कीवर्डहरू -

१७ अर्बमा बिक्रि भयो युटिएल

१७ अर्बमा बिक्रि भयो युटिएल

युनाइटेड टेलिकम (युटिएल )सँग रहेको सम्पूर्ण सेयर नेपालका ६ वटा ठुला ब्यबसायीक गुपले खरिद गरेका छन् । भारत सरकारको बहुमत सेयर भएको युनाइटेड टेलिकमले नेपाली ग्रुपलाई सम्पूर्ण सेयर बेचेर बाहिरिने निर्णय गरेको हो ।

युटिएलको सम्पूर्ण सेयर नेपालका बिशाल ग्रुप,जावलाखेल ग्रुप,प्रभु ग्रुप,ज्योति ग्रुप,आइएमएस ग्रुप र उपेन्द्र महतो समुह गरेर ६ वटा समुहले खरिद गर्ने सम्झौता भएको हो । युटिएलमा  भारतीय सरकारको महानगर टेलिफोन निगम लिमिटेडको २६ दशमलव ६८ प्रतिशत, भारत सरकारकै टेलिकम्युनिकेसन कन्सल्ट्यान्टस इन्डिया लिमिटेडको २६ दशमलव ६६ प्रतिशत र भारतीय कम्पनी टाटा कम्युनिकेसन्स लिमिटेडको २६ दशमलव ६६ प्रतिशत लगानी रहेको थियो । साथै यसअघि पनि सो कम्पनिमा उपेन्द्र महतोको २० प्रतिशत तथा नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर थियो ।

नयाँ सेयर संरचनामा उपेन्द्र महतो समूहको ४० प्रतिशत र अन्य ५ ग्रुपको ६० प्रतिशत सेयर रहने नेपाली साझेदारबीच पनि सम्झौता भइसकेको र तत्काल १७ अर्ब नेपाली रुपैँया लगानीमा नयाँ ग्रुपले युटिएल खरिद गर्न लागेको युटिएलका उच्च व्यवस्थापकले बताएका छन् । भारत सरकारसँग गरिने काम सबै सकिएपछि नेपालमा सेयर हस्तान्तरण हुने र सरकारलाई बुझाउने कर तथा दायित्व बुझाउने यूटीएलले बताएको छ ।

नेपालमा १६ वर्षअघि स्थापना भएको यूटीएल सुरुदेखि नै घाटामा रहँदै आएको छ । यूटीएलले गत वर्षको भदौमा दूरसञ्चार सेवाको एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) लिएको थियो । यूटीएलले किस्ताबापतको २० करोड रुपैयाँ चुक्ता गरेपछि प्राधिकरणले लाइसेन्स दिएको हो । सरकारले त्यसको ४ वर्षअघि नै एकीकृत लाइसेन्स दिने निर्णय गरेको थियो ।

हाल यूटीएलले नेपालको ४० जिल्लाका करिब १ सय १० प्रमुख सहरमा ‘लिमिटेड मोबिलिटी’ प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ । एकीकृत लाइसेन्स लिएको यूटीएलले नयाँ व्यवस्थापनपछि सबै खाले सेवा दिने जानकारी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ५ लाख २६ हजार ८ सय ६९ जना यूटीएलका भ्वाइस सेवा र ६३ हजार डाटा सेवा लिने ग्राहक छन् ।श्रोत :क्यापिटल नेपाल