कीवर्डहरू -

दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ

दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ

८५ कम्पनीको डाटा चोरी गरी क्षति पुर्याएको आरोपमा क्लाउड नेपाल आइटी नामक कम्पनीका सञ्चालक कमल पाठकलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ ।

काठमाडौंको बानेश्वरस्थित सफ्टवेयर कम्पनी ई–जोन इन्टरनेश्नलमा यसअघि कार्यरत रहेका पाठकले आफू कार्यरत रहँदाको युजर नेम र पासवर्ड प्रयोग गरी डाटा चोरी गरेको पाइएको इजोनका संचालक दामोदर अधिकारीले जानकारी दिए । चैैत १ गतेदेखि जागिर छोडेका पाठकले चैत १६ गते अनधिकृत रुपमा सिस्टममा प्रवेश गरी तथ्यांक चोरी गरेको अधिकारीको भनाइ छ ।

उनले महानगरीय प्रहरी अपराध महाशाखामा पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५ र ४६ समेतको कसुर हुने गरी जाहेरी दरखास्त गरेका छन् । सो दरखास्तमा उनले डाटा अनधिकृत रुपमा प्रयोग गरी क्षति पुर्याएको सम्बन्धमा पर्याप्त प्रमाण समेत पेश गरेका छन् ।

उनले ई–जोनले विकास गरेका सफ्टवेयरहरुहरुमा ग्राहकहरुले लगइन हुन नसकेको खबर गरेपछि जाँचबुझ गर्दा ग्राहकहरुको सफ्टवेयरको डाटा मेटिई लग इन गर्न नसकिने भएको देखाइएको जानकारी दिए । ‘चैत १६ गते विहान ५ बजेर ४९ मिनेट जादादेखि ६ बजेर ११ मिनेट जाँदासम्ममा पाठकले ८५ वटा हाम्रा ग्राहकको खासखास डाटा मेटाइदिनु भएको रहेछ, अनि हामीले प्रहरीमा जाहेरी दिएका हौं,’ अधिकारीले भने ।

पाठकले पनि डाटामा अनधिकृत पहुँच राखेको स्वीकारेका छन् ।