कीवर्डहरू -

नियम उल्लंघन गरेको अवस्था बाहेक चेकजाँचको समयमा अब नागरिक एपमै लाइसेन्स देखाए पुग्ने

नियम उल्लंघन गरेको अवस्था बाहेक चेकजाँचको समयमा अब नागरिक एपमै लाइसेन्स देखाए पुग्ने

ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा अब नागरिक एपमा देखाएको ड्राइभिङ लाइसेन्सले मान्यता पाउने भएको छ । 

नेपाली नागरिकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपले जनाएको छ । 

यसका लागि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्नुपर्नेछ । ट्राफिक नियम उल्लंघन गरेको अवस्था बाहेक अन्य समयमा नागरिक एपमा नभएको लाइसेन्स देखाए पुग्ने व्यवस्थाले धेरै सजिलो हुनेछ । अब चेकजाँचको समयमा लाइसेन्सको सक्कल कपी नदेखाएर एपमै लिंक गरेको लाइसेन्स देखाए पुग्ने छ । 

गत जेठमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकले सवारी चालक अनुमति-पत्रका लागि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीका प्रणालीसँग नागरिक एपको अन्तरआवद्धता कायम गर्ने विषयमा प्राविधिक प्रतिवेदन पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शिवादेवी दाहालको संयोजकत्वमा गठित कार्यदलले उपसमिति गठन गरेको थियो । 

उपसमतिको संयोजकमा यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक श्रीचन्द्र साह, सदस्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्रकी निर्देशक सुमित्रा सुवेदी र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साह तथा सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कम्प्यूटर इन्जिनियर विनय सुवेदी रहेका थिए । 

उक्त समितिले राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालनमा ल्याएको नागरिक एप, नेपाल प्रहरी/ट्राफिक प्रहरीले सञ्चालनमा ल्याएको टिभीआरएस प्रणाली तथा यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको ईडीएलभीआरएस एवं अनलाइन सवारी चालक अनुमति दर्ता प्रणालीहरू सवारी चालक अनुमतिपत्रका लागि एक आपसमा प्राविधिक दृष्टिकोणले अन्तरआवद्ध गर्न सकिने सुझावसहित प्राविधिक प्रतिवेदन पेश गरेको थियो । 

प्राविधिक प्रतिवेदनको आधारमा प्रधानमन्त्री कार्यालयले गठन गरेको कार्यदलले राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालन गरेको नागरिक एप, नेपाल प्रहरी/ट्राफिक प्रहरीले सञ्चालन गरेको टीभीआरएस र यातायात व्यवस्था विभागले सञ्चालन गरेको ईडीएलभीआरएस विद्युतीय सूचना प्रणालीहरूलाई अन्तरआवद्ध गरी नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिनुपर्ने निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो । 

साथै, कुनै पनि नेपाली नागरिक सवारी चालकले सवारी चालक अनुमतिपत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लङ्घन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने र यो व्यवस्थालाई तत्कालै देशव्यापीरुपमा लागू गर्न उपयुक्त हुने सुझाव दिइएको थियो । 

सो प्रतिवेदनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत जेठ २१ गते प्रतिवेदनसहित आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो । त्यसपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा र प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई आवश्यक कार्यान्वयनका लागि पत्र पठाएको थियो ।

सोही अनुसार कात्तिक १३ गते देखि ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको हो ।