कीवर्डहरू -

शाओमी वाच एस फाइब स्मार्ट वाच सार्वजनिक

शाओमी वाच एस फाइब स्मार्ट वाच सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा नयाँ स्मार्ट घडी शाओमी वाच एस फाइब ४१ मिलिमिटर सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको यो घडी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ स्मार्ट घडीमा १.४८ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा ४८० × ४८० पिक्सेल रिजोलुसन, ३२३ पिक्सेल प्रतिइन्च घनत्व तथा २ हजार ५०० निट्ससम्मको उज्यालोपन भएकाले घाममा पनि स्पष्ट रूपमा प्रयोग गर्न सकिन्छ । 

स्टेनलेस स्टिलको फ्रेम, विभिन्न बेजेल र स्ट्र्यापका विकल्प तथा करिब ४६ ग्राम तौलका कारण घडी हलुका र प्रयोग गर्न सहज रहेको कम्पनीले जनाएको छ । यसमा ४८६ मिलिअम्पियर–घण्टा क्षमताको ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा एकपटकको चार्जमै अधिकतम २१ दिनसम्म साथ दिने कम्पनीको दाबी छ ।

स्वास्थ्य निगरानीका लागि घडीमा मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा तथा अन्य स्वास्थ्य सूचक मापन गर्ने सुधारिएका सेन्सर र प्रणाली समावेश गरिएको छ । साथै, साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र निद्रासम्बन्धी विश्लेषण सुविधाले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य अवस्थाबारे थप जानकारी उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

खेलकुदका लागि घडीमा १५० भन्दा बढी खेल तथा व्यायाम मोड, दोहोरो आवृत्तियुक्त वैश्विक भू-उपग्रह नेभिगेसन प्रणाली, तथा साइकल यात्राका क्रममा मोबाइल फोनसँग जोडिने वास्तविक समयको ड्यासबोर्ड सुविधा रहेको छ ।

साथै, ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता हातका गतिविधि पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी र अन्य विवरण अभिलेख राख्ने सुविधा पनि उपलब्ध छ ।

घडीमा ब्लुटुथ ५.४, नजिकको सम्पर्कमार्फत हुने भुक्तानी प्रविधि (एनएफसी) तथा ५ एटीएमसम्मको पानी प्रतिरोधी क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शाओमी वाच एस फोर ४१ मिलिमिटरको नेपाली बजार मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।