कीवर्डहरू -

साझा यातायातमा अब नगदरहित कारोबार, क्यूआर र बैंक कार्डबाट भाडा भुक्तानी गर्न सकिने

साझा यातायातमा अब नगदरहित कारोबार, क्यूआर र बैंक कार्डबाट भाडा भुक्तानी गर्न सकिने

काठमाडौं । साझा यातायातले दैनिक सञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको छ । विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गतेदेखि नयाँ प्रणालीलाई पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको साझा यातायातले जनाएको छ ।

सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा व्यवस्थित बनाउने उद्देश्यले नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो । साझा यातायातका अनुसार गत वैशाखदेखि प्रणालीको परीक्षण तथा मूल्याङ्कन गर्दै विभिन्न प्राविधिक र व्यावहारिक परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि प्रणालीलाई पूर्ण रूपमा लागू गरिएको हो ।

नयाँ व्यवस्थाअन्तर्गत साझा यातायातका सबै बसको प्रत्यक्ष गतिविधि, स्थान, यात्रुको चाप तथा चालक-सहचालकको कार्यसम्पादनलाई एउटै केन्द्रीय नियन्त्रण कक्षबाट वास्तविक समयमा निगरानी गर्न सकिनेछ । यसबाट बस व्यवस्थापन, समयतालिका सञ्चालन तथा आकस्मिक अवस्थामा तत्काल समन्वय गर्न सहज हुने साझा यातायातको भनाइ छ ।

नयाँ प्रणाली लागू भएसँगै यात्रुले बसभित्रै नगदरहित रूपमा भाडा भुक्तानी गर्न सक्नेछन् । वित्तीय संस्थाले जारी गरेका बैंक कार्ड ट्याप गर्नुका साथै नेपालपे क्यूआरसहित विभिन्न क्यूआरमार्फत टिकटको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि यात्रुले नयाँ कार्ड लिन वा छुट्टै मोबाइल एप डाउनलोड गर्नुपर्ने छैन।

नियमित यात्रुलाई थप सहज बनाउन नेपालपेसँगको सहकार्यमा सार्वजनिक यातायातका लागि छुट्टै यात्रा कार्ड ल्याउने तयारीसमेत भइरहेको साझा यातायातले जनाएको छ । उक्त कार्ड ट्याप गरेर केही सेकेन्डमै भाडा भुक्तानी गर्न सकिने व्यवस्था गरिनेछ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्रत्येक डिजिटल टिकटलाई स्वत: भाग्यशाली उपहार योजनामा समावेश गरिने भएको छ । यात्रुले दैनिक, साप्ताहिक तथा मासिक रूपमा विभिन्न उपहार जित्न सक्नेछन् । यस्तै, प्रविधिको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्‍याउने चालक तथा सहचालकलाई समेत विशेष नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको साझा यातायातले जनाएको छ ।

साझा यातायातले नगदरहित कारोबार, पारदर्शी व्यवस्थापन तथा प्रविधिको प्रयोगमार्फत यात्रुलाई सुरक्षित, भरपर्दो र सहज सार्वजनिक यातायात सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।