कीवर्डहरू -

श्रम स्वीकृति प्रक्रियामा अनलाइन टोकनको व्यवस्था

श्रम स्वीकृति प्रक्रियामा अनलाइन टोकनको व्यवस्था

अब श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइन टोकन प्रणाली शुरु गरेको छ । 


सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ । वैदेशिक रोजगार कार्यालयले एक दिनमा ९ सयदेखि ९५० जनासम्मलाई सजिलै यो सेवा दिन सक्ने जनाएको छ ।


वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।


वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाका अनुसार एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकै ठाँउबाट प्राप्त गर्न सक्ने छन् । 


यो नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई सानो कामका लागि पनि दिनभर लामो लाइनमा बस्नु पर्ने समस्याको समाधान गर्ने विश्वास गरिएको छ । थ्यस्तै बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने ठगीलगायत जस्ता समस्या समाधान हुने कार्यालयले दाबि गरेको छ । अब सरकारले छिट्टै ७ वटै प्रदेशबाट यो सेवा दिने तयारी सुरु गरी रहेको छ ।