कीवर्डहरू -

ट्याक्सीलार्इ ‘अनलाइन बुकिङ’र ‘मिटर बिलिङ’अनिवार्य गर्ने यातायात व्यवस्था विभागको तयारी

ट्याक्सीलार्इ ‘अनलाइन बुकिङ’र ‘मिटर बिलिङ’अनिवार्य गर्ने यातायात व्यवस्था विभागको तयारी

सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने तयारी गरेको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो ।

राजधानीमा अधिकांश ट्याक्सीले अझै पनि आफूखुसी भाडा असुल्ने प्रचलन बढेको कारण सरकारले ट्याक्सीहरुलाई कडाइ गर्ने नीति लिएको हो ।

सरकारले यसअघि नै ट्याक्सीमा बिलिङ मेसिन जडान गर्ने र यात्रुहरुलाई बिल दिनु पर्ने व्यवस्था अनिवार्य गरेको थियो तर अधिकांश ट्याक्सीहरुले ट्याक्सीमा बिलिङ मेसिन जडान गरेका छैनन् ,

यात्रुहरुलाई सरल तथा तोकिएको भाडामा यात्रा गर्ने वातावरण तयार गर्नका लागि ट्याक्सी सेवामा सुधारको योजना तयार गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

साथमा ट्याक्सी व्यवसायीलाई अनलाइन सर्भिस बुकिङ सिस्टममा जान अनिवार्य गरिने समेत विभागले बताएको छ ।

'ट्याक्सी' फरक फरक रंगमा लेखिएका कारण यात्रुहरु झुक्कीने समस्या भएका कारण एकरुपता ल्याउनका लागि पहेंलो रंगमा 'ट्याक्सी' लेख्न अनिवार्य गरिनेछ र चालकहरुलाई पोशाक समेत तोकिने छ ।

धेरै ट्याक्सीले मिटरमा जान मान्दैनन् यसकारण मिटर बिलिङलाई प्रभावकारी बनाउन कडाइ गरिने र साथै  अनलाइन बुकिङ सिस्टम लागू गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

अहिले सारथी , इडी क्याब , अनभर लगायत केही निजी कम्पनीले अनलाइन बुकिङको सेवा दिइरहेका छन् । तर , थोरै मात्र ट्याक्सी भएकाले भनेको बेला पाउन मुस्किल छ ।