काठमाडौं । आजको डिजिटल समयमा फोन नम्बर निकै महत्त्वपूर्ण डेटा हो । यही नम्बरमार्फत हामी परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सम्पर्कमा रहन्छौँ । तर, कहिले काहीँ झुक्किएर फोनमा सेभ गरिएको महत्त्वपूर्ण नम्बर डिलिट हुन सक्छ ।
विशेष गरी साना बालबालिकाले मोबाइल चलाउँदा वा फोन व्यवस्थापन गर्ने क्रममा गल्तीले कन्ट्याक्ट डिलिट हुने समस्या धेरैलाई हुन सक्छ । तर, एन्ड्रोइड फोन प्रयोगकर्ताले डिलिट भएका कन्ट्याक्ट पुन: रिकभर गर्न सक्छन् ।
पहिले मानिसहरू फोन नम्बर डायरीमा लेखेर राख्ने गर्थे । ल्यान्डलाइनको समयमा त फोन नम्बर सुरक्षित राख्न छुट्टै डायरी नै प्रयोग हुन्थ्यो । तर, स्मार्टफोनको प्रयोग बढेसँगै अधिकांश मानिसले आफ्ना सम्पर्क नम्बर फोनमै सेभ गर्ने गरेका छन् ।
स्मार्टफोनमा नम्बर सेभ गर्न जति सजिलो छ, कहिले काहीँ गल्तीले डिलिट हुन पनि सक्छ । यस्तो अवस्थामा गुगल कन्ट्याक्टको ‘रिसाइकल बिन’ सुविधा प्रयोग गरेर मेटिएको नम्बर पुन: प्राप्त गर्न सकिन्छ ।
यसरी रिकभर गर्नुहोस् डिलिट भएको फोन नम्बर
- डिलिट भएको कन्ट्याक्ट रिकभर गर्न सबैभन्दा पहिले फोनमा रहेको Google Contacts एप खोल्नुहोस् ।
- त्यसपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेको तीनवटा डट (Three-dot) मेनुमा ट्याप गर्नुहोस् ।
- मेनु खुलेपछि त्यहाँ रहेको ‘Recycle Bin’ विकल्प चयन गर्नुहोस् ।
- रिसाइकल बिनमा तपाईंले हालै डिलिट गरेका कन्ट्याक्टहरू देख्न सक्नुहुन्छ ।
- त्यसमध्ये पुन: प्राप्त गर्न चाहेको फोन नम्बर वा कन्ट्याक्ट चयन गर्नुहोस् ।
कन्ट्याक्टमा ट्याप गरेपछि स्क्रिनको तल ‘Restore’ विकल्प देखिनेछ । उक्त विकल्पमा ट्याप गरेपछि डिलिट भएको कन्ट्याक्ट पुन: तपाईंको कन्ट्याक्ट सूचीमा आउनेछ । यसरी गल्तीले डिलिट भएको महत्त्वपूर्ण फोन नम्बर सजिलै पुन: प्राप्त गर्न सकिन्छ ।
नोट : एन्ड्रोइड फोनको मोडल, अपरेटिङ सिस्टमको संस्करण तथा प्रयोग गरिएको कन्ट्याक्ट एपअनुसार Recycle Bin सम्म पुग्ने प्रक्रिया केही फरक हुन सक्छ ।
आईसीटी समाचार