कीवर्डहरू -

काठमाडौँमा एडब्लुएस कम्युनिटी डे मनाइंदै, यसरी हुनुहोस् सहभागी

काठमाडौँमा एडब्लुएस कम्युनिटी डे मनाइंदै, यसरी हुनुहोस् सहभागी

एडब्लुएस युजर ग्रुप नेपालको आयोजनामा आउँदो २१ अप्रिलका दिन दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ । जेनेस सलुशन तथा सनवे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रममा क्लाउड प्रविधि बारे विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिंग सम्बन्धी पछिल्लो प्रवृत्तिहरुबारे छलफल हुनेछ । 

‘एडब्लुएस कम्युनिटी डे’ समुदायले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हो, जहाँ विज्ञ एडब्लुएस  प्रयोगकर्ताहरु तथा विश्वव्यापी रुपमा काम गर्ने व्यवसायीहरुले प्राविधिक जानकारी दिन्छन् ।

यसमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) मार्फत सहभागीहरुको ज्ञान तथा व्यवहारिक सीप वृद्धि  गर्न तथा नवपरिवर्तन एवं  व्यावसायिक वृद्धिलाई सघाउन विभिन्न वक्ताहरु, कार्यशाला गोष्ठी तथा नेटवर्किंग अवसरहरु उपलब्ध हुनेछ । 

२१ अप्रिल बिहान ९ बजे चिया/कफीसंगै सहभागीहरुको नाम दर्ता शुरु हुनेछ भने ९:३० बजेदेखि सनवे कलेजमा कार्यक्रम शुरु हुनेछ । कार्यक्रममा एडब्लुएस एम्व्यासडर तथा  'एडब्लुएस युजर ग्रुप नेपाल'  का अगुवा अञ्जनी फुयाँलले प्रस्तुति हुनेछ । उनले एडब्लुएसका क्षेत्रमा भइरहेका पछिल्ला विकासक्रम, एडब्लुएस प्रविधिहरु तथा सर्वोत्तम अभ्यासहरुका बारेमा आफ्नो अनुभव तथा दृष्टिकोण शेयर गर्नेछन् ।  

साथै एडब्लुएसको भारत तथा दक्षिण एसियाका लागि  CIO एडभाइजरी ग्राहक सम्बन्ध विभागका प्रमुख विश्वजीत मोहपात्रले क्लाउड आर्किटेक्चर डिजाइनदेखि एडब्लुएस इन्फ्रास्ट्रक्चरलाई कसरी राम्रोसंग उपयोग गर्ने सम्बन्धी विषयमा प्रस्तुति दिनेछन् ।

‘द पावर अफ कम्युनिटी: बिल्डिंग बेटर टुगेदर’ टेक्निकल शत्रमा एडब्लुएस इन्डियामा डेभलपर मार्केटिंग म्यानजरको रुपमा कार्यरत रिधिमा कपुरले प्रस्तुति दिने जनाइएको छ ।

प्रविधिमा महिला प्यानल छलफल कार्यक्रमको सामुदायिक साझेदार पनि रहेको शिक्वल फाउन्डेसनले छलफलको सुरुवात गर्नेछ । प्यानल छलफलपछि शुरु हुने 'डेभअप्स ट्रयाक' मा सन्दिप दास, तेजस गुप्ता, अभिनव दुबे, रामनिक कालरा लगायतका वक्ताले एडब्लुएसमा डेभअप्सको ज्ञान शक्तिबारे आफ्नो अनुभव शेयर गर्ने छन् ।  

त्यसपछि आयोजना गरिने 'क्लाउड सेक्युरिटी ट्रयाक' मा सुन्दर श्रेष्ठ, अविरल संग्रौला, निलेश बाघेला र विशाल अल्हतले Amazon Aurora र  Amazon RDS को vector database power को व्यावहारिक असरहरुबारे  आफ्नो अनुभवहरु शेयर गर्ने छन् ।  

अपरान्ह ४ बजे कार्यक्रम सकिए पछि सहभागी तथा वक्ताहरु बीच 'नेटवर्किंग सेशन' आयोजना गरिनेछ ।  उक्त कार्यक्रममा भाग लिन सहभागीहरुले यो कार्यक्रमका 'रजिष्ट्रेशन पार्टनर' 'खल्ती' मार्फत प्रति व्यक्ति ५०० रूपैयाँको टिकट किन्नु पर्ने छ । उक्त कार्यक्रमको लागि दर्ता गर्न तथा थप सूचनाका https://www.acdnepal.com वेबसाइटमा जान सकिने छ ।