सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ता घट्ने क्रम रोकिएको छैन । माइक्रोब्लगिङ साइटका रुपमा लोकप्रिय ट्वीटरमा पछिल्लो ३ महिनामा मात्रै ९० लाख एकाउन्ट घटेका छन् ।
ठूलो संख्यामा एकाउन्ट घटेपछि हाल ट्वीटरका सक्रिय प्रयोगकर्ता ३२ करोड ६ लाखको हारहारीमा मात्रै छन् । किन हरेक दिन प्रयोगकर्ता घट्दै छन् त ?
ट्वीटरले चाहेर नै यो संख्या घटाएको हो । यसबाट कोही पनि अचम्ममा परेका छैनन् । बरु अझै ठूलो संख्यामा अकाउन्ट ब्लक हुँदैछन् । ट्वीटरले नक्कली तथा स्वचालित बट्सद्वारा सञ्चालित स्पाम अकाउन्ट बन्द गर्ने कार्यलाई तिव्रता दिएका कारण प्रयोगकर्ताको संख्यामा कमी आएको देखिएको हो ।
तर ट्वीटरको यो दाबी पूर्ण रुपमा सही नभएको बताइएको छ । ट्वीटर प्रयोगकर्ताहरुले पछिल्लो समय ट्वीटरमा सक्रियता तथा फलोअर्सको संख्यामा पनि निरन्तर गिरावट आइरहेको गुनासो गर्ने गरेका छन् ।
पछिल्लो तिन महिनामा ९० लाख प्रयोगकर्ता गुमाए पनि ट्वीटरले मुनाफाको सन्दर्भमा भने राम्रो प्रगति गरेको पाइएको छ । यस ३ महिनामा ट्वीटरले ७५ करोड ८१ लाख डलर मुनाफा गरेको छ । जुन गत वर्षको यहीँ अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।