विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक स्थापना भएको २० वर्ष पूरा भएको छ । सन् २००४ फेब्रुअरी ४ मा स्थापना भएको फेसबुक विश्वको धेरै प्रयोग गरिने सामाजिक सञ्जाल मध्येमा पर्छ ।
एउटा कोठाबाट शुरू भएको फेसबुकका अहिले दैनिक करोडौं प्रयोगकर्ता छन् । त्यही एउटा कोठाबाट शुरू भएको फेसबुकले आज मार्क जुकरबर्ग खर्बपतिको शीर्ष स्थानमा छन् । हाल जुकरबर्गको नेटवर्थ १३९.५ बिलियन अमेरिकी डलर रहेको छ ।
फेसबुक शुरू गर्ने जुकरबर्गलाई कोडिङ मन पर्थ्यो तर पनि उनले हार्भडमा साइकोलोजी अध्ययन गरिरहेका थिए । साइकोलोजी अध्ययन गरेकाले जुकर्बगलाई फेसबुक डिजाइन गर्न सजिलो भयो ।
आज विश्वका अधिकांश देशमा फेसबुक प्रयोग हुन्छ । फेसबुकले कुराकानीको परम्परागत तरिकालाई नै परिवर्तन गरेको छ ।
कसरी शुरू भयो फेसबुक ?
सन् २००४ फेब्रुअरी ४ मा मार्क जुकरबर्गले आफ्ना कलेजका साथी एडुआर्डो सेभरिन, डस्टिन मोस्कोभिट्ज र क्रिस ह्युजेससहित हार्भर्डको छात्रावासबाट फेसबुकको शुरू गरेका थिए, जसको नाम थियो ‘दि फेसबुक’ ।
फेसबुक शुरू गर्दा मार्क जुकरवर्ग १९ वर्षका थिए । तर मार्क जुकरवर्गले बनाएको फेसबुक पहिलो सोसल साइट होइन् । त्यो भन्दा अगाडि उनले अन्य साइटहरू बनाएका थिए, जसमध्ये एक हो, फेसम्यास ।
फेसबुक सुरू गर्दा मार्क जुकरबर्ग हार्भड विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका थिए । तर उनले कम्प्युटर विज्ञानका पनि धेरै कक्षाहरू लिएका थिए । दि फेसबुक नाम हार्भडका नयाँ प्रोफाइलिङ विद्यार्थी र कर्मचारीलाई वितरण गरिएको सिटबाट लिइएको थियो ।
दि फेसबुक साइट शुरू भएको २४ घण्टामै हार्भडका १२०० बढी विद्यार्थीहरूले साइनअप गरेका थिए । फेसबुकको लोकप्रियता यति बढ्यो की सन् २००४ जुनमा २ लाख ५० हजारभन्दा बढी विद्यार्थीले अकाउन्ट बनाए । सन् २००४ को अन्त्यसम्ममा दि फेसबुकमा १० लाख सक्रिय प्रयोगकर्ता थिए ।
सन् २००४ मा नेप्स्टर तथा एन्जेल लगानीकर्ता सीन पार्कर कम्पनीको अध्यक्ष बने र सन् २००५ मा दि फेसबुकबाट फेसबुकमा यसको नामाकरण भयो । फेसबुक डटकम डोमेन २ लाख अमेरिकी डलरमा किनिएको थियो । त्यसपछि फेसबुक एप्पल, माइक्रोसफ्टका कर्मचारीसँगै उच्च माध्यामिक तहका विद्यार्थीलाई खुल्ला गरियो ।
अक्टोबर २००५ मा फेसबुकले आफ्नो साइटमा फोटोज सुविधा थप्यो र अमेरिका र क्यानडामा विस्तार भयो । सन् २००५ को अन्त्यसम्मा फेसबुकका ६० लाख प्रयोगकर्ता पुगेका थिए ।
