काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताएकी छन् ।
नेपाल औषधि थोक व्यवसायी संघको १० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उत्पादकदेखि बिरामीसम्म औषधि समयमै, गुणस्तरीय र सुलभ मूल्यमा पुग्ने सुनिश्चित हुने गरी आपूर्ति प्रणाली विकास गर्नुपर्ने बताइन् ।
कार्कीले औषधिको आपूर्ति शृंखलामा उत्पादनदेखि भण्डारण, बजारीकरण, वितरण, कोल्ड चेन व्यवस्थापन, नियमन तथा गुणस्तर परीक्षणसम्मका सबै पक्षलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
उनका अनुसार औषधिको एकपटक मात्र गुणस्तर परीक्षण गरेर पुग्दैन । उत्पादित औषधि बिरामीको हातसम्म पुग्दासम्म गुणस्तर कायम रहे–नरहेको नियमित रूपमा पुनःमूल्यांकन गर्न आवश्यक छ ।
‘म्यानुफ्याक्चरदेखि उत्पादक र उपभोक्ता एवम् बिरामीसम्म औषधि कसरी पुर्याउने भन्ने विषय महत्वपूर्ण छ । यसमा उत्पादन, भण्डारण, बजारीकरण, सप्लाई चेन, कोल्ड चेन मेन्टेनेन्स, नियमन र मूल्यांकनलगायतका विषय जोडिन्छन्,’ उनले भनिन्, ‘एकपटक मात्र असेस गरेर हुँदैन । औषधि बिरामीको हातमा पुग्दासम्म गुणस्तर कायम छ कि छैन भनेर नियमित रूपमा पुन: असेस गरिरहनुपर्छ ।’
कार्कीले औषधि थोक व्यवसायीको भूमिका उत्पादकबाट खुद्रा बिक्रेतासम्म औषधि पुर्याउनेमा मात्र सीमित हुन नहुने बताइन् । बजारमा कुन औषधिको माग बढी छ, कुन औषधिको अभाव छ र कुन स्थानमा कुन औषधि मौज्दातमा छ भन्ने जानकारी उत्पादक तथा राज्यका सम्बन्धित निकायसम्म पुर्याउनुपर्ने उनको भनाइ छ ।
उनले अहिले एकातिर फार्मेसी तथा अस्पतालमा आवश्यकताभन्दा बढी औषधि मौज्दात रहने र म्याद सकिन लाग्ने अवस्था रहेको तथा अर्कोतर्फ आवश्यक औषधि नपाएर बिरामीले विभिन्न स्थानमा भौँतारिनुपर्ने अवस्था रहेको बताइन् ।
यस्तो समस्या समाधानका लागि औषधिको माग र मौज्दातको वास्तविक अवस्थाबारे जानकारी आदानप्रदान तथा समन्वय गर्ने प्रभावकारी प्रणाली आवश्यक रहेको उनले बताइन् ।
कार्कीले औषधि आपूर्तिमा ‘डिमान्ड बेस्ड सप्लाई’ प्रणाली लागू गर्नुपर्नेमा पनि जोड दिइन् । खुद्रा बिक्रेताले आवश्यकताभन्दा बढी औषधि खरिद गर्नुपर्ने अवस्थाले अनावश्यक मौज्दात बढ्ने र औषधि म्याद गुज्रिने जोखिम बढाउने भएकाले वास्तविक मागका आधारमा आपूर्ति व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
आईसीटी समाचार