काठमाडौं । क्यामेरासहितका स्मार्ट चस्माबाट सरकारी सूचना तथा व्यक्तिको गोपनीयता जोखिममा पर्न सक्ने चिन्ताबीच अस्ट्रेलियाले संघीय सरकारी कार्यालयमा यस्ता उपकरणको प्रयोग नियन्त्रण गर्ने तयारी गरेको छ ।
सरकारले संघीय सरकारी कार्यस्थलमा क्यामेरा जडित स्मार्ट चस्मा प्रयोग गर्न दिने वा प्रतिबन्ध लगाउने विषयमा अध्ययन अघि बढाएको हो । सार्वजनिक सेवा मन्त्री केटी ग्यालाघरले यसबारे आवश्यक सुझाव दिन अस्ट्रेलियन पब्लिक सर्भिस कमिसनलाई जिम्मेवारी दिएकी छन् ।
प्रस्ताव कार्यान्वयनमा आएमा संघीय सरकारका विभागीय कार्यालय, सरकारी सेवा केन्द्र तथा वैज्ञानिक अनुसन्धान प्रयोगशालामा स्मार्ट चस्माको प्रयोगमा रोक लाग्न सक्नेछ । सरकारी भवनभित्र यस्ता उपकरण प्रयोगमा औपचारिक प्रतिबन्ध लगाउने मुलुकको सूचीमा अस्ट्रेलिया अग्रणीमध्ये एक बन्ने सम्भावना छ ।
स्मार्ट चस्मा सामान्य चस्माजस्तै देखिने भए पनि त्यसमा जडित क्यामेरा र अन्य प्रविधिका कारण फोटो खिच्न, भिडियो बनाउन तथा अडियो रेकर्ड गर्न सकिन्छ । यही कारण कार्यालयमा रहेका कर्मचारी, सेवाग्राही वा अन्य व्यक्तिको जानकारीबिनै उनीहरूसँग सम्बन्धित दृश्य तथा आवाज संकलन हुन सक्ने जोखिमप्रति सरकारको ध्यान गएको हो ।
विशेष गरी संवेदनशील सरकारी काम हुने स्थानमा यस्तो प्रविधिको प्रयोगले गोप्य सूचना बाहिरिन सक्ने सम्भावना रहेको अधिकारीहरूको चिन्ता छ । मन्त्री ग्यालाघरले पनि स्मार्ट चस्माका कारण व्यक्तिगत गोपनीयता र सरकारी सूचनाको सुरक्षासँग सम्बन्धित वास्तविक जोखिम देखिएको बताएकी छन् ।
यद्यपि, सरकारको तयारी स्मार्ट चस्मालाई अस्ट्रेलियामै प्रतिबन्ध लगाउने दिशामा भने छैन । देशमा यस्ता उपकरणको आयात रोक्ने कुनै निर्णय भएको छैन । महान्यायाधिवक्ता मिशेल रोल्यान्डले यसअघि गोपनीयतासम्बन्धी कानुनमा भइरहेको परामर्श प्रक्रियामा स्मार्ट चस्माको आयात प्रतिबन्धको विषय समावेश नगरिएको स्पष्ट पारेकी थिइन् ।
हाल विचाराधीन योजना संघीय सरकारी कार्यस्थलसम्म मात्र सीमित रहनेछ । राज्य सरकारका कार्यालय, विद्यालय, अस्पताल, स्थानीय निकाय र निजी क्षेत्रका संस्थामा स्मार्ट चस्माको प्रयोगबारे भने सम्बन्धित निकायले आफ्नै नियम बनाउन सक्नेछन् ।
सार्वजनिक स्थानमा पनि यस्ता उपकरणको प्रयोगलाई लिएर अस्ट्रेलियामा सावधानी बढिरहेको छ । यसअघि ब्रिसबेन र सिड्नीका केही स्थानीय निकायले सार्वजनिक पौडीपोखरी र चेन्जिङ रुमजस्ता संवेदनशील स्थानमा क्यामेरा जडित स्मार्ट चस्मा प्रयोग गर्न रोक लगाएका थिए ।
गोप्य रूपमा फोटो वा भिडियो खिच्न सकिने सम्भावनाका कारण स्मार्ट चस्माको प्रयोगलाई लिएर थप स्पष्ट तथा कडा नियम बनाउनुपर्ने माग विभिन्न क्षेत्रमा उठ्दै आएको छ ।
तर, संघीय सरकारले प्रस्तावित प्रतिबन्धबारे अन्तिम निर्णय गरिसकेको छैन । प्रतिबन्ध लागू हुने समय, कुन–कुन उपकरण यसअन्तर्गत पर्ने र नियम उल्लंघन गरेमा हुने कारबाहीबारे पनि सरकारले अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन ।
आईसीटी समाचार