कीवर्डहरू -

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय र अस्पतालहरुलाई नेपाल टेलिकमको सहयोग

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय र अस्पतालहरुलाई नेपाल टेलिकमको सहयोग

नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ ।

कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक ÷ एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोशी अञ्चल अस्पताल विराटनगर , नारायणी अञ्चल अस्पताल वीरगञ्ज , भक्तपुर क्यान्सर अस्पताल , भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५/२५ थान कम्बल उपलब्ध गराएको हो ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम रहेको कम्पनिले जनाएको छ । यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय बासिन्दालाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठलाई कम्बल हस्तान्तरण गरिन् । सो अवसरमा राजभण्डारीले कम्पनीले आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पार्न सकिने बताइन् ।

टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले भक्तपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालय आईसीटी सेन्टरको शुभारम्भ गरिन् । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर , ५ थान वेब क्याम , ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ ।

सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन , वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा  निःशुल्क उपलब्ध गराएको छ ।