कीवर्डहरू -

ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै

ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै

काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्ने महानगरको गृहकार्य छ । केही कम्पनीले सम्पूर्ण लगानी गर्ने र केहीले साझेदारीमा बस चलाउने प्रस्ताव गरेका छन् ।

प्रस्तावमाथि अध्ययन अघि बढाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘अब विद्युतीय बस सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं’ महर्जनले भने, ‘विद्युतीय सवारी वातावरण मैत्री हुने भएकाले ललितपुर जस्तो सांस्कृतिक था पर्यटकीय नगरीका लागि महत्वपूर्ण हुन्छ ।’

उचित तथा व्यवहारिक प्रस्तावलाई महानगरको पीपीपी कमिटीले अध्ययन गरेर कार्यपालिका बैठकमा पेश गर्नेछ ।

‘हामी साझा बससँग पनि सहकार्य गर्न सक्छौं । कम्पनीहरूसँग पनि सहकार्य गरेर विद्युतीय बस चलाउन सक्छौं’ प्रवक्ता भने, ‘केही समयभित्रै यस सम्बन्धमा ठोस निर्णय हुन्छ । हामी तीव्र रूपमा गृहकार्य गरिरहेका छौं ।’

साझा यातायातले पनि विद्युतीय बस ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रयास गरिरहेको छ । विद्युतीय बस ल्याउँदा सरकारले सहुलियत ऋण दिनु पर्ने उसको माग छ ।
अहिले सुविधासम्पन्न विद्युतीय बसको मूल्य करिब दुई करोड पर्छ । तर, शुरुमा महँगो परेपनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् भुषण तुलाधर बताउँछन् ।

‘बसका ब्याट्रीमा १२ वर्षसम्म ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०-१२ वर्षसम्म बस मर्मतमा ठूलो खर्च गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’

पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुने ललितपुर महानगरका प्रवक्ता महर्जन बताउँछन् । नेपालमा बढ्दो वायु प्रदुषणमा गाडीबाट हुने प्रदुषण बढी छ ।

विद्युतीय बस धुवाँरहित हुने हुँदा यसको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम गर्न सकिने अध्ययनले देखाएको छ । 

ललितपुर महानगरपालिकाले अब मुख्य सडकहरूमा सोलार बत्ती जडान नगर्ने नीति लिएको छ । अघिल्लो वर्ष जोडिएका सोलार बत्तीहरू राति १ नबज्दै निभ्ने समस्या बढ्दै गएपछि अब थप सोलारबत्ती नजोड्ने मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

उनले अब विद्युतबाटै बल्ने स्मार्ट सडकबत्ती जोड्ने बताए । कुपण्डोलदेखि माथि मुख्य सडकहरूमा स्मार्ट स्ट्रिटलाइट राख्न अध्ययन सुरु भएको मेयर महर्जनले बताए । ‘स्मार्ट स्टि्रटलाइट राख्न विद्युत प्राधिकरणसँग सहकार्य गर्दैछु’ उनले भने, ‘यस्ता बत्तीले कम विद्युत खपत गर्छन् । मानिसहरूको चहलपहल हुँदा सबै बल्छ, जब मानिसहरूको गतिविधि कम हुँदै जान्छ, क्रमशः पातलो बल्छ ।’