कीवर्डहरू -

स्टार्टअप स्टाेरी : डिजाइनर दाजुभाइको डिजाइनप्याक

स्टार्टअप स्टाेरी : डिजाइनर दाजुभाइको  डिजाइनप्याक

गाउँको स्कुले जीवन सकेर काठमाडौंको कुनै निजी कलेज पढेर सक्दासम्म भविष्यका लागि कुनै ठोस योजना नबनाउने जमातबाट अछुत सायद कमै होलान् । तर, दाजुको विदेश गएर पढ्ने इच्छा र भाइको बेलायती लाहुरेमा भर्ती भएर जीवन सबल बनाउने सपना एकाएक तुहिएपछि दुवै जनाको जीवनले अर्कै मोड लियो ।

उतिसारो कम्प्युटर ज्ञान हासिल नगरे पनि समयको माग ठान्दै सूचना तथा प्रविधि क्षेत्रमा हामफालेका दाजुभाइले पछाडि फर्केर भने कहिल्यै पनि हेर्नुपरेन । प्रतिस्पर्धात्मक बजारमा केही भिन्न सोचका साथ अगाडि बढेका डिजाइनर दाजुभाइ हुन्, पुजन दास र सुमनजंग अधिकारी । \"\"

केही महिनाअघि मात्र नेपाली बजारमा ‘डिजाइनप्याक’ नामक नयाँ सेवा ल्याएका उनीहरुलाई भने अहिले काम धमाधम छ । बजारको बढ्ढो माग र चर्को डिजाइनर फिलाई अवमूल्यन गरी यो सेवा बजारमा ल्याइएको बताउँछन कम्पनीका सिइओ तथा सहसञ्चालक पूजनदास ।

केही समयको कडा परिश्रम र मेहनतका साथ स्वाध्ययन गरेर डिजाइन सिकेका दाजुभाइले विगत ४/५ वर्षदेखि विश्वभरिका करिब ६० भन्दा बढी ग्राहकसँग फ्रिल्यान्सिङमार्फत काम गरिसकेको र सोही अनुभव तथा बजारको मागले पनि यो सेवा ल्याउन आफूहरुलाई प्रेरित गरेको उनीहरुको भनाइ छ ।

डिजाइन प्याक एउटा यस्तो प्रडक्टाइज सर्भिस हो, जहांँ ग्राहकहरुले मासिक रुपमा एउटा तोकिएको फि तिरेपछि महिनाभरि अनगिन्ती वेब तथा ग्राफिक डिजाइन गराउन पाउने छन् । साधरणतया महिनावारी प्याकेजमा अनलिमिटेड इन्टरनेट उपभोग गरेजसरी यो सेवा उपयोग गर्न सकिन्छ ।

‘वेब तथा मोबाइल एप डिजाइनसहितको यो सर्भिस सम्भवतः विश्वमै पहिलोपटक हुनुपर्छ,’ कम्पनीका सहसञ्चालक सुमनजंगले बताए । ग्राफिक डिजाइन मात्र यसरी प्याकेजमा प्रदान गर्ने कम्पनी विश्वमा अरु थुप्रै भए पनि नेपालमा भने यो पहिलोपटक हो । मुख्यतया आइटी कम्पनी र मार्केटिङ एजेन्सीकै लागि ल्याइएको यो सेवामा ग्राहकका ठूलो हिस्सामा देशविदेशका आइटी कम्पनी र मार्केटिङ एजेन्सी नै छन् ।

विश्वभरिका करिब २५ ग्राहकलाई सस्तो मूल्यमा प्रोफेशनल डिजाइनरहरुमार्फत गुणस्तरीय डिजाइन प्रदान गर्दै आएको यो कम्पनीले स्टार्टअपहरुका लागि पनि ठूलो राहत पु¥याउँदै आएको छ । प्रोजेक्टपिच्छे बार्गेनिङ, चाहिएको बेला डिजाइनर नपाउने, पाए पनि आफूले चाहेको मूल्यमा नपाउने आदि समस्या बेहोरिरहेकाहरुलाई निकै लाभदायक छ यो सेवा ।

डिजाइन सर्भिस मात्र नभई डिजाइनर बन्न चाहनेका लागि पनि डिजाइनप्याक एउटा राम्रो प्लेटफर्म हो । डिजाइन कक्षा पनि सञ्चालन गर्दै आएको उक्त कम्पनीले आफूलाई चाहिने प्रायः डिजाइनको माग आफै पूर्ति गर्दै आएको छ । भविष्यमा डिजाइनप्याकलाई एउटा सफल अन्तर्राष्ट्रिय ब्रान्डका रुपमा स्थापित गर्ने कम्पनीको लक्ष्य छ ।

तपार्इले पनि भर्खरै स्टार्टअप बिजनेश सुरू गर्नुभएकाे छ भने हामीलार्इ खबर गर्नुहाेस् । हाम्राे इमेल : [email protected]