कीवर्डहरू -

ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा

ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ र हाम्रो अपेक्षा

सूचना प्रविधिको विकास र विस्तारसँगै निम्तिएका सुरक्षाका जोखिमहरुबारे पछिल्लो समयमा बहस हुन थालेका छन् । नेपालमा पनि सूचना प्रविधिको प्रयोग र यसप्रति मानिसहरुको निर्भरता बढिरहेको छ । तर, प्रविधि प्रयोगका दौरान सुरक्षाका उपाय अपनाउने, दुरुपयोग हुनबाट बच्ने, जोखिम कम गर्ने र कुनै घटना भइहाले तत्कालै कानूनी र प्राविधिक उपचार प्राप्त गर्ने सन्दर्भमा नेपाल अझै पछि परिरहेको तथ्य विभिन्न तथ्याकंले प्रस्तुत गरिरहेका छन् । राज्यले समेत प्राथमिकतामा राख्न नसकेको सूचना प्रविधि क्षेत्र र यो क्षेत्रमा भइरहने अपराधजन्य घटनाका कारण नेपालमा साइबर सुरक्षा निकै संवेदनशील अवस्थामा रहेको विश्लेषण गर्न सकिन्छ । साइबर जोखिम न्यूनीकरणका सवालमा यदाकदा निजी र गैरसरकारी क्षेत्रबाट कार्यक्रम हुने गरेका छन् ।

यस्ता कार्यक्रममा साइबर सुरक्षामा देखिएका जटिलता र समाधानका उपायबारे छलफल हुने गरेका छन् । तर, यस्ता कार्यक्रमले मात्रै साइबर जगत्लाई सुरक्षित बनाउन सक्दैन । नीति निर्मातादेखि प्रयोगकर्तासम्म सूचना प्रविधि र यसको सुरक्षामा संवेदनशील नहुँदासम्म हामीले खोजेको जोखिमरहित डिजिटल नेपालको सम्भावना रहँदैन । उनीहरुलाई हाल विकास भइरहेको सुरक्षा प्रविधि कसरी प्रयोग गर्ने र विश्वव्यापी रुपमै साइबर सुरक्षामा कसरी एक हुने भन्नेबारे प्रत्यक्ष जानकार र अभ्यस्त बनाउनु आवश्यक देखिन्छ । 

यसै सन्दर्भमा काठमाडौंमा आगामी साउन ११ र १२ गते ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ आयोजना हुँदैछ । साइबर रिलायन्सका लागि विश्व गठबन्धन भन्ने नाराका साथ आयोजना हुन लागेको समिट इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)ले गर्न लागेको हो । नेपालमा साइबर सुरक्षाबारे जनचेतना प्रदान गर्दै आइरहेको यस संस्थाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको साइबर सुरक्षासम्बन्धी सम्मेलन गर्न लागेको छ । समिटको तयारीमा जुटिरहेको आयोजकले साइबर सेक्युरिटी एक्स्पर्ट, प्राक्टिस्नर र रिसर्चरबाट प्रिजेन्टेशनका लागि आवेदन दिनसक्ने व्यवस्था ल्याएको छ ।

यसअन्तर्गत ब्लाइन्ड सिग्नेचर्स, ब्लकचेन टेक्नोलोजी, बिजनेश कन्ट्युनिटी एन्ड इन्सिडेन्ट रेस्पोन्स, साइबर ल इन्फोर्समेन्ट, क्लाउड कम्प्युटिगं सेक्युरिटी, डाटा सेक्युरिटी एन्ड आइडेन्टिटी म्यानेजमेन्ट, डिजिटल फरेन्सिक, डिजास्टर रिकभरी प्लानिङ लगायतका विषयमा अनुसन्धानपत्र तयार पार्न सकिने छ ।

समिटको अवसरमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुनेछ । विशेषगरी साइबर कानून, साइबर नीति र साइबुर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ ।

यही समिटमार्फत् साइबर रिलायन्सका लागि विश्व गठबन्धन निर्माण गरिने समेत बताइएको छ । साइबर सेक्युयुरिटीसम्बन्धी पूूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम कम गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने लगायतका विषयमा गम्भीर छलफल हुनेछ । 

समिटले राखेका उद्धेश्यहरुलाई पुरा गर्न विभिन्न कार्यक्रम सञ्चालन हुने छ । समिटमा अन्तर्राष्ट्रिय क्षेत्रबाट की नोट स्पिकर आउने छन् । साथै सम्बन्धित पक्षबाट प्रतिनिधित्व हुने गरी साइबर सुरक्षा र साइबर कानूनका विभिन्न आयामलाई समेटेर प्यानल डिस्कसन गरिनेछ । साथै साइबर अपराध, पछिल्लो अवस्था र साइबर सुरक्षाका प्रविधि विषयमा विज्ञ र अनुसन्धाताबाट कार्यपत्र प्रस्तुतको कार्यक्रम रहेको छ । यो क्षेत्रमा काम गर्ने प्रोफेसनलहरुबीच नेटवर्किङ सेसनको कार्यक्रम समेत राखिएको छ । समिटकै अवसरमा वर्कसप पनि गरिने छ । 

अहिले विश्वकै टाउको दुखाइको विषय हो, साइबर अपराध । अमेरिका, चीन, बेलायत, रुस, उत्तर कोरिया लगायतका देशमा साइबर सुरक्षाको निकै जोखिम बढेको तथ्यांकले देखाउछन् । नेपालमा भने अझै पनि साइबर सुरक्षाका लागि पर्याप्त साइबर कानून नै छैन । अहिले व्यक्तिगत तथा संस्थागत महत्वपूर्ण दस्तावेजको सुरक्षाका लागि पनि साइबर सुरक्षा ऐनको आवश्यकता देखिएको छ । 

सूचना प्रविधिको बढ्दो प्रयोग र सहज पहुँचका कारण प्रायः सरकारी तथा गैरसरकारी कार्यालयहरू ‘पेपरलेस’ को युगमा जाने तयारीमा छन् । यस्तो अवस्थामा सुरक्षाका निम्ति आवश्यक कानुन बन्न जरूरी समेत छ । अर्कोतर्फ नेपालमा बढ्दो साइबर थ्रेटसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि साइबर अपराध र साइबर अपराधविरूद्धको अभियान चलाउन आवश्यकता छ । नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरूको साथै बैंक, विभिन्न कम्पनी तथा संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता हुने भएकाले यी यावत् विषयमा गम्भीर छलफल र समिक्षा गर्दै आगामी स्पस्ट बाटो पहिल्याउन समिट सफल हुनुपर्ने छ । 

यो समिटमा साइबर सेक्युरिटी र यससँग सम्बन्धित विभिन्न विषयका राष्ट्रिय र अन्तर्रा्िष्ट्रय विज्ञ, अनुसन्धाता र प्रोफेसनलहरुको विशेष उपस्थिति रहने भएकाले समिटबाट महत्वपूर्ण उपलब्धिको अपेक्षा राखिएको छ । कानूनी एवं प्राविधिक पूर्वाधारमा सम्बन्धित पक्षको संवेदनशीलता देखिन सके पनि भविष्यमा यो क्षेत्रमा सकारात्मक काम हुने अवस्था छ ।

अन्त्यमा इन्फर्मेशन सेक्युरिटी एक्सपर्टहरुको टिमले स्थापना गरेको एनपी सर्टले आयोजना गर्न लागेकाले पनि यो समिटको महत्व र गरिमा बढेको छ । नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा यो समिट कोशेढुंगा बन्न सक्ने सम्भावना छ ।