एडब्लुएस युजर ग्रुप नेपालको आयोजनामा आउँदो २१ अप्रिलका दिन दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ । जेनेस सलुशन तथा सनवे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रममा क्लाउड प्रविधि बारे विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिंग सम्बन्धी पछिल्लो प्रवृत्तिहरुबारे छलफल हुनेछ ।
‘एडब्लुएस कम्युनिटी डे’ समुदायले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हो, जहाँ विज्ञ एडब्लुएस प्रयोगकर्ताहरु तथा विश्वव्यापी रुपमा काम गर्ने व्यवसायीहरुले प्राविधिक जानकारी दिन्छन् ।
यसमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) मार्फत सहभागीहरुको ज्ञान तथा व्यवहारिक सीप वृद्धि गर्न तथा नवपरिवर्तन एवं व्यावसायिक वृद्धिलाई सघाउन विभिन्न वक्ताहरु, कार्यशाला गोष्ठी तथा नेटवर्किंग अवसरहरु उपलब्ध हुनेछ ।
२१ अप्रिल बिहान ९ बजे चिया/कफीसंगै सहभागीहरुको नाम दर्ता शुरु हुनेछ भने ९:३० बजेदेखि सनवे कलेजमा कार्यक्रम शुरु हुनेछ । कार्यक्रममा एडब्लुएस एम्व्यासडर तथा 'एडब्लुएस युजर ग्रुप नेपाल' का अगुवा अञ्जनी फुयाँलले प्रस्तुति हुनेछ । उनले एडब्लुएसका क्षेत्रमा भइरहेका पछिल्ला विकासक्रम, एडब्लुएस प्रविधिहरु तथा सर्वोत्तम अभ्यासहरुका बारेमा आफ्नो अनुभव तथा दृष्टिकोण शेयर गर्नेछन् ।
साथै एडब्लुएसको भारत तथा दक्षिण एसियाका लागि CIO एडभाइजरी ग्राहक सम्बन्ध विभागका प्रमुख विश्वजीत मोहपात्रले क्लाउड आर्किटेक्चर डिजाइनदेखि एडब्लुएस इन्फ्रास्ट्रक्चरलाई कसरी राम्रोसंग उपयोग गर्ने सम्बन्धी विषयमा प्रस्तुति दिनेछन् ।
‘द पावर अफ कम्युनिटी: बिल्डिंग बेटर टुगेदर’ टेक्निकल शत्रमा एडब्लुएस इन्डियामा डेभलपर मार्केटिंग म्यानजरको रुपमा कार्यरत रिधिमा कपुरले प्रस्तुति दिने जनाइएको छ ।
प्रविधिमा महिला प्यानल छलफल कार्यक्रमको सामुदायिक साझेदार पनि रहेको शिक्वल फाउन्डेसनले छलफलको सुरुवात गर्नेछ । प्यानल छलफलपछि शुरु हुने 'डेभअप्स ट्रयाक' मा सन्दिप दास, तेजस गुप्ता, अभिनव दुबे, रामनिक कालरा लगायतका वक्ताले एडब्लुएसमा डेभअप्सको ज्ञान शक्तिबारे आफ्नो अनुभव शेयर गर्ने छन् ।
त्यसपछि आयोजना गरिने 'क्लाउड सेक्युरिटी ट्रयाक' मा सुन्दर श्रेष्ठ, अविरल संग्रौला, निलेश बाघेला र विशाल अल्हतले Amazon Aurora र Amazon RDS को vector database power को व्यावहारिक असरहरुबारे आफ्नो अनुभवहरु शेयर गर्ने छन् ।
अपरान्ह ४ बजे कार्यक्रम सकिए पछि सहभागी तथा वक्ताहरु बीच 'नेटवर्किंग सेशन' आयोजना गरिनेछ । उक्त कार्यक्रममा भाग लिन सहभागीहरुले यो कार्यक्रमका 'रजिष्ट्रेशन पार्टनर' 'खल्ती' मार्फत प्रति व्यक्ति ५०० रूपैयाँको टिकट किन्नु पर्ने छ । उक्त कार्यक्रमको लागि दर्ता गर्न तथा थप सूचनाका https://www.acdnepal.com वेबसाइटमा जान सकिने छ ।