कीवर्डहरू -

नोटबुकएलएम चलाउनु हुन्छ ? सही टुलसँग जोड्दा अझै बढ्छ उत्पादकत्त्व

नोटबुकएलएम चलाउनु हुन्छ ? सही टुलसँग जोड्दा अझै बढ्छ उत्पादकत्त्व

गुगलका क्यालेन्डर, टास्क, नोटियन वा ट्रेलो जस्ता आधारभूत प्रोडक्टिभिटी टुलहरू धेरैको दैनिक प्रयोगमा छन्। तर पछिल्ला वर्षहरूमा गुगलको नोटबुकएलएम एउटा यस्तो एआई टुल बनेको छ, जसले अनुसन्धान, अध्ययन र जानकारी व्यवस्थापनको तरिका नै बदलिदिएको छ। 

गुगल प्लानसँगै प्रिमियम सुविधासमेत उपलब्ध हुने नोटबुकएलएम शक्तिशाली भए पनि यो आफैंमा पूर्ण ‘अल–इन–वन’ समाधान भने होइन।

नोटबुकएलएमको सबैभन्दा ठूलो विशेषता भनेको प्रयोगकर्ताले अपलोड गरेका स्रोतहरूभित्रै सीमित भएर काम गर्नु हो। प्रत्येक नोटबुक छुट्टै प्रणाली जस्तै हुन्छ, जहाँ समावेश गरिएका कागजात, लिंक वा फाइलकै आधारमा एआईले उत्तर, सारांश र विश्लेषण तयार गर्छ।

यसले भरपर्दो र नियन्त्रणमा रहेको अनुसन्धान सम्भव बनाउँछ। तर यही संरचनाका कारण फरक–फरक नोटबुकबीच जानकारी जोड्न नसक्नु, बाहिरी सन्दर्भ स्वतः तान्न नपाउनु र सामग्री मर्ज गर्न कठिन हुनुजस्ता सीमाहरू देखिन्छन्।

यी कमजोरीहरू पूर्ति गर्न नोटबुकएलएमलाई अन्य एआई च्याटबोटहरूसँग जोडेर प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। च्याटजीपीटी, जेमिनाई, क्लाउड र परप्लेक्सिटी जस्ता टुलहरूले नोटबुकएलएम का सीमित स्रोतभन्दा बाहिरको सन्दर्भ, रियल–टाइम जानकारी र फरक दृष्टिकोण प्रदान गर्छन्। विशेषगरी परप्लेक्सिटीले स्रोतसहित अद्यावधिक जानकारी उपलब्ध गराउने भएकाले नयाँ सामग्री खोज्न र नोटबुक थप समृद्ध बनाउन सहयोग पुर्‍याउँछ।

गुगलको जेमिनाईसँग नोटबुकएलएमको संयोजन झन् प्रभावकारी देखिएको छ। हालैको अपडेटपछि जेमिनाईमा नोटबुकएलएमका धेरै नोटबुक अपलोड गरी एउटै थ्रेडमा क्रस–रेफरेन्स गर्न सकिने सुविधा आएको छ। यसले पहिले छुट्टाछुट्टै रहेका नोटबुकहरूलाई आपसमा जोडेर तुलना, विश्लेषण र नयाँ निष्कर्ष निकाल्न सजिलो बनाएको छ। साथै जेमिनाईले वेबबाट पनि जानकारी तान्न सक्ने भएकाले नोटबुकएलएम को सीमित दायरालाई फराकिलो बनाइदिन्छ।

नोटबुकएलएमलाई नोट–टेकिङ र पर्सनल नलेज म्यानेजमेन्ट (PKM) टुलहरूसँग जोड्दा यसको उपयोगिता अझ बढ्छ। नोसन, Obsidian, एप्पल नोट्स वा एभरनोट जस्ता प्लेटफर्ममा नोटबुकएलएमबाट प्राप्त सारांश र मुख्य बुँदाहरू राखेर दीर्घकालीन रूपमा व्यवस्थित गर्न सकिन्छ। यसरी जोड्दा नोटबुकएलएम केवल अध्ययन गर्ने टुलमा सीमित नरही सक्रिय ज्ञान निर्माण र प्रयोगको हिस्सा बन्छ।

विशेषज्ञहरूका अनुसार नोटबुकएलएमबाट अधिकतम फाइदा लिन यसको सीमाहरू पहिचान गरी अन्य टुलमार्फत पूर्ति गर्नु नै उत्तम उपाय हो। 

एआई च्याटबोट, नोट–टेकिङ एप, क्यालेन्डर, टास्क म्यानेजर र समय व्यवस्थापन टुलसँग संयोजन गर्दा नोटबुकएलएमको क्षमता धेरै गुणा बढ्न सक्छ। 

सही टुलसँग जोडेर प्रयोग गरिएमा नोटबुकएलएम अनुसन्धान मात्र होइन, दैनिक उत्पादकता र दीर्घकालीन सिकाइको शक्तिशाली आधार बन्न सक्छ।