कीवर्डहरू -

बन्द हुने स्थितिमा थ्रीजी सेवा, एक वर्षमै घटे ६३ लाख ग्राहक

बन्द हुने स्थितिमा थ्रीजी सेवा, एक वर्षमै घटे ६३ लाख ग्राहक

नेपालमा थ्रीजी सेवा प्रयोग गर्नेको संख्या लगातार घटिरहेको देखिएको छ । एक वर्षको अवधिमै थ्रीजी प्रयोग गर्नेको संख्या ६३ लाखले घटेको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ माघसम्मको तथ्यांक अनुसार नेपालमा ९ लाख २० हजार ८६१ मात्रै थ्रीजी प्रयोगकर्ता छन् । 

जबकी २०८० माघसम्म थ्रीजी प्रयोगकर्ता ७२ लाख २३ हजार १८९ थिए । थ्रीजी प्रयोग गर्ने ग्राहक लगातार घट्न थालेपछि सेवा प्रदायक बन्द गर्ने विकल्पमा पुगेका छन् । 

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यसैवर्षदेखि थ्रिजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । एनसेलका १ लाख ३८ हजार ५६१ थ्रीजी प्रयोगकर्ता रहेका छन् । 

यता नेपाल टेलिकमका पनि ७ लाख ८२ हजार ३०० मात्रै थ्रीजी ग्राहक छन् । यद्यपी टेलिकमले भने थ्रीजी बन्द गर्ने घोषणा गरिसकेको छैन् । 

टुजी प्रयोगकर्ता पनि घट्दै

दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०८१ माघसम्म टुजी प्रयोगकर्ता ३२ लाख ६५ हजार ४०१ रहेका छन् । 

जबकी २०८१ पुससम्म ३३ लाख ६२ हजार २९६ रहेका थिए । एक महिनाको अवधिमै करिब १ लाख टुजी प्रयोगकर्ता घटेका छन् । 

यद्पी टुजी प्रयोगकर्ता बढ्ने घट्ने क्रम निरन्तर चलिरहेको छ । २०८१ वैशाखसम्म टुजी प्रयोगकर्ता १४ लाख ७१ हजार थिए । त्यो संख्या गत असोजमा आउँदा ५९ लाख पुगेको थियो । 

नेपाल टेलिकमले पनि यसैवर्षदेखि १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । शहरमा भन्दा पनि गाउँमा टुजी सेवा बढी प्रयोग हुँदै आएको छ ।

विश्व फाइभजीमा पुगिसकेको छ । विश्वका धेरै देशले टुजी, थ्रीजी सेवा बन्द गरेर फोरजी, फाइभजी प्रविधिमा गइसकेका छन् । नेपालका सेवा प्रदायक पनि त्यसतर्फ अग्रसर भइरहेका छन् ।