कीवर्डहरू -

\'अपाङ्ग व्यक्तिका लागि सहज पहुँच र समावेशी आइसिटी\' विषयक प्रि-ह्याकथन कार्यक्रम सम्पन्न

\'अपाङ्ग व्यक्तिका लागि सहज पहुँच र समावेशी आइसिटी\' विषयक प्रि-ह्याकथन कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि भन्ने विषयमा राजधानीमा २ दिने प्रि ह्याकथन इभेन्ट सम्पन्न भएको छ । 

श्रीलङ्कास्थित एसिया तथा प्रशान्त तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था लर्न एसियाको आयोजना एवं फोर्ड फाउन्डेशनको प्रायोजन तथा अपाङ्गताका लागि महिला समूह, सेन्टर फर ल एण्ड टेक्नोलोजी र इन्टरनेट सोसाइटी नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रमको पहिलो दिन विभिन्न अन्तर्राष्ट्रिय विज्ञहरुले अपाङ्ग भएका व्यक्तिहरुका लागि सहज पहुँच र समावेश आइसिटीको क्षेत्रमा भएका अभ्यास र अनुभवबारे जानकारी दिएका थिए ।

यसअन्तर्गत लर्न एसियाका संस्थापक अध्यक्ष रोहन समरजिवाले कार्यक्रमको आवश्यकताबारे बोल्दै सूचना प्रविधिमा अपाङ्ग व्यक्तिहरुको पहुँच र समावेशिताको लागि सम्बन्धित सरोकारवालाको सहभागितामा विकास गरिएको प्रविधिले मात्र समस्याको समाधानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघका पुर्वअध्यक्ष डा. विरेन्द्रराज पोखरेल, भारतस्थित पब्लिसिस संस्थाका दिनेश कौशल, अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियनकी सल्लाहकार निर्मिता नरसिंह, म्यानमारस्थित आइसिटी फोरडीकी अभियन्ता ताई ताईलगायतले आफ्नो  रिसर्च पेपर प्रस्तुत गरेका थिए । 

प्रि ह्याकथन इभेन्टमा १० कलेजका १० टिमले फरक फरक आइडिया प्रस्तुत गरेका थिए । यी आइडियामा आधारित रहेर विज्ञहरुले आफ्ना प्रतिक्रिया दिएका थिए । अपाङ्गगता भएका व्यक्तिहरुलाई सरल र सहज पहुँच र समावेशी आइसिटीका लागि मोबाइल सोलुसन्स, ट्रयाकिङ सिस्टम, इन्टरनेट अफ थिङ्गस, एआई सोलुसन्स लगायत फरक फरक आइडिया प्रस्तुत भएको थियो । यी आइडियामा खोज र अनुसन्धान गरी वैशाख १५ र १६ गते फाइनल ह्याकथन हुने जनाइएको छ ।