काठमाडौं । डिजिटल अधिकार, अनलाइन सुरक्षा र मिडिया साक्षरताका विषयमा रुचि राख्ने कोशी र मधेश प्रदेशका युवाका लागि एकदिने तालिम आयोजना हुने भएको छ ।
डिजिटल राइट्स नेपाल (डीआरएन) ले युवा तथा युवा नेतृत्वमा सञ्चालित नागरिक समाज संस्थाका प्रतिनिधिलाई लक्षित गर्दै तालिमका लागि आवेदन आह्वान गरेको हो ।
तालिम स्विस सरकार विकास सहयोग (एसडीसी) र यूएनडीपी नेपालको सहयोगमा सञ्चालित ‘एडभान्सिङ सिभिक इन्गेजमेन्ट फर डेमोक्रेटिक पार्टिसिपेसन’ (एसीईडीपी) परियोजनाअन्तर्गत सञ्चालन हुनेछ ।
तालिममा डिजिटल अधिकारको आधारभूत जानकारीसँगै डिजिटल माध्यममा देखिन सक्ने जोखिम र त्यसबाट जोगिने उपायबारे सहभागीलाई जानकारी दिइनेछ ।
त्यस्तै, सूचना अखण्डता, तथ्य जाँच, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा डिजिटल अधिकार उल्लङ्घन भएमा अपनाउन सकिने कानुनी उपचारका विषय पनि समेटिने आयोजकले जनाएको छ ।
तालिममा सहभागी हुन १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाज संस्थाका प्रतिनिधिले आवेदन दिन सक्नेछन् । आवेदक कोशी वा मधेश प्रदेशको बासिन्दा अथवा सम्बन्धित प्रदेशमा कार्यरत हुनुपर्नेछ ।
डिजिटल अधिकार, अनलाइन सुरक्षा, मिडिया तथा डिजिटल साक्षरता वा नागरिक सहभागिताका क्षेत्रमा रुचि भएका र तालिमसहित त्यसअन्तर्गतका आवश्यक गतिविधिमा सक्रिय रूपमा सहभागी हुन सक्ने व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ ।
डीआरएनले महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा प्रतिनिधित्वमा पछाडि परेका समुदाय र विविध पृष्ठभूमिका व्यक्तिलाई आवेदनका लागि विशेष प्रोत्साहन गरेको छ । यसका लागि डिजिटल वा मिडिया साक्षरतासम्बन्धी पूर्वज्ञान तथा अनुभव अनिवार्य नरहेको पनि आयोजकले स्पष्ट पारेको छ ।
तालिम विराटनगरमा असोज ९ र १० गते तथा जनकपुरमा असोज १२ र १३ गते आयोजना हुनेछ । इच्छुक व्यक्तिले असोज ४ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिन: https://school.digitalrightsnepal.org/application/
थप जानकारीका लागि: https://school.digitalrightsnepal.org/notice/

आईसीटी समाचार