भन्छन्, ‘इन्टरनेट नपुगेको ठाउँलाई ध्यानमा राख्दै अफलाइन सुविधाको समेत योजना छ । त्यति मात्र नभएर लोक सेवा आयोगको पनि मेरो शिक्षाबाटै तयारी गर्न मिल्ने बनाउने तरखरमा छौं ।’

एपबाट परीक्षाको तयारी गर्न सहज भएको विद्यार्थीहरुले प्रतिक्रियया दिँदै आएका छन् । मेरो शिक्षाबाट परीक्षाको तयारीमा लागेका र कलेज तथा स्कुल नियमित जान नपाएका विद्यार्थीहरुलाई सहज भएको छ ।

मेरो शिक्षामा हालसम्म ८० हजारभन्दा बढी विद्यार्थी जोडिसकेका छन् । मेरो शिक्षाले नेपालका सबै विद्यार्थीहरुका लागि गुणस्तरीय र समतामूलक शिक्षा प्रदान गरेर नेपालमा शैक्षिक अनुभव बढाउने र सहज बनाउने लक्ष्य राखेको छ । यो एपमा छिट्टै नै विभिन्न फिचरहरू थप्दै लैजाने कम्पनीको जनाएको छ ।

कति लाग्छ शुल्क ?

मेरो शिक्षामा कक्षाको तह अनुसार शुल्क निर्धारण गरिएको छ । विद्यार्थीलाई मर्का नपर्ने शुल्क पनि सस्तो नै छ ।

मेरो शिक्षामा अध्ययन गर्नको लागि कक्षा ५ र ६ का लागि समान शुल्क एक वर्षको ५५० रूपैयाँ लाग्छ भने कक्षा ७ का लागि १ हजार ८० रूपैयाँ, कक्षा ८ का लागि १ हजार ६८० रूपैयाँ, कक्षा ९ का लागि २ हजार १६० रूपैयाँ, कक्षा १० र ११ का लागि २ हजार ७०० रूपैयाँ, कक्षा १२ र ए लेभल कोर्षका लागि ३ हजार २४० रूपैयाँ तथा ब्रिज कोर्षका लागि २ हजार ७०० रूपैयाँ शुल्क तोकिएको छ ।