काठमाडौं । मानव रचनात्मकताको इतिहास उत्कृष्ट कला, चित्रकला, वास्तुशिल्प डिजाइनहरू, गीत सङ्गीत र साहित्यिक कृतिहरूले भरिएको छ । निश्चय नै यी अद्वितीय छन्, तर यस्ता कुनै पनि सिर्जना आज एआईको कल्पनाभन्दा बाहिर छैनन् । यद्यपि एआई अझै अनौठो वा एकदमै मौलिक सिर्जना गर्ने चरणमा पुगेको छैन, तर त्यसको नजिक पुगिसकेको भने अवश्य छ । यही कारणले एआईको क्रिएटिभिटीबारे प्रश्नहरू उठ्न थालेका छन् ।
मूल प्रश्न यही हो, जब एआईले केही सिर्जना गर्छ, त्यसको वास्तविक रचयिता को हो ? विश्वका धेरै अदालतमा यो विषयमा बहस चलिरहेको छ । कपीराइटलाई सम्पत्तिको अधिकारसँग तुलना गर्दै एक अमेरिकी अदालतले मेसिनमा कपीराइट सम्पत्ति राख्ने क्षमता नहुनुलाई उसको “लेखक” बन्ने अयोग्यतासँग बराबर मानेको छ ।
कानूनका उत्तराधिकार, हस्ताक्षर, अठोट र राष्ट्रियतासँग सम्बन्धित प्रावधानहरूलाई पनि ध्यान दिँदै अदालतले भन्छ, यस्तो “निर्जीव यन्त्र”ले यी सबै कुरा पूरा गर्न सक्दैन । अहिले एआईले रचनात्मक प्रक्रियालाई परिवर्तन गरिरहेको छ । यसले केवल विशाल र जटिल टेक्स्ट मात्र तयार गरिरहेको छैन, केही मिनेटमै उच्च गुणस्तरका इमेज र भिडियो पनि बनाइरहेको छ । यहाँसम्म कि यो हाम्रो रचनात्मक सोचलाई आकार दिन र कलात्मक उत्पादनमा अनुसन्धान उपकरणका रूपमा पनि उपयोगी साबित भइरहेको छ ।

मानवीय क्रिएटिभिटीबाट मेसिन कति टाढा छ ?
एआईले अहिले यस्तो सामाग्री तयार गरिरहेको छ, जहाँ सामान्य प्रयोगकर्ताले सही र गलत छुट्याउन सक्दैन । इन्टरनेट मिडिया पूर्ण रूपमा वास्तविकजस्तो देखिने नक्कली फोटो र भिडियोले भरिएको छ । एआईले आइडिया जेनेरेट गर्ने गति र मात्रा दुवै बढाएको छ ।यसको फाइदा के भएको छ भने अब मानिसले रचनात्मक सोच, मूल्याङ्कन र सान्दर्भिकतामा बढी ध्यान दिन सक्छन् ।
मानव कलाकारका लागि यो खतरा होइन, रचनात्मक सहयोगीका रूपमा हेर्ने हो भने यो कुनै जादूभन्दा कम छैन । जसरी एआई टुल्सको लोकतन्त्रीकरण भइरहेको छ र प्रयोग सहज बन्दै गएको छ, त्यसबाट लाभ त मिल्नेछ, तर बौद्धिक सम्पदा अधिकार, समरूपता र फेक कन्टेन्टसँग सम्बन्धित विवाद पनि बढिरहनेछन्, किनकि मेसिनले संसारलाई मानिसझैँ देख्दैन । मानिसका दिमागका आफ्नै सीमाहरू हुन्छन् ।

एआई टुल्स कसरी उपयोगी बन्न सक्छन्
दक्षता बढाउन, नवप्रवर्तनलाई अगाडि बढाउन र ठूलो स्तरमा कामलाई सजिलो बनाउन एआईको प्रयोग गर्न सकिन्छ । एआई पावर्ड टुल्सले स्वतः नै एसईओ-फ्रेन्ड्ली मेटाडेटा बनाउन सक्छन् र युजर एङ्गेजमेन्ट एनालिटिक्सका आधारमा कन्टेन्ट सुधारका सुझाव पनि दिन सक्छन् । यी न्यूनतम मानवीय हस्तक्षेपमै कामको गति बढाउन सक्षम छन् । एआई कन्टेन्ट ट्रेन्ड्स रिपोर्टका अनुसार एआई टुल्सले भिडियो स्क्रिप्ट र इन्टर्याक्टिभ वेब एक्सपिरियन्सलाई पनि सुधारिरहेका छन् ।

