कीवर्डहरू -

ई-कमर्स विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित

ई-कमर्स विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित

विद्युतीय व्यापार (ई-कमर्स) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको हो ।

प्रतिनिधिसभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनि प्रस्ताव पेस गरेका थिए।

प्रस्तावउपर सांसदहरूले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । जवाफपछि मन्त्री भण्डारीले विद्युतीय व्यापार (ई-कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरे । प्रस्तुत प्रस्तावलाई सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए । 

विधेयकमा दर्ता गरेर मात्रै अनलाइन व्यवसाय गर्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ता ठगिएको/नठगिएको अनुगमन र नियमन हुनेछ । सामाजिक सञ्जालबाट हुने कारोबार समेत राजस्वको दायरामा आउने छ । 

अब यो विधेयक पुनः राष्ट्रिय सभामा जान्छ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्ष हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जान्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।