कीवर्डहरू -

नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण न्यूयोर्कमा पुरस्कृत

नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण न्यूयोर्कमा पुरस्कृत

न्यूयोर्क । नेपालसहित विश्वका १८ वटा देशमा गरिएको सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रयोगसम्बन्धी अनुसन्धान ‘आफ्टर एक्सेस’ (AfterAccess)ले अन्तर्राष्टिय पुरस्कार जित्न सफल भएको छ । आफ्टर एक्सेसलाई संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा गत सेप्टेम्बर २२ मा इक्वेलसाईनटेक ( EQUALSinTech ) पुरस्कारअन्तर्गत अनुसन्धान वर्गको पुरस्कारको विजेता घोषणा गरिएको हो । आफ्टर एक्सेसअन्तर्गत नेपालको स्थलगत अध्ययन सन् २०१८ को अप्रिल र मे महिनामा सम्पन्न भएको थियो ।

विश्वस्तरको पुरस्कार प्राप्त गरेपछि एसिया प्रशान्त क्षेत्रमा कार्यरत क्षेत्रीय सूचना प्रविधि थिङ्क ट्याङ्क लर्न एसियाका प्रमुख कार्यकारी अधिकृत तथा आफ्टर एक्सेस अनुसन्धानको प्रमुख अनुसन्धानकर्ता हेलानी गालपायाले भने, ‘इक्वेल ग्लोबल पार्टनरसीपद्वारा हाम्रो कार्यलाई पहिचान गरिएकोमा हामी गौरवान्वित छौं ।’

नेपालमा गरिएको सर्भेको सम्बन्धमा उनी अगाडि भन्छिन, ‘नेपालसम्बन्धी विशेष नतिजा चाँडै काठमाडौमा प्रकाशन गरिनेछ । नीति निर्माता तथा उद्योगसँग सम्बन्धित सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको पहुँच र प्रयोगमा लैंगिक विभेद घटाउनका लागि आफ्ना नीति र कार्यहरू यो तथ्याङ्कलाई प्रयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

आफ्टर एक्सेस ग्लोबल साउथ ( Global South )का १८ वटा देशका ३८ हजार ५ घर तथा व्यक्तिहरुसँगको अन्तर्वार्तामा आधारित राष्ट्रियस्तरमा गरिएको एउटा श्रृङ्खलाबद्ध सर्वेक्षण हो । यस अनुसन्धानले मोवाइल फोन तथा इन्टरनेटको पहुँच तथा प्रयोगसम्बन्धी मुख्य मुद्दाहरुलाई समेटेको छ । यस श्रृंखलाका सर्भेमा सबै देशमा एकै विधि अपनाईएको छ । इक्वेल ग्लोबल पार्टनरसीप महिलासम्म प्रविधि र प्रविधिसम्म महिलालाई पुर्याइ डिजिटल स्पेशमा लैंगिक दूरीलाई घटाउँदै लैजाने पुलको रुपमा कार्यरत विश्वव्यापी सञ्जाल हो ।

यसका संजालको संस्थापक सदस्यहरुमा संयुक्त राष्ट्र संघीय विश्वविद्यालय, अंतर्राष्टिय दूरसंचार संगठन, जिएसएमए, राष्ट्संघीय महिला ( युएन वुमन)  र अन्तराष्ट्रिय व्यापार केन्द्र रहेका छन् । वार्षिक रुपमा प्रदान गरिने इक्वेल साइनटेक पुरस्कार यस साझेदारीको फ्ल्यागसिप इभेन्ट हो, जसले महिला तथा युवतीहरुलाई प्रविधिमा समानताका लागि सहयोग गर्ने उत्कृष्ट परियोजना तथा पहलहरुलाई पहिचान गर्दछ ।

आफ्टर एक्सेस चार वटा पुरस्कार समुह (पहुँच, नेतृत्व, क्षमता र अनुसन्धान) गरी संसारभरबाट मनोनयनमा परेका ३५० प्रतिष्पर्धी मध्येबाट छानिएको अन्तिम २२ वटा मध्येको एक प्रतिष्पर्धी थियो । ल्याटिन अमेरिकी क्षेत्रमा DIRSI ,  एसियामा LIRNEasia र अफ्रिकामा ResearchICTAfrica को नेतृत्वमा संचालित परियोजना आफ्टर एक्सेसलाई ग्लोबल साउथ मुलुकमा विद्यमान लैङ्गिक दूरीलाई सम्बोधन गर्न योगदान पुर्याएकोमा इक्वेल ग्लोबल पार्टनरसीप पुरस्कृत गरिएको हो ।

संकलित तथ्याङ्कले नेपालमा मात्र नभएर बंगलादेश, कम्बोडिया, भारत, म्यानमार, पाकिस्तान र सम्पूर्ण ग्लोबल साउथ  मुलुकहरुमा सूचना प्रविधिको पहुँच तथा प्रयोगमा लैङ्गिक असमानताको ठोस प्रमाण प्रस्तुत गर्दछ । यस अनुसन्धानले लैङ्गिक असमानतालाई मापन मात्र नगरी प्रमाणमा आधारित नीति निर्माणकोलागि अवरोध सृजना गर्ने तत्वहरुको पहिचान समेत गर्दछ । आफ्टर एक्सेस, ग्लोबल साउथमा मोबाइल फोन र इन्टरनेट पहुँच तथा प्रयोगसम्बन्धी विस्तृत डाटाबेस हो । नेपालमा आफ्टर एक्सेस परियोजनामा लर्न एसियासँग स्थानीय साझेदारको रुपमा सेन्टर फर ल एण्ड टेक्नोलोजी प्रा.लि. र इन्टरनेट सोसाईटी नेपाल रहेको थियो ।

आफ्टर एक्सेस अन्तर्राष्टिय विकास अनुसन्धान केन्द्र क्यानडा, फोर्ड फाउण्डेशन, स्वीडिस अंतर्राष्टिय विकास एजेन्सी र अन्तर्राष्टिय विकास विभागको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो।

सर्वेक्षणको नेपाल विशेष प्रतिवेदन यहि अक्टोबर ४, २०१८ मा काठमाडौंमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ । विश्वस्तरमा स्वीकार्य अनुसन्धानबाट प्राप्त प्रतिवेदनले नेपालको सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा महत्वपूण आधार तय गर्ने विश्वास आफ्टर एक्सेस परियोजनाको नेपाली साझेदार सेन्टर फर ल एण्ड टेक्नोलोजी प्रा.लि.का अध्यक्ष अधिवक्ता बाबुराम अर्यालको छ ।

Photo Source : Lirne Asia