कीवर्डहरू -

आइसिटीमा महिलाको सशक्तिकरण गर्न आवश्यक : विज्ञहरु

आइसिटीमा महिलाको सशक्तिकरण गर्न आवश्यक : विज्ञहरु

काठमाडौं । हरेक वर्षको अप्रिल २६ मा मनाइने ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ नेपालमा पनि मनाइएको छ । आज काठमाडौंस्थित प्रज्ञाभवनमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले आइसिटीमा महिलाको क्षमता अभिवृद्धि गरी उनीहरुलाई आत्मनिर्भर बनाउन सकिने विचार राखेका छन् । 

प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेको चर्चा गर्दै महिलालाई मूल धारमा ल्याउन यसको भूमिका महत्वपूर्ण हुने बताए ।उनले अहिले सोसल मिडियाको दुरुपयोगबाट महिला पीडित भइरहेको पनि बताए । उनले प्रविधि क्षेत्रमै लागेर उदाहरणीय बनिरहेका महिलाहरुलाई राज्यका तर्फबाट थप प्रोत्साहन गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । ‘मुलुकमा अझै पनि नीतिगत र कानूनी पछौटेपन छ । सरकारका तर्फबाट समयको मागअनुसार व्यवस्था ल्याउन भगिरथ कोशिश गरिरहेका छौं,’ मन्त्री बास्कोटाले भने ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव इन्द्रप्रकाश उपाध्याय, महिला आयोगका सचिव अनिल कुमार ठाकुर, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, नेपाद दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललगायतले आइसिटीले महिला शक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । 

सोअवसरमा मन्त्री बास्कोटाले सूचना प्रविधि क्षेत्रका ५ क्रियाशील महिलालाई सम्मान गरे । साथै सम्मानित महिलाहरुले प्यानल डिस्कसनमा बोल्दै नेपालमा सूचना प्रविधि क्षेत्रमा महिलाको वास्तविक अवस्था, चुनौती र अवसरका बारेमा आफ्ना धारणा राखेका थिए । साथै इन्टरनेश्नल गल्र्स इन आइसिटी डे को अवसरमा आयोजित ह्याकथन कार्यक्रमका विजयीहरुलाई पनि पुरस्कार वितरण गरियो ।

यसअघि माइतीघरदेखि कमलादीस्थत नेपाल एकेडेमी हलसम्म प्रभात फेरी निकालिएको थियो ।