सन् २००५ मा फेसबुकमा पेपालका सह संस्थापक पिटर थियलले ५ लाख डलर लगानी गरेका थिए । त्यसपछि फेसबुकले एक्सेलबाट १२.७ मिलियन डलर र जिम ब्रेयरबाट १ मिलियन लगानी उठाएको थियो ।
सन् २००५ को नोभेम्बरमा जुकरबर्गले प्रोग्रामरको सट्टा सीईओको रूपमा पूर्ण रूपमा कम्पनीमा ध्यान दिन आफ्नो अध्ययन छोडेका थिए । फेसबुकले सन् २००६ मा मोबाइल अप्टिमाइज्ड साइट m.facebook.com शुरू गर्यो । सेप्टेम्बर २००६ पछि फेसबुकमा ठूलो परिवर्तन आयो । त्यसपछि १३ वर्षभन्दा माथिका कसैले पनि इमेल प्रयोग गरेर फेसबुक चलाउन सक्ने भए ।
योसँगै फेसबुक उच्च विद्यालय, कलेज, विश्वविद्यालय वा व्यवसायहरूको सिमितताबाट बाहिर आयो । सन् २००६ को अन्त्यसम्ममा फेसबुकका प्रयोगकर्तालाई १ करोड २० लाख पुगेका थिए । सन् २००६ को सप्टेम्बरमै फेसबुक ‘न्युज फिड’ नामक नयाँ फिचर पनि फेसबुक थप गरेको थियो ।
फेसबुक बिक्री गर्न १ अर्बको प्रस्ताव
जब फेसबुकको लोकप्रियता चुलिदै गयो, त्यसबेला फेसबुक विक्री गर्न एउटा प्रस्ताव आयो । उक्त प्रस्ताव गरेको थियो याहुले । सन् २००६ जुलाईमा याहुले फुसबुकलाई १ अर्ब अमेरिकी डलरमा किन्न एप्रोच गरेको थियो । त्यसबेला फेसबुकका ८०-९० लाख प्रयोगकर्ता थिए, जसबाट ३० करोड डलर आम्दानी भइरहेको थियो ।
खरिदको प्रस्ताव आएपछि फेसबुकका ३ बोर्ड सदस्य मार्क जुकरबर्ग, पिटर थिएल, जिम बेयरको बैठक बस्यो । उक्त बैठकमा जुकरबर्गले यो बैठक औपचारिक मात्रै भएको र फेसबुक नबेच्ने बताए ।
उक्त बैठकमै पिटरले भनेका थिए, ‘हामी सायद यसबारे कुरा गर्नुपर्छ । १ अर्ब डलर धेरै रकम हो । तपाई २५ प्रतिशतको मालिक हुनुहुन्छ । तपाईले पैसासँग गर्ने धेरै कुराहरू छन् ।’
तर जुकरबर्गले फेसबुक बिक्री गरेनन् । याहुलाई फेसबुक नबेच्ने र सबैका लागि खुल्ला भएकाले यसमा धेरै प्रयोगकर्ताहरू आए । सन् २००७ को अन्त्यसम्म फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता ५ करोड ८० लाख पुगेका थिए ।
सन् २००७ मै फेसबुकले पाराकीलाई खरिद गर्यो । पाराकी फायरफक्सका सह-सिर्जनाकर्ताहरूले स्थापना गरेका थिए । त्यो एक वेबमा आधारित अपरेटिङ सिस्टम विकास गर्दै थियो, जसलाई पछि फेसबुकले मोबाइल साइट क्रियट गर्न र पावर गर्न प्रयोग गरेको थियो । सन् २००७ मै फेसबुकले प्रडक्ट किन्न र खरिद गर्न मार्केटप्लेस शुरू गरेको थियो ।
फेसबुकले जुलाई २००८ मा आईफोन एपका लागि स्टयाण्डअलोन फेसबुक पनि शुरू गर्यो । उक्त वर्ष फेसबुक च्याट फिचर पनि शुरू भएको थियो । तर सन् २००९ मा पेसबुकले यसलाई ‘लाईक’ बटनमा परिवर्तन गर्यो, जसले सामाजिक सञ्जाल प्रयोगको तरिकालाई बदलिदियो । फेसबुकले सन् २०११ मा फेसबुक टाइमलाइन शुरू गरेको थियो ।
