कीवर्डहरू -

विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने

विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने

नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले उच्च शिक्षाका लागि विदेशी भूमिमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्नका लागि आपतकालीन फारम http://tiny.cc/dengmz मार्फत समस्या दर्ताको शुरुवात गरेको छ।

विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्ने अवस्थालाई ध्यानमा राख्दै इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’को शुरुवात गरेको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए।

‘कोरोना भाइरसका कारण दुःख पाएका विद्यार्थीहरुलाई खाना, बस्न र स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या समाधानको पहल गर्न फारम बनाइएको हो, जहाँ विद्यार्थीले आफ्ना समस्या दर्ता सक्छन्,’ पाण्डेले भने ।

उनका अनुसार संसारका कुनै पनि देशमा भएका विद्यार्थीहरुले आफ्नो समस्या फारममा दर्ता गर्न सक्छन्। उनीहरुका समस्या समाधानका लागि नेपाल सरकार शिक्षा मन्त्रालय, सम्बन्धित देशका दूतावास, एनआरएनए, नेपाल स्थित परामर्श संघहरु, सम्बन्धित देशमा रहेका परामर्श संघ, कन्सलटेन्सी तथा विभिन्न संघ संस्थासँग सहकार्य गरी सहयोग गरिनेछ।

इक्यानले ती विद्यार्थीमा परेको समस्या समाधानमा के गर्न सकिन्छ भन्ने विषयमा शिक्षा मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको समेत पाण्डेले जानकारी दिए।

शिक्षामन्त्रालयसँगको छलफलमा विदेशमा रहेका विद्यार्थीलाई आवश्यक परेमा नेपालबाट अभिभावकले कसरी पैसा पठाउने र कतिसम्म पठाउन सकिने विषयमा समेत छलफल भइरहेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था गरिसकेको छ।

सो रकमलाई हालको महामारीको अनत्य नभएसम्म प्रति महिना १००० अमेरिकी डलर बनाउन मन्त्रालयलाई अनुरोध गरिएको छ।

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यार्थीहरुलाई कुनै पनि प्रकारको समस्या नहोस भन्ने उद्देश्यले समस्या समाधान गर्नु पहिलो कर्तव्य भएकाले इक्यानले अग्रसरता लिएको छ।

जसमा विद्यार्थीले इक्यानले बनाएको रजिष्ट्रेसन फारममा http://tiny.cc/dengmz आफ्ना सम्पूर्ण विवरण भरेर आफूलाई परेको समस्याबारे जानकारी दिन सक्छन्।

कोरोना भाइरसका कारण हाल विश्वका एक तिहाइ मानिसहरु लकडाउनमा छन् । जसले गर्दा सम्पूर्ण कारोबार सुस्त हुँदा त्यसको असर सम्पूर्ण अर्थतन्त्रमा परेको छ ।

जसले गर्दा विदेशमा रहेको विद्यार्थीलाई समेत असर परेको छ। हाल सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनरत छन् भने भारत, जापान, अमेरिका, न्यूजिल्याण्डसँगै युरोपका धेरै देशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

यस विषम परिस्थितिमा इक्यानले कोरोना भाइरसको महामारीले आक्रान्त पारेको सबैलाई धैर्य धारण गर्दै संक्रमणबाट जोगिन र सचेत हुन समेत अपिल गरेको छ ।