पर्वत । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने अभियानअन्तर्गत माध्यमिक तहका सबै विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ ।
गाउँपालिकाले एक करोड २३ लाख २१ हजार रुपैयाँ खर्चेर ५२ वटा स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीका अनुसार उक्त सामाग्री पालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयहरूमा वितरण गरिएको छ ।
गाउँपालिकाले आधुनिक प्रविधिलाई शिक्षण सिकाइसँग जोड्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ‘सामाजिक तथा आर्थिक रूपान्तरणको रणनीति, समग्र पहुँच र गुणस्तरीय आधुनिक प्रविधियुक्त शिक्षा’ भन्ने अवधारणाअनुसार विद्यालयहरूमा डिजिटल पूर्वाधार विस्तार गरिएको गाउँपालिकाको भनाइ छ ।
शिक्षा अधिकृत दिनेश पौडेलले स्मार्ट बोर्डको प्रयोगबाट कक्षाकोठाको शिक्षण प्रक्रिया अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार डिजिटल सामाग्रीमार्फत पढाइलाई अन्तरक्रियात्मक र आकर्षक बनाउन सकिने भएकाले विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले प्रविधि अहिलेको शिक्षाको अपरिहार्य आवश्यकता भएकाले विद्यालयहरूले उपलब्ध गराइएका स्मार्ट बोर्डको अधिकतम उपयोग गर्नुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक शिक्षाको समान अवसर उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यस्तो पहल गरेको स्पष्ट पारिन् ।
उपाध्यक्ष विमल लामिछानेले स्मार्ट बोर्डलाई सामान्य उपकरणका रूपमा नभई शिक्षण सिकाइको गुणस्तर सुधार गर्ने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न शिक्षक र विद्यालय व्यवस्थापनलाई आग्रह गरे । उनले प्रविधिको सही उपयोगले ग्रामीण भेगका विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आईसीटी समाचार