कीवर्डहरू -

एनपीसर्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न 

एनपीसर्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न 

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट)को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालको साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील यस संस्थाले पछिल्लो समय सुरक्षामा देखिएका जटिलता र समाधानका विषयमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

काठमाडौंको मध्यबानेश्वरस्थित डाइनिङ पार्क रेष्टुरेन्टमा आयोजना भएको साधारणसभाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं सूचना प्रविधि महाशाखाका प्रमुख वीरेन्द्रकुमार मिश्रले उद्घाटन गर्नुभयो ।

सोअवसरमा बोल्दै प्रमुख अतिथि मिश्रले सरकारले राष्ट्रिय सर्ट (सेक्युरिटी इमर्जेन्सी रेस्पोन्स टिम) निर्माणको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सर्टका लागि कार्याविधि बनाउन लागेको र मस्यौदामा सरोकारवालाहरुसँग छलफल जारी राखेको बताउनुभयो ।

‘सर्ट धेरै हुनु स्वभाविक हो । सेक्युरिटीका थुप्रै सबडोमेनहरु छन् । सबैले आ–आफ्नो स्तरमा काम गर्न आवश्यक छ । सरकारी, गैरसरकारी र निजीस्तरमा सर्ट स्थापना हुनु राम्रो कुरा हो । अब यी सर्टहरुबीच सहकार्यको भावना विकास हुनुपर्छ,’ मिश्रले भन्नुभयो ।

विशिष्ट अतिथि सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने योजना ल्याएको र साइबर सुरक्षाका लागि पनि निजी क्षेत्रसँग मिलेर जान आफूहरु तयार रहेको भनाइ राख्नुभयो ।

सोअवसरमा क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको विकाससँगै जटिलता र जोखिम पनि आएको चर्चा गर्दै सर्टहरुले सामूहिक काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं आइसिटी डेभलपमेन्ट कमितिका प्रमुख ई. विनोद ढकालले पनि धेरै सर्टहरु सञ्चालनमा आएपनि यी संस्थाहरुबीच सहकार्य भएन भने अपेक्षित उपलब्धी हासिल गर्न नसकिने भनाइ राख्नुभयो ।
\"Image

एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले छोटो समयमै एनपीसर्ट साइबर सुरक्षाको साझा संस्थाको रुपमा स्थापित भएको चर्चा गर्दै आगामी दिनमा विभिन्न निकायसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्ने र काठमाडौंबाहिरका ठाउँहरुमा पनि साइबर सुरक्षासम्बन्धी कार्यक्रम सुरु गरिने जानकारी दिनुभयो ।

सोअवसरमा क्यान महासंघका केन्द्रीय उपाध्य नवराज कुँवर, कोषाध्यक्ष खुशल रेग्मी, सहकोषाध्यक्ष शेखर दुलाल, एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

यसैबीच साधारणसभावको बन्दसत्रमा महासचिव धु्रवराज शर्माले पेश गर्नुभएको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिले पेश गरेको लेखा प्रतिवेदनमाथि सदस्यहरुले छलफल गर्नुभएको थियो ।

साथै साधारणसभाको बैठकले महेश्वरमान जोशी र शंकरप्रसाद शर्मालाई एनपीसर्टको कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । बैठकले १७ सदस्यीय समितिबाट १३ सदस्यी समिति बनाउने र सदस्यहरुको कार्यविभाजन समेत गर्ने निर्णय गर्यो ।

यसअन्तर्गत संस्थाको अध्यक्षमा चिरञ्जिवी अधिकारी, वरिष्ठ उपाध्यक्ष डा. प्रमोद पराजुली, उपाध्यक्षमा कुमार पुडासैनी, महासचिवमा धु्रवराज जोशी, सचिवमा निरञ्जन खकुरेल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषध्यक्षमा निरञ्जन खकुरेल रहनुभएको छ । सदस्यहरुमा दिव्यतारा शाक्य, शिव बस्नेत, कुमार पौडेल, सुरेश भण्डारी, शंकरप्रसाद शर्मा र महेश्वरमान जोशी रहनुभएको छ ।
\"Image

यसैबीच साधारणसभावले काठमाडौंबाहिर पनि एनपीसर्टका गतिविधि सञ्चालन गर्ने योजना ल्याएअनूरुप प्रदेश ३ का लागि जयराम हुमागाईं र प्रदेश ५ का लागि भोजराज तिमिल्सिनालाई संयोजकको जिम्मेवारी दिएको छ ।