एआई कन्टेन्टको दुरुपयोग र चुनौतीहरू
एआईले सूचना-ओभरलोड र गुणस्तरको भ्रम बढाएको छ । विस्तृत सामाग्री तयार गर्ने एआईको असाधारण क्षमता सूचनाको अथाह प्रवाह, नैरेटिभ र वास्तविकताको भ्रम पैदा गर्न सक्छ । यसले सामान्य प्रयोगकर्तालाई उपयोगी र विश्वसनीय जानकारी खोज्न अझ कठिन बनाएको छ । अनावश्यक कन्टेन्टमा अल्झिँदा मानिसहरूले डिजिटल फ्याटिग अर्थात् थकान महसुस गर्न थालेका छन् ।
एआईद्वारा तयार कन्टेन्टमा अक्सर प्रामाणिकताको अभाव हुन्छ, जुन विशुद्ध मानवीय अनुभव र भावनात्मक गहिराइको विषय हो । यही कारणले एआई कन्टेन्ट प्रायः सतही वा वास्तविक संसारका सूक्ष्मताबाट टाढा जस्तो देखिन्छ । उपयोगी जानकारी र व्यक्तिगत सम्बन्ध खोज्ने प्रयोगकर्तालाई यसले निराश पार्न सक्छ । जब प्रयोगकर्ताले बारम्बार कम गुणस्तरको कन्टेन्ट पाउँछन्, तब एआईभन्दा बाहिरका प्रमाणिक स्रोतहरूको आवश्यकता महसुस हुन्छ ।
कन्टेन्ट जाँच्ने टुल्स कति उपयोगी छन् ?
धेरै अनलाइन टुल्सले लुकेका वाटरमार्क, बनावटमा भएका त्रुटि र अन्य डिजिटल सङ्केतहरू हेरेर कुनै सामाग्री वास्तविक हो कि एआईद्वारा बनाइएको हो भनेर बताउने दाबी गर्छन् । न्यूयोर्क टाइम्सको एउटा परीक्षणले देखाएको छ कि केही टुल्सले एआई कन्टेन्ट पत्ता लगाउन केही हदसम्म सक्षम छन्, तर ती यति सटीक भने हुँदैनन् कि प्रयोगकर्तालाई पूर्ण रूपमा आश्वस्त पार्न सकून् । यी टुल्सले शङ्काको पुष्टि गर्न सहयोग गर्न सक्छन्, तर कुनै पनि टुलमा पूर्ण रूपमा भरोसा गर्नु ठीक हुँदैन ।
यसले इन्टरनेट प्रयोगकर्ता र फ्याक्ट-चेकरहरूका अगाडि नयाँ चुनौतीहरू खडा गरेको छ । एआईबाट हुने ठगी पत्ता लगाउन केही कम्पनीले यी टुल्स प्रयोग गर्ने प्रयास गरिरहेका छन्, साहित्यिक चोरी पत्ता लगाउने प्रयास पनि भइरहेको छ । तर यो पनि सत्य हो कि कुनै पनि डिटेक्सनटुलले १०० प्रतिशत निश्चित रूपमा भन्न सक्दैन कि कुनै टेक्स्ट, इमेज, भिडियो वा अन्य कुनै स्वरूपमा एआईको प्रयोग भएको छ कि छैन ।

एआईलाई क्रिएटिभ पार्टनर बनाऔँ
एआईलाई तपाईं टुलका रूपमा हेर्नुहुन्छ वा प्रतिस्पर्धीका रूपमा, त्यो तपाईंमा निर्भर छ । दुवै धारणा मान्ने मानिसहरू छन्, तर वास्तविकता यही हो कि यो उपयोगी टुल हो, जसको समझदारीपूर्वक प्रयोग गर्नुपर्छ । यसले छिटो काम गर्न, नयाँ आइडिया दिन, फरक–फरक विकल्प जाँच्न र नियमित कार्यबाट राहत दिन सक्छ । तर यसले मौलिकतालाई कमजोर पनि पारिरहेको छ । प्रश्न एआई Vs मानिस होइन, प्रश्न हो, कसले एआईलाई सोच सम्झेर प्रयोग गर्छ ।
कम्प्युटर, इन्टरनेट र अन्य प्रविधिहरूझैँ यो अब सधैँ रहनेछ । यसको प्रतिक्रियामा सतहीपन, विचारको दोहोर्याइ, केही वाक्यांशहरूको अत्यधिक प्रयोगजस्ता समस्या छन्, तर केही सावधानीका साथ एआईको प्रयोगले उत्कृष्ट नतिजा दिन सक्छ । हामी आफैँ पनि एआई कन्टेन्टबारे सचेत हुनुपर्छ । एआई कन्टेन्ट जाँच्न जीपीटीजीरो, ओरिजिनालिटी.एआई, कापीलीक्स एआई डिटेक्टर, विंस्टन एआई जस्ता एआई टुल्स प्रयोग भइरहेका छन् । स्पष्टता र उचित उद्देश्यसहित एआईको प्रयोग गरियो भने यो शक्तिशाली क्रिएटिभ पार्टनर बन्न सक्छ ।

यी तरिकाले आफैँ जाँच गर्न सकिन्छ
- असाइनमेन्ट प्रप्टका मुख्य शब्दहरू बारम्बार प्रयोग भएको देखिन्छ ।
- क्रस–चेक गर्दा केही गलत तथ्य भेटिन सक्छन् ।
- कहिले काहीँ एआईको प्रतिक्रियामा वाक्य स्वाभाविक लाग्दैन ।
- स्पष्टीकरण माग्दा यसले सामान्य र दोहोरिने उत्तर दिन्छ ।
- एआईको लेखनशैली उनीहरूको सामान्य लेख्ने तरिकासँग मिल्दैन ।
स्नेहा झा