कीवर्डहरू -

नेपाल प्रहरी \'डिजिटल गभर्नेन्स अवार्ड २०१८\' बाट सम्मानित 

नेपाल प्रहरी \'डिजिटल गभर्नेन्स अवार्ड २०१८\' बाट सम्मानित 

आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड २०१८ प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्डमा नेपाल प्रहरी उत्कृष्ट भएको हो । लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार काठमाडौंको होटल र्याडिसनमा भएको नेटगियर आइसिटी अवार्ड २०१८ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स अवार्ड प्रदान गर्नुभयो ।


अवार्ड ग्रहण गर्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठन अहिले पेपरलेसको अवधारणामा अघि बढिरहेको बताउनुभयो ।

नेपाल प्रहरीले साइबर अपराधको अनुसन्धान गर्ने, फरेन्सिक इन्टरनेश्नल ल्याब इन्स्टल गर्ने काममा अगाडि बढिरहेको जानकारी दिदै महानिरीक्षक खनालले अनलाइन दर्ता गरेको भरमा विदेशमा बसेर पनि चारित्रिक प्रमाणपत्र लिन सक्ने व्यवस्था ल्याएको बताउनुभयो । उहाँले अवार्डले आगामी दिनमा नागरिकको सेवाका लागि थप सहज प्रविधिको प्रयोग गर्ने हौसला समेत मिलेको बताउनुभयो ।


नेपाल प्रहरीले केही वर्षदेखि नै सुरु गरेको अनलाइनबाट चारित्रिक प्रमाणपत्र लिने सुविधा पछिल्लो ४ महिनायता विदेशमा बसेर पनि अनलाइन दर्ताको माध्यमबाट लिने सुविधा ल्याएको छ । त्यस्तै नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । हाम्रो पुलिस, ट्राफिक पुलिसजस्ता एपमार्फत नागरिकलाई विभिन्न घटनाको जानकारी, ट्राफिकको अवस्था लगायतका सूचना पनि प्रहरीले दिइरहेको छ ।

\"\"


चाँडै नै नेपाल पुलिस नामको इन्टिग्रेटेड एप्लिकेशन पनि ल्याउने तयारीमा प्रहरी जुटेको प्रहरी नायब निरीक्षक सुनिल श्रेष्ठले बताउनुभयो । करिब २ सयको हारहारीमा प्रहरी संगठनकै आइटी तथा कम्प्युटर सिस्टमका दक्ष जनशक्ति प्रहरीले परिचालन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

विभिन्न सञ्चारमाध्यमबाट नागरिकलाई सूचना प्रवाह गर्ने र गुनासोको सम्बोधन गर्ने काम पनि प्रहरीले गरिरहेको छ । डिजिटल गभर्नेन्समा उदाहरणीय काम गरिरहेको नेपाल प्रहरी आइसिटी अवार्डअन्तर्गत ११ प्रतिष्पर्धीलाई उछिन्दै उत्कष्ट हुन सफल भएको हो । निर्णायक मण्डलले विभिन्न चरणको प्रक्रियापछि नेपाल प्रहरीलाई यो अवार्डका लागि छनोट गरेको निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले बताउनुभयो ।


यसैगरी अन्य ६ विधामा पनि अवार्ड वितरण भएको छ । आइसिटी पायोनियर अवार्ड यस वर्ष मर्कन्टाइलका सस्थापक तथा अध्यक्ष सञ्जिव राजभण्डारीलाई प्रदान गरिएको छ । आइसिटी आन्टरप्रेनर्स अवार्डबाट एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल पुरस्कृत भएका छन । आइसिटी डायस्पोरा अवार्ड यस वर्ष लिपफ्रगका हिमाल कर्माचार्यले प्राप्त गरेका छन । यसैगरी आइसिटी प्रडक्ट अवार्डमा यस वर्ष आईसोलुसन लाइफ र स्टार्टअप कम्पनी अवार्डबाट पिपुल डेभलपमेन्ट ल्याबले प्राप्त गरेको छ । मिडिया सम्मान नया पत्रिकाका गोपाल साउद र नागरिक दैनिकका सन्तोष न्यौपानेले प्राप्त गरेका छन ।


आइसिटी अवार्डको तेस्रो सस्करणको रुपमा भएको नेटगियर आइसिटी अवार्ड २०१८ मा एक सयभन्दा बढिको अनलाइन नोमिनेशन दर्ता भएको थियो । शुक्रवार साझ सञ्चालन भएको अवार्ड कार्यक्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गुरुङ, प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारी, शिक्षा मन्त्रालयका सचिव कृष्णराज बिसी, नेपाल प्रहरी प्रमुख सर्वेन्द« खनालको सहभागिता रहेको थियो । यसैगरी राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, विभिन्न सरकारी सस्था, बैंक, आइटी कम्पनी, कलेज प्रमुखहरु सहित चारसय बढिको सहभागिता रहेको थियो ।

\"\"