कीवर्डहरू -

अवैध रुपमा नेपाल भित्रिएका मोबाइल पत्ता लगाउँदै प्राधिकरण

अवैध रुपमा नेपाल भित्रिएका मोबाइल पत्ता लगाउँदै प्राधिकरण

नेपाल दुरसंचार प्राधिकरणले राजस्व भुक्तान नगरी अवैध रुपमा नेपाली बजारमा भित्रिएका मोबाइलहरु पत्ता लगाउन 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम( MDMS) ' लागू गर्ने भएको छ ।

यो सिस्टम अन्तर्गत कानुनी रुपमा भित्रिएका मोबाइलहरुको यथार्थ विवरण राखिने भएका कारण प्राधिकरणले यो प्रणाली मार्फत अवैध मोबाइलको पहिचान गर्ने भएको हो ।

प्राधिकरणका अनुसार एमडीएमएस प्रणालीमा मोबाइलको आइएमआइ नम्बरको सेतो,खैरो र कालो सूची तयार हुनेछ ।यस्तो सूची आयातकर्ता,भन्सार कार्यालय,मोबाइल सेवा प्रदायक,सर्वसाधारण तथा प्राधिकरणलाई सहजै उपलब्ध हुनेछ ।

यसबाट प्रयोगमा रहेका वास्तविक मोबाइल पत्ता लागाउने र अवैध मोबाइल छुट्याउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएस प्रणाली संचालनमा आएसँगै हराएका र चोरी भएका मोबाइल पनि सजिलै पत्ता लगाउन सकिने प्राधिकरणले जनाएको छ । सबै मोबाइलको आइएमआई विवरण राखिने यस प्रणालीमा हुने सेतो सूचीमा नेपालमा विक्री र प्रयोग गर्न सकिने मोबाइल,

कालोसूचीमा हराएका र चोरी भएका तथा बिक्रि र प्रयोग गर्न नसकिने मोबाइल र खैरो सूचीमा दर्ता गरेर प्रयोगमा ल्याउन सकिने मोबाइलको विवरण राखिने छ ।

यस प्रणालीले अवैध इन्टरनेट गेटवे प्रयोग  गरी नेपालमा टेलिफोन कल भित्र्याउन प्रयोग हुने सिम बक्सको प्रयोग पहिचान गरी त्यसलाई निस्क्रिय बनाउँछ ।

यस्तै व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल प्राधिकरणले तोकेको संख्या अनुसार एमडीएमएसमा प्रणालीमा दर्ता गर्न सकिन्छ ।प्राधिकरणले यसरि विदेशबाट कति मात्रामा ल्याउन सकिने भन्ने परिमाण बार्षिक रुपमा तोक्न सक्छ ।

मोबाइलको आईएमआई नम्बर लगइन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाइल सेतो अथवा कालो सूचीमा छ त्यसको जानकारी उपलब्ध गराउनेछ ।

यदि मोबाइल उक्त नम्बरसूचीमा समावेश नभए उक्त मोबाइल अवैध रुपमा अथवा चोरीको रुपमा भित्रिएको पत्ता लाग्नेछ । (गोरखापत्र )