काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो पाँच वर्षे सफल सञ्चालन पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडेललाई थप सुदृढ गर्ने उद्देश्यसहित नयाँ अभियानहरू सार्वजनिक गरेको छ ।
कम्पनीले “इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर (ड्राइभ विदआउट प्रेसर)” नामक नयाँ ब्रान्ड क्याम्पेन सुरु गरेको हो । यस अभियानले चालकहरूको स्वतन्त्रता, आय पारदर्शिता, लचिलो कार्य वातावरण र निर्णय गर्ने अधिकारलाई मुख्य सन्देशका रूपमा अघि सारेको छ ।
जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने उक्त क्याम्पेनले चालकहरूले आफ्नो समय, आम्दानी र यात्राको छनोट आफैँ गर्न सक्ने पियर–टु–पियर मोडेललाई केन्द्रमा राख्ने कम्पनीले जनाएको छ । इनड्राइभका अनुसार यो प्रणालीले चालकहरूलाई काम गर्ने समय र यात्राको छनोटमा थप नियन्त्रण प्रदान गर्दै उनीहरूको व्यावसायिक सन्तुष्टि बढाएको छ ।
कम्पनीकी नेपाल सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले पाँच वर्षको यात्रालाई स्मरण गर्दै चालक–केन्द्रित सेवा विकासमा जोड दिइएको बताइन् । उनका अनुसार चालकहरूको आवश्यकता प्राथमिकतामा राख्दै काम–जीवन सन्तुलनलाई सहज बनाउने वातावरण निर्माणमा निरन्तर प्रयास भइरहेको छ ।
कम्पनीले नेपालमा राइड–हेलिङ सेवा हजारौँ नागरिकका लागि वैकल्पिक आयस्रोतका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै डिजिटल गिग–अर्थतन्त्रमा यसको भूमिका बढ्दै गएको जनाएको छ ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा इनड्राइभले अर्को अभियान “होमकमिङ मिटर” पनि सुरु गर्ने घोषणा गरेको छ । यस अभियानमार्फत वैदेशिक रोजगारीबाट फर्किएका नेपाली चालकहरूले प्लेटफर्म–आधारित अवसरमार्फत नेपालमै पुन: जीवन र जीविकोपार्जन सुरु गरेका प्रेरणादायी कथाहरू प्रस्तुत गरिनेछ ।
कम्पनीका अनुसार यो पहल व्यक्तिगत सफलतामात्र नभई श्रम आप्रवासन, आर्थिक पुनर्स्थापना र स्वदेशमै उद्यमशील अवसरबारे भइरहेको राष्ट्रिय बहससँग पनि सम्बन्धित रहनेछ ।
ICT Samachar