कीवर्डहरू -

‘क्यानमा गुटबन्दी आउन दिन्न, सबैलाई समान अवसर र उचित भूमिका दिनेछु’

‘क्यानमा गुटबन्दी आउन दिन्न, सबैलाई समान अवसर र उचित भूमिका दिनेछु’

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को नेतृत्वमा नवराज कुँवर निर्वाचित भएका छन् । मंसिर ७ गते शनिवार भएको क्यानको २६औं वार्षिक साधारणसभा एवं १३औं कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन् । पाण्डेलाई करिब १३ प्रतिशत मतले पराजित गर्दै पाण्डेले विजय हासिल गरेका हुन् । कुुँवरले ५६.१० प्रतिशत मत हासिल गरे । पाण्डेले ४३.९० प्रतिशत मत ल्याइन् । क्यानमा लामो समयदेखि विभिन्न पद र जिम्मेवारीमा रहेर काम गरेका कुँवरले उपत्यकाबाहिर संगठनलाई लैजान अभियान सञ्चालन गरेका थिए । उनी उपत्यका बाहिर तत्कालिन क्यान लुम्बिनी गठन गरि त्यस मार्फत् केन्द्रिय कार्यसमितिमा पर्यवेक्षक सदस्य हुँदै संघको केन्द्रीय समिति सदस्य, प्रथम उपाध्यक्ष र महासंघमा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षकाे भूमिकामा थिए :

क्यान महासंघले तपाईंको नेतृत्व पाएको छ । यो जितलाई कसरी लिनुभएको छ ?
यो सबै सदस्यहरुले ममाथि देखाएको विश्वास हो । मैले जसरी लामो समयसम्म क्यानमा बिताएँ, सदस्यहरुले मलाई नजिकबाट नियाल्ने र मूल्यांकन गर्ने मौका पाउनुभएको थियो । र, नवराज कुँवरले संगठनको नेतृत्व लिँदा समग्र जिल्ला र केन्द्रको समेत हितमा काम गर्छ, केन्द्र र जिल्लामा रहेको खाडल पूरा गर्न सक्छ, क्यानलाई दिशानिर्देश दिन सक्छ भन्ने हिसाबले नै मतदाताले मलाई मत दिनुभएको हो । यो मतलाई सम्मान गर्दै मेरो कार्यकालमा मैले जति प्रतिबद्धता व्यक्त गरेको छु, ती प्रतिबद्धताहरुलाई पूरा गर्न टिम बलियो बनाउनेछु ।

क्यानभित्र केन्द्रदेखि जिल्ला शाखासम्म प्रस्ट २ समूह देखियो । संगठनभित्र गुटबन्दी जारी भइरहने हाे भने कार्यसम्पादनमा समस्या आउला नि ?
चुनावको दिनसम्म यताको र उताको टिम भन्ने रहेको थियो । अब सबै मेरो टिम हो । सबै टिमलाई एउटा धागोमा फुलका गुच्छा गाँसेझै गाँसेर म अघि बढ्नेछु । जुनसुकै पक्षबाट जितेर आए पनि चुनावलाई बिर्सेर पदाधिकारी छनौट गर्ने सन्दर्भ होस् या अन्य कार्यविभाजनका विषय होस्, दुवै पक्षका साथीहरुलाई सँगै राखेर क्यान एउटै छ भन्ने सन्देश दिन खोजेको छु ।

चुनावको दिनसम्म यताको र उताको टिम भन्ने रहेको थियो । अब सबै मेरो टिम हो । सबै टिमलाई एउटा धागोमा फुलका गुच्छा गाँसेझै गाँसेर म अघि बढ्नेछु ।

