कीवर्डहरू -

आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच ६ सिरिज नेपालमा

आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच ६ सिरिज नेपालमा

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, आधुनिक स्वास्थ्य निगरानी सुविधा तथा लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच ६ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । सिरिजअन्तर्गत रेड्मी वाच ६, रेड्मी वाच ६ लाइट र रेड्मी वाच ६ एक्टिभ गरी तीन मोडल उपलब्ध छन् ।

सिरिजको प्रमुख मोडल रेड्मी वाच ६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक २,००० निट्ससम्म पुग्छ । प्रिमियम आल्मुनियम एलोय फ्रेमसहितको स्मार्टवाचमा सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

रेड्मी वाच ६ मा डुअल एल१ फाइभ–सिस्टम जीएनएसएस, विभिन्न स्वास्थ्यसम्बन्धी निगरानी सुविधा तथा दुईवटा बटनमार्फत सहज सञ्चालन गर्न सकिने सुविधा छन् । यसमा ५ एटीएम पानी प्रतिरोधी क्षमता पनि दिइएको छ ।

रेड्मी वाच ६ लाइटमा १५० भन्दा बढी स्पोर्ट्स मोड
रेड्मी वाच ६ लाइट मा १.९६ इन्चको एमोलेड डिस्प्ले रहेको छ भने यसको अधिकतम चमक १,५०० निट्ससम्म पुग्छ । ५ एटीएम पानी प्रतिरोधी क्षमतासहितको यस मोडलमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान तथा ९ अक्षीय गति मापन सेन्सर उपलब्ध छन् ।

यसमा व्यावसायिक पौडी मोडसहित विभिन्न स्वास्थ्य निगरानी सुविधा दिइएको छ । ४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीको दाबी छ । मुटुको धड्कन मापन गर्ने सेन्सर, प्रकाश सेन्सर तथा एक्सेलेरेसन सेन्सर पनि यसमा रहेका छन् ।

एक्टिभ मोडलमा स्वास्थ्य निगरानी सुविधा
रेड्मी वाच ६ एक्टिभमा १.८५ इन्चको एमोलेड डिस्प्ले र १,२०० निट्ससम्मको अधिकतम चमक रहेको छ । यसमा आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमता दिइएको छ ।

९.९ मिलिमिटरको पातलो तथा हलुका फ्ल्याट–एज डिजाइन र सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण दैनिक प्रयोगका लागि सहज हुने कम्पनीले जनाएको छ । यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (एसपीओ) र तनावको निगरानी गर्ने सुविधा छ । सामान्य प्रयोगमा ब्याट्री १८ दिनसम्म चल्ने दाबी गरिएको छ ।

यस्तो छ मूल्य
रेड्मी वाच ६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध छ । यसको मूल्य २० हजार ४९९ रुपैयाँ तोकिएको छ । रेड्मी वाच ६ लाइट ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध हुनेछ, जसको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, रेड्मी वाच ६ एक्टिभ मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ । यसको मूल्य १० हजार ९९९ रुपैयाँ तोकिएको छ ।