अष्ट्रेलियाको सरकारले बिहीबार संसदमा नयाँ विधेयक पेश गरेको छ । यस विधेयकको उद्देश्य १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउनु हो । यस अन्तर्गत, सामाजिक सञ्जाल प्लेटफर्महरूले नियम उल्लङ्घन गरेमा ४.९५ करोड अष्ट्रेलियन डलर (करिब २७० करोड रुपैयाँ) सम्म जरिवाना तिर्नुपर्ने प्रस्ताव गरिएको छ । बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक ल्याउने अष्ट्रेलिया विश्वकै पहिलो देश बनेको छ ।
यो प्रस्तावअनुसार अष्ट्रेलियामा उमेर प्रमाणिकरण प्रणालीको परीक्षण गरिनेछ, जसमा बायोमेट्रिक्स वा सरकारी परिचयपत्रको प्रयोग गरिन सक्नेछ । यो कुनै पनि देशले अहिलेसम्म ल्याएका सबैभन्दा कडा नियमहरूमध्ये एक हुनेछ । यसमा अभिभावकको सहमति वा पहिलेबाट भएका खाता प्रयोग गर्न कुनै छुट हुनेछैन् ।
प्रधानमन्त्री एन्थनी अल्बानिजले यस विधेयकलाई “ऐतिहासिक सुधार“ भन्दै यसबारे भने, “हामीलाई थाहा छ केही बालबालिकाहरू यसलाई छलेर समाधान खोज्न सक्छन्, तर हामी सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न स्पष्ट सन्देश दिन चाहन्छौं ।“
यो प्रस्ताव मेटा प्लेटफर्म (इन्स्टाग्राम र फेसबुक), बाइटडान्स (टिकटक), एलन मस्कको एक्स (पहिले ट्विटर), र स्न्यापच्याटजस्ता ठूला प्लेटफर्महरूमा लागू हुनेछ । तर, सरकारका अनुसार बालबालिकाहरूले म्यासेजिङ, अनलाइन गेमिङ, र स्वास्थ्य तथा शिक्षासम्बन्धी सेवाहरू, जस्तै हेडस्पेस (मनोवैज्ञानिक सहायता प्लेटफर्म), गुगल क्लासरूम र युट्युबको प्रयोग गर्न पाउनेछन् ।
सामाजिक सञ्जालको बालबालिकामा प्रभाव
अल्बानिज नेतृत्वको लेबर सरकारले सामाजिक सञ्जालको अत्यधिक प्रयोग बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक भएको तर्क गरेको छ । रिपोर्टअनुसार, करिब दुई–तिहाइ १४ देखि १७ वर्षका अष्ट्रेलियन बालबालिकाहरूले अनलाइन धेरै हानिकारक सामग्री हेरेका छन्, जसमा लागू औषध, आत्महत्या, वा आफूलाई हानि पु¥याउने सामग्री समावेश छन् ।