२ वर्षको लागि तपाईंको कार्यकाल सुरु भइसकेको छ । अब क्यान कसरी अघि बढ्दै छ ?
तत्कालै नजीक आएको कार्यक्रम हो, इन्फोटेक । अब २ महिना मात्रै बाँकी छ । पहिलो काम हामी इन्फोटेकलाई सफल बनाउनतर्फ लाग्छौं । त्योसँगै सबै सदस्यलाई जिम्मेवारी दिएर, विभिन्न ठाउँमा खटाएर सबैतिर क्यानलाई लैजान खोजेको छु । २ वर्षको अवधिमा पनि थुप्रै काम गर्न सकिन्छ भन्ने सन्देश दिनेछौं । ३ दिन बितिसक्यो । प्रत्येक दिनको काउन्टडाउन हुनेछ । हामी हरेक दिन सदुपयोग गर्नेछौं । पदाधिकारी फिक्स भएलगत्तै क्यान इन्फोटेकका लागि जुट्छौं । योसँगै हाम्रा अन्य कार्यक्रम पनि जारी राख्नेछौं । चुनावमा गरेका प्रतिबद्दताअनुरूप नै सबै साथीहरूसँग समझदारीमा याेजनावद्द रूपले काम ल्याउने छाैं ।

पुरानो कमिटीले अघि सारेका योजनाहरुको सन्दर्भमा कार्यान्वयन कसरी गर्नुहुन्छ ?
पुरानो कमिटीको मुख्य एजेन्डा भनेका २ ओटा छन् । एउटा क्यानलाई स्थायी बिल्डिङको व्यवस्था गर्ने सन्दर्भमा छ । त्यसलाई मैले पूर्ण रुपमा कार्यान्वयन गर्ने योजना ल्याएको छु । त्यस्तै निवर्तमान अध्यक्ष हेमन्त चौरासियाज्यूले क्यानलाई स्मार्ट क्यान र पेपरलेस बनाउने योजना सुरु गर्नुभएको थियो, त्यसलाई मेरो कार्यकालमा पूर्णता दिनेछु । विश्वबजारमा भएका आइसिटीलाई नेपालमा भित्र्याउन अन्तर्राष्ट्रिय सेमिनार गर्ने भनेका छौं । यसलाई पनि उपयुक्त समय हेरेर गर्नेछौं ।

क्यानका ५७ जिल्ला शाखा भए पनि अधिकांश जिल्ला शाखाहरु निष्क्रिय छन् । यसका लागि कसरी काम गर्ने योजना ल्याउनुभएको छ ?
हामीले यो वर्षमात्रै सबै प्रदेश क्यानमा सचिवको पद थपेका छौं । सचिव पदमार्फत सबै जिल्लाहरुलाई सक्रिय बनाउन सहज होस् भन्ने अभिप्राय हो हाम्रो । हामीलाई सबै जिल्लाको राय लिन र त्यस अनूकुल कार्यक्रम ल्याउन सहयोग पुग्ने विश्वास छ । प्रदेश र जिल्लातहमा सदस्यता वितरणदेखि हरेक क्रियाकलापलाई सशक्त र प्रभावकारी बनाउन हामीले काम गर्नेछौं ।

क्यानले राज्यसँग नीतिगत तहमा रहेर कसरी समन्वयकारी भूमिका खेल्नेछ ?
यो पाटोमा पनि मैले योजना बनाएको छु । सरकारी क्षेत्रबाट हुने आइसिटी सबन्धी कामहरुमा हामी होतमोलो गर्छौं । सरकारका सूचना प्रविधि सम्बन्धमा जति पनि लक्ष्य र योजनाहरु रहेका छन् त्यसकाे कार्यान्वयनमा क्यानकाे विशेष भूमिका रहने छ । सूचना प्रविधिका व्यवसायीहरुलाई अघि बढ्नका निम्ति के कस्ता अप्ठ्यारा परेका छन्, त्यस सन्दर्भमा हामी सरकारसँग बसेर काम गर्नेछौं । निजी क्षेत्र र सरकारको सहकार्यले मात्रै यो क्षेत्रको विकास हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।