म्यासेन्जर एपको शुरू
आज दैनिक दैनिक करोडौंले प्रयोग गर्ने म्यासेन्जर एप फेसबुकले सन् २०११ मा सार्वजनिक गरेको थियो । आईओएस र एन्ड्रोइडका लागि सार्वजनिक भएको म्यासेन्जर एक मात्र प्रमुख उत्पाउन थियो । उक्त इन्स्ट्यान्ट म्यासेजिङ एपमा इन्टरनेटको प्रयोग गरी म्यासेज, फोटो र भिडियो पठाउन सकिने सुविधा थियो ।
सन् २०१२ मा फेसबुकले फोटो शेयरिङ एप इन्स्टाग्रामलाई १ बिलियन डलरमा खरिद गर्यो । जुन फेसबुकको सबैभन्दा ठूलो खरिद थियो । इन्स्टाग्रामले नगद र स्टकको रूपमा १ बिलियन प्राप्त गरेको थियो ।
फेसबुकको आईपीओ
फेसबुकले सन् २०१२ मेमा आईपीओ जारी गरेको थियो । इन्टाग्रामलाई खरिद गरेको १ महिनापछि आईपीओ निष्कासन गरेको थियो ।
माग धेरै आएपछि आईपीओ आउनुभन्दा २ दिन अगाडि फेसबुकले योजनाभन्दा २५ प्रतिशत शेयर बढी बिक्री गर्ने घोषणा गर्यो । फेसबुकले आईपीओबाट १६ बिलियन डलर रकम उठाएको थियो ।
यो आईपीओले सबैभन्दा ठूलो आईपीओ मध्येको एकका रूपमा लिइन्छ । आईपीओ जारी गरेको १ महिनापछि फेसबुकका मासिक प्रयोगकर्ता १ अर्ब पुगेका थिए । यसको मतलब पृथ्वीका ७ जना मानिसमध्ये १ जनाले फेसबुक प्रयोग गरिरहेका थिए । त्यसपछि फेसबुकले ट्रेन्डिङ, ग्रुप, नियरबाई फ्रेण्ड फिचर थप गरेको थियो ।
सन् २०१४ फेब्रुअरीमा फेसबुकले १६ बिलियन डलरमा ह्वाट्सएपलाई खरिद गर्ने घोषणा गर्यो । जुन पछि यसलाई बढाएर १९ बिलियन डलर पुर्याइयो ।
तर वास्तवमा २२ बिलियन डलरमा फेसबुकले ह्वाट्सएप खरिद गरेको थियो । किनकी भुक्तानको एक अंश फेसबुकको शेयर समेत थियो । सम्झौता बन्द हुँदा सम्म शेयरको मूल्यको ६८ डलरबाट बढेर ७७ डलरसम्म पुगेको थियो ।
इन्स्टाग्राम, पाराकी, ह्वाट्एपसँगै फसबुकले ओकलस, चेनस्पेश लगायतका कम्पनी समेत खरिद गरेको थियो ।
फेसबुकको नाम परिवर्तन
सन् २०२१ मा फेसबुकले फेसबुक इंकको नाम परिवर्तन गरेर मेटा राखेको थियो । मेटाभर्स परियोजना आफुलाई केन्द्रित गर्ने गरी फेसबुकले नाम परिवर्तन गरेको थियो । नाम परिवर्तनसँगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत हाल मेटा अन्तर्गत सञ्चालित छन् । यसअघि फेसबुक इंक अन्तर्गत नै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप सञ्चालनमा थिए तर कम्पनीको नाम परिवर्तन भएपछि हालै सबै मेटा माहतह सञ्चालमा रहेका छन् ।