कीवर्डहरू -

ह्वावेको नयाँ स्मार्टवाच ‘वाच डी३’ सार्वजनिक, २४ घण्टा रक्तचाप निगरानीको सुविधा

ह्वावेको नयाँ स्मार्टवाच ‘वाच डी३’ सार्वजनिक, २४ घण्टा रक्तचाप निगरानीको सुविधा

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले रक्तचाप निगरानीलाई प्राथमिकता दिइएको नयाँ पुस्ताको स्मार्टवाच ‘ह्वावे वाच डी३’ सार्वजनिक गरेको छ ।

बजारमा उपलब्ध अधिकांश स्मार्टवाचले रक्तचाप अनुमानका लागि एल्गोरिदममा निर्भर रहने भएपनि वाच डी३ मा भने परम्परागत चिकित्सा उपकरणमा प्रयोग हुने एयर कफ प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । यसले स्मार्टवाचमार्फत रक्तचाप मापनलाई थप व्यावहारिक बनाउने अपेक्षा गरिएको छ ।

ह्वावेका अनुसार वाच डी३ को डिजाइनलाई अघिल्लो पुस्ताको तुलनामा अझ आकर्षक र सहज बनाइएको छ । स्मार्टवाचको मोटाइ ११.३ मिलिमिटर र तौल करिब ४० ग्राम रहेको छ ।

टेलिग्राफका अनुसार वाच डी३ ले २४ घण्टासम्म रक्तचाप निगरानी गर्न सक्नेछ । यसले दिन र रात दुवै समयमा रक्तचाप मापन गर्नुका साथै शारीरिक गतिविधि गर्नुअघि र गरेपछि छुट्टै मापन मोड समेत उपलब्ध गराउनेछ ।

रक्तचापबाहेक स्मार्टवाचले मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा लगायतका स्वास्थ्यसम्बन्धी सूचकहरू समेत निगरानी गर्नेछ । साथै, यसले करिब ८० प्रकारका खेलकुद गतिविधिलाई समर्थन गर्ने बताइएको छ ।

ह्वावे वाच डी३ सेप्टेम्बर २३ देखि बजारमा उपलब्ध हुने बताइएको छ । यसको सुरुवाती मूल्य ४५६ युरो निर्धारण गरिएको छ ।