सुचना तथा संचार प्रविधिमा महिलाहरुको पहुँच पुर्याउने उद्देश्यले विश्वभर मनाइने '' सूचना संचार प्रविधिमा महिलाको सहभागिता २०१८ '' कार्यक्रम हुम्लामा मनाइदै छ । नेपाल दुरसंचार प्राधिकरणको सहकार्य र सुचना तथा संचार प्रविधि समाज ( SICT Nepal) र स्वावलंबन विकास प्रवर्धन केन्द्र नेपालको संयुक्त आयोजनामा यहि वैशाख १६ गतेबाट तीन दिनको लागि " आधारभूत सूचना र संचार प्रविधि र ब्लगिङ्ग ” बारे कार्यशाला सुरु भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले गर्नुभएको थियो । उक्त उद्घाटनको क्रममा बोल्दै वहाँले हुम्लामा दिनानुदिन महिला विद्यार्थीको संख्या बढी रहेको र पुरुषको संख्या घट्दै गएको तथा हुम्ला आँफैमा पिछडिएको कारण यस्ता कार्यक्रममा महिला मात्र सहभागी नगराई समग्रमा सम्पूर्ण बिद्यार्थीहरुमा पहुँच पुर्याउनु पर्ने बताउनुभएको थियो ।
त्यसैगरी प्रमुख जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले समग्र पहुँचमा काम गर्न र जिल्लामा रहेका सबै बिद्यालयलाई प्रविधि मैत्री बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो | कार्यक्रममा महिला शिक्षक , उद्योगकर्मी , सिमिकोट गाउपालिका अध्यक्ष , जिल्ला युवा समिति , समेतको उपस्थिती रहेको थियो |